उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
खल्तीभरि चुनावी टिकट बोकेर जोखाना हेरिरहेका बडानेताले एकाएक अनुहार उज्यालो बनाए । सिट भागबन्डाको खेस्रा केरमेट गरेर बिरूप भएको कागजको पन्नालाई डल्लो पारेर मिल्काए । अनि यताउता हेरेर भने, ‘ल मलाई एउटा आइडिया फुर्यो ।’
‘कस्तो आइडिया ?’ छेउमै बसेका अर्का नेताले सोधे ।
‘चुनावमा टिकट बाँड्ने आइडिया । ल सुन, अहिले लामखुट्टेले टोकेर धेरैलाई डेङ्गी भएको छ । हाम्रो मात्र टोकाइ र डसाइबाट त जनता त्यति आत्तिएका थिएनन् । तर लामखुट्टेको टोकाइ सहन नसकेर अत्तालिएका छन् । लामखुट्टे मार्न छाडेर सिट भागबन्डामा लागे भनेर हामीलाई गाली पनि गर्दैछन् । यता हामीलाई पनि टिकट भाग पुर्याउन समस्या भैरहेको छ । त्यसैले सर्प पनि मर्ने लौरो पनि नभाँचिने भनेजस्तै लामखुट्टे पनि मार्ने, टिकट पनि बाँड्ने जुक्ति फुर्यो मलाई’ बडा नेता हौसिए ।
‘भनेपछि पहिले लामखुट्टे मार्ने, अनि टिकट लिने ?’
‘हो, कुरो त्यही हो । तर सबैभन्दा धेरै लामखुट्टे मारेर जसले लेराउन सक्यो, उसकै हातमा पहिले टिकट ।’
बडा नेताको कुरो सुन्नेबित्तिकै टिकट हात पार्न भनेर हुल बाँधेर पुगेका मझौला र छोटा नेताहरु अलमलमा परे । लामोहात मात्रै गर्न बानी भएकाले लामखुट्टे कसरी मार्ने त ? बडा नेताले भनेपछि मान्नै पर्यो, टिकटको जो सवाल छ । लामखुट्टे मारेर टिकट हात पार्न सकियो भने त पछि लामोहात गरेर फेरि हालीमुहाली गर्न पाइन्छ ।
तर लामखुट्टे मार्ने कसरी ? दुई हातले ताली पड्काउने परम्परागत तरिका अपनाउने कि सिधै गोली ठोक्ने ? खुँडाले छप्काउने कि लौराले बजार्ने ? सिधै इँटा भट्टामा लगेर जाक्ने कि धुवाँ र गन्धले लठ्याउने ? इँटा भट्टामा लगेर पोलेपछि कसले कति मार्यो भनेर हिसाब निकाल्नै कठिन ! ड्याम्मै गोली ठोक्दा पनि जलेर खाग हुन्छ । खुँडाले छप्काउँदा त झन् टुक्रा टुक्रा नै हुन्छ । हातलै पड्काउँदा पनि पखेटा एकातिर, खुट्टा अर्कातिर हुने होला । त्यसैले लौरोले ठोक्नुपर्छ ।
त्यसपछि टिकट लिन बडा नेताकोमा पुगेका मझौला र छोटा नेताहरु हातमा लौरो बोकेर आआफ्ना सहयोगीका साथ यताउता कुद्न थाले ।
‘हैन लामखुट्टे भनेको कस्तो हुन्छ’ टिकटको पछि कुद्दाकुद्दै लखतरान भएका नेताले लामखुट्टे कस्तो हुन्छ भन्ने नै बिर्सिसकेछन् ।
‘यी के हजुर यी लामा खुट्टा भएका’ सहयोगीले चिनाइदिए ।
‘धत् यो कसरी लामखुट्टे हुन सक्छ ? यसको भन्दा त मेरो खुट्टा लामो छ । खुट्टाभन्दा अझ हात लामो छ । ठिकै छ म लामहाते, यो लामखुट्टे । खै ले त त्यो लौरो ।
लाग्दैन त । कि गोली नै हान्ने हो ?
मान्छे हो र गोली हान्नलाई ? यसलाई त यी यसरी ठटाउनुपर्छ ।
ए बजिया किन गालामा हानिस् ।
लामखुट्टे मारेको नि हजुर । तपाईँको गालामा बसेको रहेछ ।
ल ल ठिकै छ । खै त्यसलाई मेरो यो गोजीमा राख् ।
उ त्यहाँ अर्को लामखुट्टे रैछ । खै खै लौरो ।
ए नेताजी हामी लामखुट्टेलाई लौरोले भेट्दैन क्या । लौरोले त तपाईँहरु जस्तालाई ठटाउने हो । अहिले थाहा पाउनुभएको होला नि लौरोले तर्साएको ?
को हँ, को बोलेको ?
यता हेर्नुस् न, म क्या म लामखुट्टे । लौरो बोकेर नहिँड्नुस् क्या । तपाईँलाई सुहाउँदैन ।
किन नसुहाउनु मलाई । एक, दुई जना लौरोवालाले चुनाव जितेर राम्रो काम गरेपछि अहिले सबैजना लौरोको लागि मरिहत्ते गर्दैछन् ।
सबैलाई कहाँ लौरो फाप्छ त नेताज्यू ? कसैले मूला फलाएर पैसा कमायो भन्दैमा सबैजना त्यही मूला मात्रै लगाउन खोज्ने नेपालीको बानी कहिल्यै गएन ।
ल ल तँ जाबो लामखुट्टे बढी बाठो हुनुपर्दैन । तँ मूलालाई लौरो र मूलाको कुरा के थाहा ? त्यसमाथि म लौरो बोकेर चुनावमा उठ्न खोजेको हो र ? म त तँलाई मार्न हिँडेको । ला....खाइस् ?
लागेन नेताज्यू लागेन । त्यो लौरोले छुँदा पनि छुँदैन हामी लामखुट्टेलाई । तपाईँहरुभन्दा बाठा भैसकेका छौँ ।
तँ लामखुट्टेलाई हातले नै ठटाउनुपर्ने हो त ? ल जा खाइस् ?
..............
‘आइया नि हैन के भयो हँ तिमीलाई ? अघिदेखि नै बर्बराइरहेका छौ । हुँदा हुँदा मेरो गालामा पनि चड्कायौ । खुस्क्यो क्या हो तिम्रो दिमाग ?’ श्रीमती झस्कँदै उठिन् ।
‘ओहो....तँलाई पो हानेछु ? दिमाग हैन, टिकट चाहिँ खुस्केला जस्तो छ । खै त लामखुट्टे ?’ नेताजी आँखा मिच्न थाले ।
झुलबाट निस्केर बाहिर जाउ न बाटैमा भेटिन्छ लामखुट्टे । कस्तो दुख्यो...ऐया...। हैन किन चाहियो लामखुट्टे ? मासु पकाएर खान लाग्यौ कि क्या हो ? यिनको साँच्चै खुस्क्या जस्तो छ ।
टिकट क्या टिकट ......। ओहो ! उज्यालो पो भैसकेछ । खै खै मेरो लुगा कता छ देउ त । बडा नेताकोमा पुग्नुपर्यो । अरु लामहातेहरु अघि नै पुगिसके होला । मलाई लामखुट्टेले अलमलाएर बेला बित्यो ।
ए...सुरुवाल त लगाएर जाउ....। हे भगवान यिनले त मलाई दिक्कै बनाइसके ।
श्रीमती हातमा सुरुवाल बोकेर गेटमा पुग्दा नेता श्रीमान् चाहिँ हातमा कोट झुन्ड्याएर परै पुगिसकेका रहेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।