खाद्य कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटायो

 असोज ५, २०७९ बुधबार ७:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगाे भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो ।

कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य हिजोदेखि नै लागू भइसकेको छ । अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइने उहाँले बताउनुभयो । बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ । पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर प्रतिलिटर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो । असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो ।

जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । तर, यो बजार भाउ भन्दा १० रुपैयाँले महँगो थियो । त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर किलोको १ सय ४५ रुपैयाँ तोकिएको छ । खाद्य कम्पनीले दाल, चामल, चिउरा, कर्णालीको सिमी, तेललगायत २४ प्रकारका खाद्यवस्तुमा प्रतिकेजी र प्रतिलिटरमा सात रुपैयाँदेखि १० रुपैयाँसम्म छुुट दिएको छ । खाद्य कम्पनीले काठमाण्डौ उपत्यकाकासहित देशका विभिन्न ४५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतका बासिन्दाले अनलाइनमार्फत नै साम्रगी अर्डर गर्न सक्नेछन् । गएको १ गतेदेखि खुलेको सहुलियत पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया