पूर्ण अपाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

 असोज ५, २०७९ बुधबार ७:१९:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा-सुविधाबाट बञ्चित हुनुपरेको थियो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

आठ वर्ष अघि माइतीमा आएको बेला घर पोत्ने क्रममा लडेर मेरुदण्ड भाँचिएपछि कुँवर पूर्ण रुपमा अपाङ्ग हुनु भएको थियो । श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि कुँवर माइतीमै बसेर अधिकारका लागि न्याय माग्न अदालतसम्म पुग्नुपरेको थियो । उहाँका एक छोरा छन् । अदालतले अर्जुन कुँवर र विष्णुलाई गएको वर्ष श्रीमान्–श्रीमतीको रुपमा नाता कायम गरिदिएको थियो । नागरिकता पाएपछि आफूले ठूलो राहत महसुस गरेको कुँवरको प्रतिक्रिया छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया