माओवादी अहिले पनि उस्तै पाे छ क्यारे भन्ने भ्रम जनतामा छ : प्रचण्ड

 असोज ६, २०७९ बिहिबार १९:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ । 

बिहीवार काठमाण्डाैमा भएको पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, ‘युद्धमा पनि हामी यस्तै थियौँ । अहिले पनि मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ । युद्ध एउटा परिस्थितिको बाध्यता थियो । तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्ति प्रक्रियाको सम्झौता सम्भव थिएन । युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व सबैभन्दा बढी बुझेका हुन्छन् । मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन । अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ ।’ 

अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया