यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 असोज ६, २०७९ बिहीबार ७:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

तर सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ । मुद्रास्फीति भने सामान्य घट्ने प्रतिवेदनमा उल्लेख छ । जसअनुसार सन् २०२२ मा ६ दशमलव ३ प्रतिशत र २०२३ मा ६ दशमलव १ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

खासगरी कडा मौद्रिक नीति, सामान्य किसिमको कृषि उत्पादन, खानेतेलको मूल्य घटेको र भारतमा समेत मुद्रास्फीतिमा सामान्य गिरावट आएकाले चालु आर्थिक वर्षमा मुद्रास्फीति थोरै भए पनि घट्ने अपेक्षा गरिएको छ ।

मलको निरन्तर अभावले धान उत्पादनमा प्रतिकूल असर पार्न सक्ने अद्यावधिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा भने वृद्धि हुने अनुमान छ । घरजग्गा, थोक तथा खुद्रा व्यापार गतिविधिमा आएको सुस्तताले सेवा क्षेत्रको वृद्धि मध्यम हुने अनुमान छ । वस्तु आयातमा भएको कमी र स्थिर विप्रेषण आप्रवाहले गर्दा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव १ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नोड क्वाँसाले आयातमा थप प्रतिबन्ध लगाइएमा र स्वास्थ्य प्रणालीलाई समस्या ल्याउने डेङ्गी सङ्क्रमण, प्राकृतिक प्रकोप, भू–राजनीतिक उथलपुथलमा हुन सक्ने वृद्धिले भने आर्थिक वृद्धिको सम्भावनालाई कम गर्न सक्ने बताउनुभयो ।   

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया