चाडपर्वमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन नदिने खाद्य कम्पनीको दाबी

 असोज ९, २०७९ आइतबार ७:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णालीलगायत दुर्गम क्षेत्रमा दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्वमा अत्यावश्यक खाद्यान्नको अभाव हुन नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमाभित्र रहेर जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराउने बताउनुभएको छ ।

अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भइ ढुवानीको काम सुरु भइसकेको तर कतै टेण्डर नपरेर समस्या देखिएकाले छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्याउने तयारी भइरहेको निर्देशक चन्दले जानकारी दिनुभयो ।

कतैकतै चाडपर्वका अवसरमा दिएको छुटका कारण तत्काल नै आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्दा समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ । अहिले खुलेका सहुलियत पसलमा चामल, दाल, तेल, नुन, गेडागुडीलगायतका खाद्यवस्तु छुटमा बिक्री वितरण हुँदै आएको छ ।

स्थानीय पालिकाको माग र अनुरोधपछि कम्पनीले दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पिठो, नुन, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट पठाउन लागेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया