सहाना प्रधानको स्मृति दिवस आज

 असोज ६, २०७९ बिहिबार ११:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  ८ वर्षअघि २०७१ साल असोज ६ गते आजकै दिन उहाँको निधन भएको थियो ।

पहिले शिक्षक समेत रहेकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला हुनुहुन्थ्यो । उहाँ राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउने सक्रिय अगुवा हुनुहुन्थ्यो ।

महिलाको ३३ प्रतिशत सहभागिताका लागि पार्टीभित्र, महिला विभाग, महिला सुरक्षा दबाब समूह, दलीय संरचनामा महिलालाई सशक्त बनाउन उहाँको भूमिका महत्त्वपूर्ण छ । उहाँ २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक हुनुहुन्थ्यो ।

प्रजातन्त्र प्राप्ति पछि पनि लामो समयसम्म उहाँ राजनीतिमा सक्रिय हुनुभयो । उहाँले २००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।  त्यसपछिको उहाँले भारतको लखनऊबाट उच्चशिक्षा हासिल गर्नु भएको थियो ।

२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक सङ्गठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार महिलामध्ये सहाना प्रधान पनि एक हुनुहुन्थ्यो । १५ दिन आमरण अनशनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शम्शेरबाट आश्वासन पाएपछि उहाँ घर फर्कनुभएको थियो । प्रधानको जन्म १९८४ साल असार ३ गते भएको थियो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया