देवीलाई पशुबलि दिने कि नदिने ?

 असोज १२, २०७९ बुधबार ११:८:१७ | एस.के. तिमिल्सिना
unn.prixa.net

हामी नवरात्रको प्रारम्भमा छौँ । नवरात्रमा देवीको पूजा गरिन्छ । देवीको पूजा पद्धति दुई प्रकारका छन्: क) सात्विक पद्धति, र ख) तामसी पद्धति । सात्विक पद्धति अनुसार देवी/देवतालाई दूध, दही, घिउ, खीर, नैवेद्य, फलफूल चढाएर पूजा गरिन्छ । तामसी प्रकृतिको पूजामा देवीदेवतालाई पशुबलि चढाइन्छ । यसतर्फ हामीले के गर्नु उपयुक्त हुन्छ वा पर्ने हो भन्नेतर्फ विचार गर्नु पर्ने हुन्छ । यी विषयलाई विज्ञानको कसीमा परीक्षण गर्नु पर्दछ । प्रचलनमा रहेका दुवै पद्धतिमध्ये कुन विधि उपयुक्त होला भन्ने सम्बन्धको छलफलको आरम्भ पूजास्थलबाट गरौँ । 

धर्ती सबै जलचर तथा स्थलचरको साझा बासस्थान हो । यस भित्र फरक फरक प्राणीका फरक फरक प्रकारका बासस्थान छन् । भिन्न प्रकारका प्राणीहरुका बासस्थानलाई भिन्न किसिमले बुझिन्छ । चराको बासस्थानलाई गुँड, माछाको बासस्थानलाई कुर, घरपालुका जनावरको बासस्थानलाई गोठ, खोर आदि भनिन्छ । यसैगरी मानिसको बासस्थानलाई घर र देवीदेवताको बासस्थानलाई मन्दिर भनिन्छ ।

प्राणीमा पशुभन्दा मानव श्रेष्ठ छ । जनावरको बासस्थानभन्दा मानिसको बासस्थान श्रेष्ठ र सफा हुन्छ । यसैगरी मानिसभन्दा देवतालाई श्रेष्ठ मानिन्छ । हुन त देवताको अस्तित्व नै विवादित विषय हो । देवीदेवतालाई आकारमा देख्न सकिँदैन, उनीहरुको अस्तित्व निराकार मानिन्छ । देवताले आफ्नो जस्तै अनुहारमा मानिस बनाए कि मानिसले आफ्नो जस्तै अनुहारमा देवताको कल्पना गरे भन्ने विषयमा पनि ठूलो बहस छ । हामी त्यसतर्फ नलागौँ । हामी निराकार देवीदेवताको कुरा गर्छौँ र देवीदेवता मानवभन्दा उच्चकोटीको अस्तित्व हो भनि मान्दछौँ । जब मानिसभन्दा देवता श्रेष्ठ अस्तित्व हो भन्ने हाम्रो अहिलेसम्मको बुझाइ हो भने मानिसको बासस्थान भन्दा देवताको बासस्थान श्रेष्ठ हुनु अस्वाभाविक भएन । यसरी हेर्दा गोठभन्दा घर र घरभन्दा मन्दिर श्रेष्ठ हुने भयो । 

हामी सबैका घर वरिपरि कुनै न कुनै देवीदेवताका मन्दिर (बासस्थान) भएको पाइन्छ /छन् । जब हामी नाबालक थियौँ, त्यस समयमा हाम्रा जन्मदाता, दाजु, दिदी, ठूलाबा ठूलीआमा, काका काकी, हजुरबा–आमा, मामा माइज्यू वा हाम्रा मान्यजनहरुले मन्दिर सफा राख्नु पर्छ भनेर पक्कै पनि सिकाउनु भयो । अहिले पनि मन्दिर सफा राख्नु पर्छ भनि सिकाइँदै, गरिँदै र बुझिँदै आइएको छ । उहाँहरुको प्राथमिकता जनावरको खोर, गोठभन्दा घर र घरभन्दा मन्दिर सफा हुनु पर्छ भन्ने थियो र त्यो प्राथमिकता अहिले पनि छँदैछ । यसरी हेर्दा जनावरको खोर, गोठभन्दा घर र घरभन्दा चोखो, सफा र पवित्र स्थान मन्दिर हो । अब विचार गरौँ कि घरमा गरिने क्रियाकलाप (पूजा) भन्दा मन्दिरमा गरिने पूजा अझ उपल्लो स्तरको होला कि नहोला ? मन्दिरको पूजाको विधि अझ पवित्र हुनु पर्ने हो कि होइन र ? यदि मन्दिरका गतिविधि पवित्र हुन् भन्ने हामी मान्दछौँ भने हाम्रो दृष्टिकोणमा दूध, घिउ तथा फलफूल शुद्ध वा पवित्र होलान् कि पशुको वधबाट निस्कने रगत ? पवित्रसँग पवित्र, उत्कृष्टसँग उत्कृष्टको मेल हुने हुनाले मन्दिरको लागि कुन वस्तुको उपयोग गर्नु श्रेयस्कर होला ? यो भिन्नता छुट्याउनको लागि हामी आआफ्नो विवेकको प्रयोग गर्न सक्छौँ। 

देवीदेवता, ऋषि तथा पितृहरुको पूजा परापूर्वकालदेखि नै मन्दिरमा हुँदै आएको छ । मन्दिर नभएको स्थानमा मानिस, पशुपक्षी सकभर नपुग्ने तथा फोहर गर्न नसक्ने चोखो, एकान्त स्थानमा थान (स्थान) बनाइ देवीदेवताको पूजा गर्ने चलन छँदैछ । अहिले पनि मन्दिर निर्माणको क्रम रोकिएको छैन । संसारको विभिन्न भागमा रहेका हिन्दूहरुले चर्च किनेर मन्दिर बनाएको समाचारहरु पनि सुनिँदै आएको छ । घर भित्र पनि अलग्गै चोखो, पवित्र, सकेसम्म बालबालिका तथा अरु मानिस पुग्न नसक्ने स्थानमा मन्दिर (पूजा कोठा) बनाउने चलन छ । घरको सिरान (छत) मा पनि मन्दिर बनाउने चलन छ । किन उच्च स्थानमा मन्दिर बनाउनु पर्याे ? किन सफा स्थानमा मन्दिर बनाउनु पर्याे  ? जहाँ पायो त्यहीँ बनाउँदा हुँदैन र ? घर भित्र अलग्गै पूजा कोठा नबनाउनेहरुले पनि काठको मन्दिर बनाएर कोठाको एउटा कुनामा राख्ने चलन देखिन्छ । अब यस्तो ठाउँमा गरिने कार्य सात्विक किसिमले गर्ने कि तामसी किसिमले गर्ने ? दैनिक गरिने पूजामा हामी देवीदेवतालाई के चढाउँदा उपयुक्त होला ? फलफूल वा मासुजन्य पदार्थ ? यसबाट पनि निष्कर्षतर्फ जान सकिन्छ कि कुन पूजा विधि उपयुक्त हुन सक्ला ? 

के हो उपयुक्त पूजा विधि ?

यसपछि मन्दिरमा पूजा कसको गरिन्छ भन्ने प्रश्नमा छलफल गरौँ। मन्दिरमा जनावर, मानिस, राक्षस वा देवीदेवता मध्ये कसको पूजा गरिन्छ ? हामीले जति पनि मन्दिरको भ्रमण गरेको छौँ, ती मन्दिरहरुमा जनावर, मानिस वा राक्षसको पूजा गरिँदै आएको पाइँदैन । मन्दिरमा देवीदेवताको पूजा गरिन्छ भन्नेमा विवाद नरहला । हाम्रो धर्म संस्कृति र परम्पराको कुरा भन्दा बाहिरका केही कुरा गरौँ । 

धर्म संस्कृति र परम्परा अनुसार मानिस भन्दा उत्कृष्ट अस्तित्वको रुपमा देवीदेवतालाई मानिँदै आएको छ । यसरी हेर्दा देवीदेवताको स्थान मानवकोभन्दा माथि छ, उच्च छ । हामीले सुन्ने गरेका छौँ कि कसैले कसैलाई राम्रो सहयोग गरेमा देवता जस्तो भनिन्छ । कसैले कसैलाई आपतकालमा बचाएमा वा सहयोग गरेमा उहाँ भगवान (देवता) बनेर आउनु भयो पनि भनिन्छ । यसरी हेर्दा सामान्य कार्यभन्दा पूजा कार्य, विशिष्ट प्रकारको पवित्र कार्यको साथै घरभन्दा मन्दिर विशिष्ट र अन्य प्राणीभन्दा देवताको काल्पनिक अस्तित्व विशिष्ट भनि बुझ्न कठिन नहोला । यसरी हेर्दा कि त पूजा, मन्दिर र देवीदेवता सम्बन्धी सबै प्रकारका धारणा भ्रम हो भन्ने मान्यता राखेर यस सम्बन्धी सबै प्रकारका कर्मकाण्डलाई परित्याग गर्न सक्नु पर्याे, होइन ? नत्र देवीदेवता, मन्दिर तथा पूजा सम्बन्धी धारणालाई अवलम्बन गर्ने हो भने विधि पनि त्यसै प्रकारको अवलम्बन गर्नु पर्ला । साध्य र साधनको बीचमा सामञ्जस्यता हुनु पर्ला कि नपर्ला ? पूजा, मन्दिर र देवीदेवता सम्बन्धी धारणालाई उच्च मान्न सकिन्छ भने तामसी र सात्विक विधिमध्ये कुनलाई उत्कृष्ट मान्न सकिएला ? पूजा, मन्दिर र देवीदेवताको लागि कुन विधि उपयुक्त होला ? मन, वचन र कर्ममा एकरुपता आवश्यक पर्ला कि नपर्ला ?

अब अर्को विषय । हामीले घरमा देव कार्य वा पितृकार्य गर्न लाग्यौँ भने त्यस्ता कार्यमा संलग्न हुने मूलकर्ता तथा परिवारका सदस्यको शारीरिक सफाइ तथा घरको सरसफाइ हाम्रो प्राथमिकतामा पर्दछ । देवकार्य अन्तर्गत रुद्री, भागवत कथा, वेद पाठ, अष्ट चिरञ्जीवी, सत्यनारायणको पूजा, नाग पूजा, शिवरात्रि पूजा, श्रीकृष्ण जन्माष्टमी पूजा, सरस्वती पूजा, बुद्ध जयन्ती आदि गरिन्छ । यसैगरी पितृकार्य अन्तर्गत मासिक श्राद्ध, पैँतालिस दिने श्राद्ध, छ महिने श्राद्ध, वार्षिक श्राद्ध आदि गरिन्छ । यी कार्यहरुमा सकेसम्म चोखो किसिमले आराधना गरिन्छ । सबै चोखो सफा गरी सकेपछि त्यहाँ प्रयोग गरिने सामग्री पनि चोखो, शुद्ध, पवित्र हुनु आवश्यक छ कि छैन ? छ भने चोखो के हो ? चोखो पवित्र अन्तर्गत दूध, दही, ध्यू, अन्नका परिकार तथा फलफूल पर्दछन् कि मासुजन्य पदार्थ पर्दछ ? अब चोखो विधि सात्विक हो कि तामसी हो ? यसमा बहसको आवश्यकता छ । 

जिज्ञासा उत्पन्न हुन्छ कि सफा सुग्घर भएर मन्दिरमा गरिने कार्य सात्विक, राजसी वा तामसी कस्तो प्रकृतिको हुनुपर्ला ? परिवारको मुख्य सदस्यले नुहाइ पवित्र भएर चोखो श्वेत वश्त्र धारण गरी गरिने कार्य सात्विक प्रकृतिको होला कि तामसी ? हिंस्रक हुन सक्ला कि नसक्ला । पवित्र भइ, सेतो वस्त्र धारण गरी मन्दिरमा गरिने देवीदेवता, ऋषि, पितृ गणको पूजा कार्यमा पशु हत्या गर्नु उपयुक्त हुन्छ भन्ने पक्षमा तर्क आउँछन् भने कस्ता प्रकारका कार्यमा र कहाँ, कसलाई फलफूल, नैवेद्य चढाएर सात्विक ढंगले पूजा गर्ने त ? मन्दिरमा देवीदेवताको नाममा गरिने पशु हत्या/बध/बलि धार्मिक कार्य अन्तर्गत पर्दछ भने पाप अन्तर्गत के कस्ता क्रियाकलाप पर्लान् ? 

यसै सन्दर्भमा मन्दिरमा गरिने पूजा धार्मिक कार्य अन्तर्गत पर्छ कि पर्दैन भन्ने तर्फ छलफल गरौँ । मन्दिरमा पूजा धर्मको नाममा गरिन्छ । त्यसाे भए धर्म के हो त ? नेपाली शब्दसागरमा धर्मको परिभाषा गर्दै भनिएको छ – सुख र स्वर्ग प्राप्त हुने भन्ने लोकविश्वासको सुकर्म, पुण्यकर्म । यसैगरी प्रयोगात्मक नेपाली शब्दकोषमा धर्मको परिभाषामा यही जन्ममा वा मरेपछि पनि भलो हुन्छ भनि विश्वासले गरिने कर्म, पूजा, तीर्थव्रत आदि पुण्यकर्म भनिएको छ । नेपाली बृहत् शब्दकोशमा धर्मको परिभाषामा पुण्य, सत्कर्म भनिएको छ ।  यसरी हेर्दा धर्म भन्नाले पुण्यकर्म, सत्कर्म भनि बुझिन्छ ।
 
बृहत् बुझाइमा धर्म अन्तर्गत अहिंसा, सत्य, न्याय, दया, माया, प्रेम, करुणा तथा सद्आचरण भन्ने बुझाउँछ । तामसी क्रियाकलाप भित्र अहिंसा, दया, माया, प्रेम, करुणा छ कि छैन ? यदि कुनै क्रियाकलापमा दया, माया, प्रेम, करुणा, सद्भाव छैन भने त्यसलाई धर्मको कोटीमा राख्न सकिएला कि नसकिएला ? यसै गरी धर्मको पहिलो आधार अहिंसा हो भनिन्छ । तामसी पद्धति हिंसात्मक हो कि अहिंसात्मक ? यदि यो हिंसा अन्तर्गत पर्दछ भने यसलाई धर्म मान्न सकिएला कि नसकिएला ? तामसी पद्धति भित्र पशुबलिको स्थान छ । पशुबलि (पशु हत्या) को क्रियाकलाप भित्र हिंसा छैन, दया, माया, ममता, प्रेम, करुणा, र सद्भाव छ भनि भन्न सकिन्छ कि सकिन्न ? रगतको भलमा अहिंसा, सत्य, न्याय, दया, माया, करुणा, सद्भाव, तथा सद्आचरण खोजिन्छ भने हिंसा, असत्य, निर्दयता खोज्न कहाँ जाने ? यसरी हेर्दा तामसी पूजा पद्धतिलाई धार्मिक मान्न सकिन्छ ? यदि सकिन्न भने पशुबलि प्रथालाई धर्म अनुकूल मान्न पनि नसकिएला । 

केही अन्तरविरोध

अर्को कुरा रगतको आहालमा खुसी हुनेलाई देवीदेवता भन्न सकिन्छ भने राक्षस कसलाई भन्ने ? अनि रगत चढाउनेलाई धार्मिक भनिन्छ भने नास्तिक कसलाई भन्ने ? धर्म अन्तर्गत सत्य, न्याय, दया, माया, करुण, सद्आचरण पर्दछन् भन्ने अहिलेसम्मको बुझाइ हो । यदि हामी पशुबलिको वकालत गर्दछाैँ भने धर्मको अलग परिभाषा गरी यस अन्तर्गतको मुख्य कार्यलाई पशुबलि भनि मान्न सक्छौँ कि सक्तैनौँ ? सकिन्छ भने धर्म अन्तर्गत हत्या, काटमार, लुटपाट अनि कलह पर्ने भए । होइन भने अब यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्दछ कि अब पितृ, ऋषि, देवी, देवताको पूजा वा धार्मिक अनुष्ठानमा रगतको भेल बग्नु हुँदैन । देवी, देवता, ऋषि तथा पितृहरुको अनुष्ठानमा हिंसात्मक, अन्यायपूर्ण, अतार्किक, अधार्मिक श्रृङ्खला बन्द गरिनु पर्दछ ।

अब यस सन्दर्भमा उठ्ने अर्को प्रश्न पूजा किन गरिन्छ भन्ने तर्फ विमर्श गरौँ । पूजाको उद्देश्य के हुन सक्ला ? पूजाको उद्देश्य पितृ, ऋषि तथा देवीदेवताको स्मरण गर्दै उहाँहरुप्रति सम्मान प्रकट गर्नु । जसरी हामी हाम्रा घरमा आफ्ना नाता, इष्टमित्र पाहुना वा परिजनलाई स्वागत गर्छाैँ, त्यसरी नै देवीदेवता, ऋषि तथा पितृहरुलाई मन्दिरमा निमन्त्रणा, स्वागत र सत्कार गर्दछौँ । पाहुनालाई नास्ता गराए जस्तै देवीदेवताहरुलाई पनि सम्मान प्रकट गर्ने वा सत्कार गर्न नास्ता भोजन पनि गराइन्छ । यसको लागि धुप जलाइन्छ वा बलि चढाइन्छ । जसले गर्दा उहाँहरुलाई सन्तुष्ट गराइ पुण्य प्राप्त गर्न सकियोस् । देवीदेवताको सम्मान सत्कार पछि उनीहरुलाई गराइने भोजन नै बलि हो । 

देवीदेवतालाई चढाइने वा अर्पण गरिने प्रचलनलाई बलि दिने भनिन्छ । सामान्य लवजमा बलि दिने भन्दा पशुको भोग दिने भनेर बुझ्ने चलन छ । तर बलिको अर्थ पशुको बलिसँगमात्र सीमित छैन । बलि भन्ने शब्दावलीले कुनै वस्तुको अर्पणलाई बुझाउँदछ । खासगरी देवीदेवतालाई अर्पण गरिने वा चढाइने वस्तु नै बलि हो । नेपाली बृहत् शब्दकोशमा बलि भन्नाले देवीदेवतालाई अर्पिने भोग्य वस्तु, नैवेद्य, भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न, औसानी भनिएको छ । यसैगरी प्रयोगात्मक नेपाली शब्दकोषमा बलि शब्दको अर्थमा  देवतालाई चढाइने अन्न, नैवेद्य आदि भनिएको छ । यसरी हेर्दा बलिको तात्पर्य देवीदेवतालाई केही चढाउनु, केही खानेकुरा दिनु जस्तै हो । देवीदेवतालाई बलि दिने कुरा पाहुनालाई भोजन गराउने जस्तै हो । घरमा आउने अतिथिलाई कस्तो प्रकारको खानेकुरा दिएर सत्कार गरिन्छ ? निश्चय नै फलफूल, मिष्ठान्न, दूध दही लगायतका भोजन उहाँहरुलाई दिइन्छ । कोही अतिथि घरमा आउँदा हत्त न पत्त मासु भुटेर खुवाउने चलन पक्कै पनि छैन । अनि मानिसभन्दा उत्कृष्ट अस्तित्वलाई चाहिँ कसरी खुवाइएला ? यसरी हेर्दा पनि देवी, देवतालाई पशुबलि चढाउनु उचित हुन्छ कि हुँदैन भनि निष्कर्षमा पुग्न सकिन्छ ।

पूजा सात्विक ढङ्गले गर्नुपर्ला भन्ने तर्क गरिरहँदा पूजा सात्विक ढङ्गले गर्नु भनेको मासु खान छोड्नु हो, मासु खाइ रहेको व्यक्तिले सात्विक ढङ्गले पूजा गर्न मिल्दैन भनि तर्क आउन सक्लान् । म मासु नखान सक्तिन, हामी पुस्तौँदेखि मासु खाँदै आइरहेका छौँ तसर्थ पूजा सात्विक ढङ्गले गर्न असमर्थ छु भन्ने गुनासा पनि नआउलान भन्न सकिन्न । पूजा सात्विक ढङ्गले गर्ने भन्नुको तात्पर्य मासु खान छोड्नु भन्ने होइन । मासु खानेले पनि पूजा सात्विक ढङ्गले गर्न सकिन्छ । बरु शाकाहारीले पशुबलि दिन थाले भने अनौठो हुन्छ । मासु खानेले पूजा चाहिँ सात्विक पद्धतिबमोजिम गर्नुमा आश्चर्य मान्नु पर्ने केही हुन्न । आफ्नो संस्कृतिमा सुधार गरेको र निखार ल्याएको भनि गौरव गर्न सकिन्छ । मासु खानु र पूजा सात्विक ढङ्गले गर्नुको बीचमा कुनै सम्बन्ध छैन । यी मध्ये एकले अर्कोको निषेध गर्दैनन् । 

मासु खानुको तात्पर्य पूजा सात्विक पद्धतिबमोजिम गर्न नपाइने र तामसी किसिमले गर्नुपर्छ भन्ने होइन। यसैगरी देवीदेवताको पूजा सात्विक पद्धतिबमोजिम गर्नु भनेको मासु खान छोड्नु पनि होइन । निजी जीवनमा मासु खानु वा नखानुको र पूजा सात्विक ढङ्गले गर्ने कुराको बीचमा कुनै सम्बन्ध छैन । मासु नखानेले मात्र देवीको पूजा सात्विक ढङ्गले गर्नुपर्छ तर मासु खानेलाई यस्तो हक छैन वा गर्न मिल्दैन भन्ने कुरा होइन, र यस्ता कुतर्क गर्न पनि मिल्दैन । पूजा सात्विक ढङ्गले गर्न सुरु गर्नु भनेको अब उप्रान्त मासु खान छोड्नु भन्ने तर्क पनि होइन । तसर्थ पूजा सात्विक ढङ्गले गर्नु भनेको केवल मन्दिरमा प्राणी हत्या नगरौँ, पूजा जस्तो पवित्र कार्यमा हिंसाको स्थान नरहोस् र पितृ, पूर्वज, देवी, देवताहरु रगत मासुको बलि खाँदैनन् भन्ने कुरासँग मात्र सम्बन्धित छ । 

पशुबलि र पञ्चबलि 

पूजाको चर्चा गर्दा पशुबलि र पशुबलिको चर्चा गर्दा पञ्चबलिको प्रसङ्ग जोडिएर आउँछ । अब पञ्चबलि प्रथाको विषयमा छलफल गरौँ । देवीका मन्दिरमा तथा बडा दशैँको अवसरमा घर घरमा पञ्चबलि दिने प्रचलन छ । काठमाण्डौको दक्षिणकाली, स्याङ्जाको आलमदेवी, गोरखाको मनकामना, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता, काभ्रेको पलाञ्चोक भगवती, धादिङको त्रिपुरासुन्दरी, बाजुराको बडीमालिका पञ्चबलि दिइने नाम चलेका शक्तिपीठमा पर्दछन् । पञ्चबलि दिँदा पाँच प्रकारका पशुपक्षीको बलि चढाउने चलन छ । यस अन्तर्गत बोका, राँगा, कुखुरा, भेडा/परेवा र हाँसको बलि चढाइन्छ । फरक फरक स्थानमा फरक फरक प्रकारका प्राणीलाई पञ्चबलि अन्तर्गत राखिएको छ । प्राणी अलग भए पनि यिनीहरु घरपालुवा प्राणीहरुमा नै पर्दछन् । अब यी पाँच प्रकारका प्राणीका विशेषता हेरौँ । 

बोकालाई काम/यौनको प्रतिक मानिन्छ । बोकामा शारीरिक सम्पर्क गर्ने क्षमता धेरै हुन्छ भनिन्छ । त्यसैले होला यौन अनुशासन नभएको मानिसलाई कस्तो बोको जस्तो भन्ने पनि सुनिएको छ । यसरी हेर्दा बोको काम (यौन) को प्रतिक भयो । यसैगरी राँगोलाई क्रोध वा रिसको प्रतिकको रुपमा मानिन्छ । कुखुरालाई लोभको प्रतिक मानिन्छ । कुखुरा समूहमा नै चर्छन् । चर्दै जाँदा उसले कुनै किरा आदि भेटेमा उसले त्यो खानेकुरा लिइ एक्लै भागेर अन्यत्र नै जान्छ र एक्लै खान्छ । त्यसैले कुखुरालाई लोभको प्रतिकको रुपमा मानिन्छ । यसैगरी भेडालाई मोहको प्रतिकको रुपमा मानिन्छ । यात्राको क्रममा अगाडि लागेको भेडो कुनै खोल्सामा खस्यो भने पछाडिका सबै भेडा सोही खोल्सामा खस्छन् भनिन्छ । यसै गरी परेवालाई पनि मोहको प्रतिकको रुपमा मानिन्छ । परेवालाई आफ्नो जोडीप्रति अत्यधिक मोह हुन्छ । भनाइ पनि छ कि कस्तो परेवाको जोडी जस्तो, कहिल्यै नछुट्टिने । यसैगरी हाँसलाई अहंकारको प्रतिक मानिन्छ । हाँसमा पानीबाट दूध अलग्याएर खान सक्ने क्षमता भएकोले यसले आफ्नो क्षमतामा अहंकार गर्दछ भनि यसलाई अहङ्कारको प्रतिक मानिएको हो । 

माथि उल्लेखित पाँच प्रकारका प्राणीमा भिन्दा भिन्दै प्रकारका विशेषता भएको पाइयो । बोकामा भएको काम (यौन अनुशासन हीनता), राँगामा हुने क्रोध, कुखुरामा हुने लोभ, भेडा वा परेवामा हुने मोह र हाँसमा हुने अहंकार । यहाँ एउटा प्राणीमा एक मात्र दुर्गुण छ । तर मानिसमा यी पाँचै प्रकारका दुर्गुण रहन्छन् । मात्रा कम वा बढी हुनसक्छ । एउटा मात्र खराब प्रवृत्ति भएको प्राणी एउटै दुर्गुणको कारण बदनाम छ भने यी सबै प्रकारका दुर्गुणको भकारी हुन सक्ने मानिस यसबाट जोगिन सकेन भने उसको अवस्था कस्तो होला ? यी पञ्च दुर्गुण दुःखका कारण हुन् । मानिस यिनैको चक्रब्यूहमा परेर कैले यता, कैले उता भौतारी रहेको हुन्छ । यी दुर्गुणबाट बच्न सक्ने मानिस सफलताको मार्गमा हिँड्न सुरु गरी हाल्छ र मानव, महामानवको तहमा पुग्दछ । अब यी दुर्गुणलाई संरक्षण गरी राख्ने कि त्याग गर्ने ? सहज उत्तर आउन सक्ला कि मानव हुनको लागि आफूमा रहेका पञ्च दुर्गुणलाई त्याग गर्नु पर्दछ । 

आफूमा हुने भयानक पञ्च दुर्गुणको बारेमा मानिसलाई आदि कालदखि नै जानकारी थियो । तर यी दुर्गुणलाई त्याग्नु सहज पनि थिएन । आज त्याग गर्छु भन्यो, तर आफ्नो वचनमा आफैँ अडिन नसक्ने भयो मानिस । आजकाल पनि कतिपय मानिसले खैनी, सुपारी, चुरोट, रक्सी आदि छोड्ने भनेर प्रतिज्ञा गर्दछन् तर केही दिनमा नै पुनःखान सुरु गर्छन् । कतिपयले मन्दिरमा गइ चुरोट आदि चढाइ यसको त्याग गर्ने चलन छँदैछ।

प्राचीनकालमा पनि मानिसले आफ्ना दुर्गुणलाई देवीदेवतालाई साक्षी राखेर त्याग गर्ने चलन थियो । यसरी कालन्तरमा मानिसमा भएका पञ्च खराब प्रवृति (पञ्च दुर्गुण) को बलि दिने चलन चल्यो । यो परम्पराको रुपमा विकसित भयो । यो चलनले ठूलो रुप लिँदै गर्दा विशेष उत्सवमा यसलाई त्याग गर्ने परम्परा बस्न गयो । अब पञ्च दुर्गुणलाई बडा दशैँको अवसरमा वा मन्दिरमा देवीलाई साक्षी राखेर त्याग गर्ने कार्य चल्यो । यसलाई नै पञ्चबलि भनियो । यो परम्परा सफलतापूर्वक चल्न थाल्यो । जसले गर्दा हामीले धर्मशास्त्र पुराणमा सुनेका कथाहरुमा सत्य, त्रेता तथा द्वापर युगका मानिसहरु अनुशासित भएको पाउँछौँ। 

समय बित्दै जाँदा मानिस आफ्ना प्रतिज्ञामा वा परम्परामा टिक्न सकेन । मानिसले आफूमा भएको कुप्रवृति त्याग गर्न सकेन । आफूमा रहने कुप्रवृतिको बदलामा त्यस्तै प्रवृति भएका घरपालुवा पशुपक्षीको बलि दिन थाल्यो । यसरी  पञ्चबलिको रुपमा पाँच वटा पशुपक्षीको हत्या गर्ने प्रचलनको विकास क्रमिक रुपमा हुनथाल्यो । अब मन्दिरमा पशुबलि दिने चलनको थालनी पनि भयो, जसको फाइदाको रुपमा मानिसले मांसाहार पनि गर्न थाल्यो । यसरी मानिस बिस्तारै विचलनको बाटोमा हिँड्न थाल्यो । 

पञ्च दुर्गुणका कारण आजको  मानिस बर्बाद भएको छ । मानिसले पञ्चबलि दिनु पर्छ भन्ने सम्बन्धमा अहिले पनि बहस गर्नु पर्ने विषय हो । अझ घनघोर बहसको आवश्यकता छ । यो पञ्चबलि नदिएको कारण कयौँको घर उजाडिएको छ । परिवार भताभुंग भएको छ । परिवारका एक सदस्यले आफ्नै परिवारका अर्को सदस्यलाई समेत मार्न पछि परेका छैनन् । छोरा छोरीले आमाबाबु र आमाबाबुले छोराछोरीको समेत हत्या गरिएका घटना सुनिँदै आएका छन् । कयौँ नाबालिकादेखि वृद्ध महिलाको समेत बलात्कार र बलात्कारपछि हत्या भएको पनि सुनिएका छन् । यसले गर्दा आज समाज विकृत भएको छ । कयौँ मानिस समाजबाट बहिस्कृत हुन पुगेका छन् । कयौँको जेलको बासको कारण पनि यही कुप्रवृति हो । अब मानिस आफ्नो बर्बादीबाट जोगिन चाहन्छ कि चाहँदैन ? आफू, आफ्नो परिवारका सदस्य, नातेदार तथा समाजका सम्पूर्ण मानवलाई प्रेम गर्छ कि गर्दैन ? समाजमा सम्मानित जीवन व्यतित गर्न चाहन्छ कि चाहँदैन ? यदि मानव भएर बाँच्न चाहने हो भने पञ्चबलिको सान्दर्भिकता आज अझ बढेको छ । तर यस अन्तर्गत बोका, राँगा, कुखुरा, भेडा/परेवा र हाँसको बलि/हत्या होइन कि आफू भित्र रहेका काम, क्रोध, लोभ, मोह, अहंकारको हत्या गर्नु पर्दछ । बलि चढाउनु पर्दछ । यस अर्थमा पञ्चबलि परम्पराको समर्थन जोडदार रुपमा गर्न सकिन्छ । 

शाकाहारी र मांसाहारीमा अन्तर

पूजाको सम्बन्ध पशुबलिसँग, पशुबलिको सम्बन्ध पञ्चबलिसँग, र पञ्चबलिको सम्बन्ध मांसाहारसँग जोडिएको छ । तर्क गरिन्छ कि मानिसले मांसाहार नगर्ने हो भने उसले पशुबलि दिने थिएन । मानिसले मासु खानको लागि नै पशुबलि प्रथालाई समर्थन गर्दछ भनि तर्क दिइन्छ । अब मानिसले मासु खानु ठीक वा बेठीक भन्नु भन्दा अगाडि मानिस शाकाहारी वा मांसाहारी मध्ये कुन वर्गमा पर्दछ भनि निर्क्याेल गरौँ। प्रकृतिले मानिसलाई शाकाहारी बनाएको छ कि मांसाहारी बनाएको छ, यसतर्फ छलफल गरौँ । यो धर्तीमा रहेका प्राणीलाई उनीहरुका शारीरिक विशेषताका आधारमा शाकाहारी र मांसाहारीमा विभाजन  गर्न सकिन्छ । बिरालो, कुकुर, बाघलाई मांसाहारीको श्रेणीमा राखिन्छ भने गाई, भैँसी बाख्रा लगायत शाकाहारीको श्रेणीमा पर्दछन् । अब शाकाहारी र मांसाहारी प्राणी बीचको अन्तरलाई हेरौँ र छुट्याउँ कि मानिस कुन वर्गमा पर्दछ ।
 
क) जन्म हुँदा आँखा बन्द हुने र खुल्ने : मांसाहारी प्राणीको बच्चा जन्मिँदा आँखा बन्द भएको हुन्छ, तर शाकाहारी प्राणीको जन्म हुँदा बच्चाको आँखा खुलेको हुन्छ । 
ख) नङको बनाेट : मांसाहारी प्राणीको हात गोडाका नङ तीखा र धारिला हुन्छन् तर शाकाहारी प्राणीका हात खुट्टाका नङ चेप्टा हुन्छन् । 
ग) पेटको आकार : मांसाहारी प्राणीको पेटको आकार छरितो हुन्छ तर शाकाहारी प्राणीको पेट फुकेको हुन्छ । 
घ) दाँतको बनाेट : मांसाहारी प्राणीको अगाडिका दाँतको बनोट तीखो हुन्छ भने शाकाहारी प्राणीको दाँतको बनाेट चेप्टो हुन्छ । 
ङ) पानी पिउने तरीका : मांसाहारी प्राणीले पानी जिब्रोले चाटेर पिउँछन् भने शाकाहारी प्राणीले घुटुघुटु पिउँछन् । 
च) आन्द्राको लम्बाइ : मांसाहारी प्राणीको आन्द्राको लम्बाइ छोटो र शाकाहारी प्राणीको आन्द्रा तुलनात्मक रुपमा लामो हुन्छ ।
छ) राति आँखा देख्ने क्षमता : मांसाहारी प्राणीले राति आँखा देख्न सक्छन् भने शाकाहारी प्राणी राति आँखा देख्न सक्तैनन् । 
ज) सिकार गर्ने तरिका : मांसाहारी प्राणीले आफ्नो शिकार झाडीमा लुकेर, ढुकेर तथा झम्टिएर आक्रमण गरेर गर्छन् भने शाकाहारी प्राणीले खाना लिँदा वा चर्दा लुकेर, ढुकेर, झम्टिएर आक्रमण गरेर गर्दैनन् । 
झ) गर्मीको अनुभूति : मांसाहारी जनावरले गर्मी भएमा मुखबाट जिब्रो बाहिर निकाल्छ तर शाकाहारी प्राणीले यसो गर्दैनन् । यसैगरी मांसाहारी प्राणीको शरीरमा पसिना आउँदैन तर शाकाहारी प्राणीको शरीरमा पसिना आउँछ । 

अब शाकाहारी प्राणी र मांसाहारी प्राणीको बीचमा पाइने माथि उल्लेख गरिएका अन्तरको आधारमा मानिस शाकाहारी प्राणी समूहमा पर्दछ कि मांसाहारी समूहमा पर्दछ भनि हेरौँ । मानिस जन्मदा आँखा खुलेको हुन्छ, मानिसका हात खुट्टाका नङ चेप्टा हुन्छन्, मानिसको पेट फुकेको हुन्छ, दाँतको बनाेट चेप्टो हुन्छ, मानिसले पानी घुटुघुटु पिउँछ, मानिसको आन्द्राको आकार लामो हुन्छ, मानिसले राति आँखा देख्न सक्दैन, गर्मीको अवस्थामा मानिसले जिब्रो बाहिर निकाल्दैन, र मानिसको शरीरमा पसिना आउँछ । यसरी हेर्दा शाकाहारी प्राणीमा हुने सबै प्रकारका विशेषता मानिसमा रहेका छन् । 

मानिसले खाना लिँदा वा चर्दा लुकेर, ढुकेर, झम्टिएर आक्रमण गरेर गर्दैन , तर सिकारी प्रवृत्ति चाहिँ मानिसमा छ । छलकपट, सिकारको गुणले मात्र मानिसलाई मांसाहारी वर्गमा राख्न नसकिएला । यो पछि विकास भएको प्रवृत्ति हो, सबै मानिसमा यो प्रवृृत्ति हुँदैन । यसरी हेर्दा शारीरिक रुपमा मानिस मांसाहारी छैन । प्रकृतिले मानिसलाई शाकाहारी प्राणीको रुपमा सृजना गरेको छ । प्रकृतिको नियमको विपरीत मानिस मांसाहारी भएको छ । प्रकृतिले मानिसलाई जुन प्रयोजनले सबैको रक्षकको रुपमा रचना गर्याेयो आजको मानव त्यसको विपरीत किन गइरहेको छ ? मांसाहारबाट उसलाई के फाइदा छ ? प्रकृतिको रचना विपरीत मानिस किन मांसाहारी भयो, मांसाहारी र शाकाहारीका के कस्ता फाइदा र बेफाइदा छन्, यस सम्बन्धमा अब छलफल गरौँ ।

पशुबलि प्रथाका फाइदा तथा बेफाइदा

पशुबलि प्रथाका फाइदा तथा बेफाइदालाई आर्थिक, स्वास्थ्य, सामाजिक, आध्यात्मिक, धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले विवेचना गरौँ । आर्थिक दृष्टिकोणले विवेचना गर्दा दुई प्रकारले गर्नु पर्ने हुन्छ । (क) पूजा गर्दाको लागत र (ख) पूजा पछिको अवस्था । पूजा गर्दाको लागतको कुरा गर्दा पूजाको लागि खरिद गर्नु पर्ने सात्विक प्रकृतिका सामग्री मेवा, मिष्ठान्न, नरिवल, कुभिण्डो, घिरौलाभन्दा पशुपक्षीको मूल्य बढी पर्दछ । जब तुलनात्मक रुपमा सस्तो मूल्यमा कुनै कार्य सम्पन्न गर्न सकिन्छ भने महँगो मूल्य तिर्नुका पछाडिको कारण के हुन सक्छ ?

अब पूजा पछिको अवस्थालाई स्वास्थ्य वा वैज्ञानिक दृष्टिकोणले हेरौँ । फलफूल खाएकाे तुलनामा मासुजन्य पदार्थको सेवनले विभिन्न प्रकारका जीवाणु, किटाणु मानिसमा सर्छ जसको कारण अनेक किसिमका रोग निम्त्याउन सक्छ भन्ने कुरा विज्ञानले बोली सकेको छ । यस अवस्थामा शरीर स्वस्थ राख्ने भोजनको छनाेट गर्ने कि अस्वस्थकर भोजनको ? पशुबलि दिनुको तात्पर्य मासु खानु पनि हो । शाकाहारको तुलनामा मांसाहार अस्वस्थकर भोजन हो भन्ने प्रमाणित भइ सकेको छ । अस्वस्थकर भोजनको कारण उत्पन्न हुने रोगको उपचार गर्दा अथाह आर्थिक क्षति पनि हुनसक्छ । खाने लोभमा यो अमूल्य शरीर र आफ्नो सम्पूर्ण सम्पत्तिलाई नै जुवाको दाउमा राख्न सकिएला कि नसकिएला ? यसरी आर्थिक र स्वास्थ्यको दृष्टिकोणले पशुबलि प्रथा ठीक कि बेठीक भनि आफैँले भिन्नता छुट्याउन सकिन्छ । 

सामाजिक दृष्किोणले हेर्दा पृथ्वी सबै प्राणीको साझा घर हो । यो ठूलो समाज हो । धर्तीमा भएका प्राणीमा मानिस सबैभन्दा विवेकशील हो । यससँग भाषा छ, सोच्न र तर्क गर्न सक्तछ । यस अर्थमा मानिस अरु प्राणीको अभिभावक मान्न सकिन्छ । सामाजिक हुनुको तात्पर्य समाजमा मिलिजुली बस्नु, विवेकशील हुनुको नाताले आपसमा सहयोग गर्नु, माया, प्रेम, करुणा राख्नु हो । अरुको दुःख बुझी ममता देखाउनु पनि सामाजिक हुनुको विशेषता हो । यसको विपरीत अरुको गर्धनमा छुरी चलाउनुले सामाजिकताको परिचय दिन नसक्ला । यदि मानिस सामाजिक प्राणी हो भनिन्छ भने, यस दृष्टिकोणले हेर्दा मानिस निमुखा प्राणीको हत्या गरी गरिने मांसाहारलाई उचित ठहर्याउन सकिन्छ कि सकिन्न ? यस उपर छलफल गरौँ न ।

अब मांसाहार फाइदाजनक कि बेफाइदाजनक भनि धार्मिक दृटिकोणले छलफल गरौँ । मांसाहारसँग पशुबलि प्रथा जोडिएकोले यसैको घेरामा रहेर यस सम्बन्धी जिज्ञासाको समाधान खोजौँ । धर्मलाई कसरी बुझ्ने ? धर्मलाई परिभाषा गर्न असजिलो छ । धर्म एक बृहत् अवधारणा हो । मानौँ कि हामी हात्तीको परिभाषा कसरी गर्छाैँ यसको ठोस परिभाषा गर्न सकिन्न, विशेषताको आधारमा वर्णन गर्नु पर्दछ । ठीक यसै गरी धर्मलाई पनि परिभाषाबाट बुझ्ने प्रयास नगरि विशेषताका आधारमा बुझ्दा विषयवस्तु स्पष्ट हुन सजिलो हुन्छ । 

धर्मलाई हेर्ने दुई प्रकारका मान्यता छन् – रुप पक्ष र सार पक्ष । रुप पक्षले स्नान, पूजा, पाठ, गानाबजानालाई महत्त्व दिन्छ । शारीरिक शुद्धता, कर्मकाण्ड, शंखघण्ट धर्मका रुप पक्ष मात्र हुन् । सामान्यतया यसैलाई धर्म भन्ने गरिँदै आएको छ । तर तात्विक रुपमा यतिले मात्र धार्मिक हुन पर्याप्त हुँदैन । मानौँ कि कोही व्यक्ति नित्य स्नान गर्दछ, पूजा पाठ गर्दछ, तर ऊ सत्य बोल्दैन, उसमा निष्पक्षताको भावना, दया, माया, प्रेम, करुणा छैन भने उसमा धर्म छ भन्ने कि छैन भन्ने ? धर्मको परिभाषा वेदमा खोज्ने कि कर्मकाण्डमा, धर्म सुन हो कि सुनको जलप लगाएको पित्तल हो । धर्मलाई मन्दिरमा खोज्ने कि मन र आचरणमा ?

अब धर्मलाई सारमा बुझौँ । धर्मको अर्थ धारण गर्नु हो । धर्मको अर्थ स्वाभाविक गुण पनि हो । मानिस विवेकशील भएकोले सत्य, न्याय, ममता, करुणा, प्रेम, सद्भाव परोपकार उसका धर्म हुन् । मानिसले यिनै गुणलाई धारण गर्न सकेको अवस्थामा त्यो धर्म अन्तर्गत पर्दछ, होइन यदि यी विषयवस्तुलाई धारण गर्न सकिएको छैन भने अन्य रुप पक्षलाई मात्र धर्म मान्न नसकिएला । सार पक्षले परोपकारलाई महत्त्व दिन्छ । अब धर्मलाई कुन दुष्टिकोणले बुझ्ने । सारमा कि रुपमा । अब पशुबलि प्रथाको कुरा गरौँ। पशुबलिको क्रियाकलापमा न्याय, प्रेम, करुणा, माया, ममता, सद्भाव छ कि छैन । यदि छ भने पशुबलि प्रथालाई धार्मिक, र मांसाहारलाई पनि उचित मान्न सकिन्छ अन्यथा कसरी यसलाई धर्मको परिधि भित्र राख्न सकिएला ? मासुखाने बहानामा पशुबलि चढाइ रगतको भोग दिँदा भगवान खुसी हुन्छन् भन्ने कुरामा विश्वास गर्ने हो भने आफ्नै अङ्ग काटेर भगवानलाई किन अर्पण नगर्ने ? त्यसो गर्दा त झन् भगवानको नजरमा धार्मिक देखिएला । के मनुष्य यसको लागि तयार छ ? यसरी हेर्दा मांसाहारी प्रवृति धार्मिकताको परिभाषा भित्र पर्ने देखिएन। 

पशुबलिको आध्यात्मिक दृष्टिकोण

यसरी नै आध्यात्मिक दृष्टिकोणले पशुबलि प्रथाको विवेचना गरौँ । आत्माको अध्ययन वा बुझाइ अध्यात्म हो । श्रीमद्भगवद् गीताका अनुसार सबै प्राणीमा आत्मा हुन्छ । आत्मा अमर छ । न यो जन्म लिन्छ, न मर्छ । यो अविनाशी छ । आत्मा सबै प्राणीको बराबर हुन्छ । सार्वभौमिक समानताको सिद्धान्त बमोजिम सबै राज्यको अस्तित्व अन्तर्राष्ट्रियस्तरमा समान भए जस्तै सबै प्राणी आत्माको दृष्टिकोणले समान छन् । यस मान्यता बमोजिम सबै प्राणीका शरीर आत्माको निवास गर्ने घर हो । जसरी मानिसको घर हुन्छ, त्यसरी नै आत्माको पनि घर हुन्छ र त्यो घर चाहिँ जीवका शरीर हुन् । यस अवस्थामा आफू जस्तै अर्को आत्माको घररुपी देह नष्ट गर्नु धार्मिक हो कि होइन ? यो मानिसको स्वाभाविक धर्म वा स्वाभाविक आचरण हो कि होइन ? अर्कोको घर उजाड बनाउने कार्य धार्मिक हुन सक्ला कि नसक्ला ? 

मानौँ कि ग्लोबल चिट्ठाको कुनै आयोजना गरियो । संसारभरका मानिस प्रत्येकबाट एक एक डलर सङ्कलन गरेर प्रत्येक देशका एक एक जना मानिसलाई त्यस रकम बराबरी बाँड्नको लागि चिट्ठा गर्ने सहमति भयो । यसै अनुसार काम पनि भयो । अब नेपालबाट हामीमध्ये कोही एक जनालाई चिट्ठा पर्दा दशौँ अर्ब रुपैयाँ प्राप्त हुनसक्छ । यस अवस्थामा चिट्ठा पर्ने व्यक्ति खुसी होला कि नहोला ? अवश्य पनि निकै खुसी हुन्छ । अब यो रकम उसले क्यासिनोमा गएर जुवा खेल्ने, व्यभिचारी गर्ने, मादक पदार्थ सेवन गरेर विक्षिप्त हुने जस्ता कार्यमा खर्च गर्ला कि सदुपयोग गर्ला ? अवश्य पनि यसको सदुपयोग गर्ला । अब मानौँ कि यो रकम तपाईँले प्राप्त गर्नुभयो । अब भन्नुहोस् कि तपाईँ नहुनु भएको भए यो रकम तपाईँले प्राप्त गर्न सक्नु हुन्थ्यो कि हुन्थेन ? त्यो रकम प्राप्त गर्न तपाईँको अस्तित्व आवश्यक रह्यो भने तपाईँ महत्त्वपूर्ण कि त्यो रकम महत्त्वपूर्ण । अवश्य नै तपाईँ महत्त्वपूर्ण हुनुभयो । तपाईँ हुनु भएकोले मात्र त्यत्रो धनराशि प्राप्त भएको हो । अर्थात यो दुनियाँमा जे जति प्राप्त हुन्छ, यो शरीर भएकोले मात्र प्राप्त भएको हो । अब यस्तो महत्त्वपूर्ण चोला (शरीर, देह) ले हत्या, हिंसा, काटमार चलाएर बिताउने कि नबिताउने ? हिंसात्मक गतिविधि गर्न यो मानव शरीर प्राप्त भएको हो कि होइन ? पञ्च दुर्गुणलाई संरक्षण गरी यसको सट्टामा पशुबलि चढाइ आतंक मच्याउनको लागि यो अमूल्य शरीर प्राप्त भएको हो ? यो शरीर अमूल्य छ, यसको हेक्का मानिसलाई नहुनु नै उसको लागि ठूलो अभिशाप हो । तसर्थ पशुबलिको निहुँमा मांसाहार पवृत्तिलाई धार्मिक मान्न सकिने अवस्था देखिएन ।

यस सन्दर्भमा मानिसले कसको बलि चढाउँछ भन्ने सम्बन्धमा पनि छलफल गर्नुपर्ने देखिन्छ । मानिसले शाकाहारी प्राणीको बलि चढाउँछ कि मांसाहरी ? घरपालुवा कि जङ्गली प्राणी ? पशुबलि प्रथा मांसाहार क्रियाकलापसँग जोडिएको हुँदा मांसाहारी प्राणीको नै बलि किन नचढाउने ? मांसाहारलाई नै मारेर मांसाहार किन नगर्ने ? मांसाहारी प्राणाीको बलि चढाउँदा मत्स्य न्यायको दृष्टिकोणले उचित वा न्यायसंगत करार गर्न पनि सकिएला । मत्स्य न्यायमा शक्तिशालीले कमजोर माथि अन्याय गर्दछ । तिनै बाघ, भालु, चितुवा, ब्वाँसो, हुँडारले अर्को निर्बल प्राणीको आहार बनाउँछन् भने उनीहरुलाई पनि अर्कोले बनाउँदा ‘जन्तुनां जन्तु भोजनम्’ भन्ने भनाइ बमोजिम यसको तर्कसंगतता देखाउन पनि सकिएला । यसरी नै गोमन, कोब्रा वा करेत सर्पले मानिसको जीवन हरण गर्दछ भने उनीहरुलाई नै समातेर बलि (भगवानलाई अर्पण) किन नगर्ने ? यदि यसो भएमा भगवानलाई पनि सन्देश जान सक्थ्यो कि उनको सृष्टिका यी प्राणीले धर्तीका निर्दोष तथा अवोध प्राणीको जीवन हरण गरी राखेका छन् तसर्थ उनीहरुलाई भगवान समक्ष अर्पण गरियो ।

तर, कुनै पनि प्राणीको लागि कुनै पनि प्रकारको हानी नोक्सानी नगर्ने आफ्नै संरक्षणमा रहेका बाख्रा, राँगा, भेडा, हाँस, कुखुरा, परेवा जस्ता सृष्टिका सोझा प्राणी उपरको हिंसा कति जायज हुनसक्छ । यसको सन्देश मानिसले सोझा र निर्बल उपर अन्याय गर्छ भन्ने हो त ? जुन प्राणी मानव समाजका दुश्मन हुन् तिनको बलि नचढाउनु तर घरपालुवा अबोध जसको सुरक्षाको लागि कुनै साधन छैन तिनकै बलि चढाउनु न्याय संगत भयो त ? मानवको लागि दुश्मन जंगली जनावर तथा सर्प लगायतका प्राणीको मानिस किन बलि चढाउँदैन । जुन प्राणी उसको लागि कुनै प्रकारले पनि शत्रु हुन सक्तैन त्यसैलाई बलि चढाउने कस्तो परम्पराको थालनी भयो । अब यो परम्परामा प्रश्न उठाउने कि नउठाउने ? 

पूजा, पशुबलि, पञ्चबलिको सन्दर्भमा छलफल गरी रहँदा यसै विषयसँग सम्बन्धित अरु केही विषयमा पनि जिज्ञासा उत्पन्न भएका छन् । धर्म कसरी हुन्छ, धार्मिक कसरी हुन सकिन्छ, धर्मको सारलाई कसरी समात्ने, धार्मिक हुन पूजा गर्नु आवश्यक छ कि छैन, पूजा नगरि धार्मिक हुन सकिन्छ कि सकिन्न, पूजा नगर्दा नास्तिक भइन्छ कि भइन्न भन्ने जिज्ञासाका विषय हुन् । अब यसतर्फ विचार गरौँ । पूजा कर्मकाण्ड हो । कर्मकाण्ड धर्मको रुप पक्ष हो । पूजा नगरी पनि अब्बल धार्मिक हुन सकिन्छ । यस अघि हामीले छलफल गरी सकेका छौँ कि धर्मको सारतत्व अन्तर्गत सत्य, न्याय, माया, ममता, प्रेम, करुणा, परोपकार पर्दछन् । मानिसले जीवनमा यी आचरणको पालना गर्न सकेको अवस्थामा यो नै सबभन्दा ठूलो धार्मिकता हो । यसको लागि पूजाको आवश्यकता पर्दैन । 

महाभारतका पात्रहरुमा कुन्ती पुत्र युधिष्ठिरको नाम सबैले सुनेको हुनुपर्छ । उनी सत्यभाषी थिए । वचनको सत्यता कायम राख्न उनले वनबास तथा गुप्तबासको कठोर यात्रालाई अगाल्न पनि पछि परेनन् । तर युद्ध जित्नको लागि उनले एउटा विवादास्पत अभिव्यक्ति दिए – नरो वा कुञ्जरो वा अश्वस्थामा हतो हतः । यही अभिव्यक्तिको दण्ड स्वरुप उनले नरकको दर्शन गर्नु पर्याे। भनेपछि, जीवनभर सत्य निष्ठा कायम गरी, अश्वमेध यज्ञ गरेको मानिसले एउटा मात्र गल्ती वचन बोल्दा नरक पुग्नु पर्याे भने अनेकौँ झुठ बोल्ने मानिसको गति कस्तो होला । यो कथामा सत्यता छ छैन, यतातिर नलागौँ तर यसको प्रतिकात्मक अर्थ हुन्छ कि जतिसुकै धर्मको आडम्बर गरोस् तर यदि उसले असत्य बोलेको छ भने दण्डित हुनुपर्छ नै । यसबाट उम्कन सकिँदैन ।

यसै गरी अन्यायी, निर्दयी, परपीडकको गति पनि त्यस्तै हुन्छ । अन्यायी, निर्दयी, परपीडकको पाप पूजा गरेर पखालिन सक्तैन । अन्य कुनै प्रकारको कर्मकाण्ड (पूजा) पनि सत्य, अहिंसा, न्याय, दया, माया, प्रेम, सद्भाव, परोपकार भन्दा श्रेष्ठ हुन सक्तैन । तसर्थ  आफूले आफैँलाई धार्मिक वा अधार्मिक कुन कित्तामा पर्दछु भनि तौलनको लागि आफूले गरेका कार्यहरुलाई सत्य, अहिंसा, न्याय, दया, माया, प्रेम, सद्भावका तथा परोपकारको तुलामा तौलँदा आफ्नो कित्ता छुट्टाउन सकिन्छ । 

यसैसँग सम्बन्धित पशुबलि दिएर पूजा गर्नु धार्मिकता हो कि पूजा नै नगर्नु धार्मिकता हो भन्ने विषयमा पनि छलफल गरौँ । यसमा विचार गर्दा पशुबलि दिएर धार्मिक हुने प्रयास गर्नु भन्दा पूजा नै नगर्नु कयौँ गुणा श्रेयस्कर हुनसक्छ । कसै कसैको बीचमा छलफल भएको सुनिन्छ कि मैले त पशुबलि दिएर पूजा आराधना गरेर धार्मिक कार्य सम्पन्न गरेको छु । पशुबलि दिने मानिसमा माया,  दया, ममता, करुणा, सद्भाव तथा परोपकार भन्ने कुनै तत्व नै बाँकी रहेको हुँदैन । जब यी तत्व बाँकी रहँदैन र भएको सञ्चित पूण्य पनि समाप्त हुन्छ । जब पुण्य समाप्त हुन्छ भने ऊ कसरी धार्मिक हुन सक्ला ?  यसै गरी अर्कोतर्फ पशुबलि दिएर पूजा गर्नु भन्दा पूजा नै नगरि बस्ने मानिसले त निर्दयता, क्रुरता देखाइ हत्या हिंसाको कुत्सित कार्यमा संलग्न त भएन नि । यी कुकार्यमा संलग्न नहुनु नै अधर्मबाट जोगिनु हो । जब अधर्मबाट जोगिन सकिन्छ, त्यो नै धार्मिकता भएन र ? तसर्थ पशुबलि दिएर पूजा गरेको ढोँग देखाउने भन्दा पूजा नगरि सत्य, दया, माया, प्रेम, करुणा तथा परोपकारको मार्गमा लाग्नु श्रेयष्कर हो । यसर्थ पूजा नगरि पनि धार्मिक हुन सकिन्छ । 

शाकाहारी हुनु अन्धविश्वासी हुनु हो ?

यसै सन्दर्भमा उठ्ने अर्को जिज्ञासा छ, के शाकाहारी हुनु, पशुबलि प्रथा नअपनाउनु अन्धविश्वासी हुनु हो ? भनिन्छ कि शाकाहारीहरु अन्धविश्वासी हुन् । जो पशुबलि प्रथाको पक्षपाती छन्, उनीहरु विज्ञानसम्मत धारणा राख्छन्, तर शाकाहारी तथा पशुबलि प्रथा अनुचित हो भन्नेहरु अन्धविश्वासी हुन् भन्ने अवधारणा पाइन्छ । यसतर्फ विचार गरौँ । हामी जे जति गतिविधि गर्छौँ, त्यसको साधन के हो ? साधन विना साध्य (लक्ष्य)मा पुग्न सकिन्छ कि सकिँदैन ? खोला वा नदी पार गर्न पुल, डुङ्गा वा जहाजको आवश्यकता पर्छ । एक ठाउँबाट अर्को ठाउँमा जान हवाईजहाज, बस, रेल वा जीप, कार जस्ता यातायातका साधन चाहिन्छ । अब भनौँ कि एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित र समयमा पुग्न ती साधनको अवस्था नबिग्रिएको हुनु पर्छ कि पर्दैन ।

यदि साधन बिग्रिएको परेमा वा भएमा समयमा पुग्न सकिन्छ कि सकिन्न ? सुरक्षित पुग्ने कुरामा पनि शङ्का उत्पन्न हुनसक्छ । यसैगरी हाम्रा लक्ष्यहरु पूरा गर्नको लागि यो शरीर पनि साधन हो । यो साधनको अवस्था राम्रो भएमा हामी हाम्रा लक्ष्य पूरा सजिलै गर्न सक्छौँ नत्र यसैको स्याहार सम्भार गर्दैमा आफ्नो मात्र नभइ परिवारका सबै सदस्यको साधन, स्रोत र समयको बर्बादी हुने निश्चित छ । भनिन्छ, शरीर माध्यम्, खलु धर्म साधनम् । सबै किसिमका कर्तव्य पूरा गर्नको लागि शरीर नै माध्यम् (साधन) हो । अब विचार गराैँ यो शरीर कसरी तन्दुरुस्त हुन सक्ला । शरीर कमजोर रोग लागेर हुन्छ । रोग नलागुन्जेल त शरीर ठीक ठाक नै हुन्छ ।  अब सोचौँ कि शाकाहारी खानपानले शरीरलाई स्वस्थ रहन मद्दत गर्छ कि मांसाहारी खानपानले ? मेडिकल साइन्सले प्रमाणित गरी सकेको छ कि मांसाहार भन्दा शाकाहार उत्तम भोजन हो । शाकाहार मांसाहार भन्दा उत्कृष्ट छ, अब सोचौँ कि शाकाहारले शरीरलाई बढी निरोगी बनाउँछ भने शाकाहारीहरु विज्ञान विरोधी हुन् कि होइनन् ?

हाम्रो शरीरलाई स्वस्थ राख्ने, हाम्रा लक्ष्यहरु पूरा गर्नमा सहज यात्राको तय गर्ने शाकाहारीहरु कसरी अन्धविश्वासी भए । यसरी हेर्दा त मांसाहार गर्दा शरीरलाई बलशाली बनाउन सकिन्छ भन्ने ध्येयले मांसाहार गर्ने भ्रममा बस्नेहरु नै अन्धविश्वासी पो हुन् कि ? अन्धविश्वासमा बस्नु भनेको भ्रममा बस्नु हो, भ्रममा बस्नेको सोचाइ विज्ञानसम्मत हुँदैन । यसरी हेर्दा मासुजन्य पदार्थले शरीरलाई बलियो बनाउँछ भन्ने भ्रममा बस्ने मांसाहारीहरु नै अन्धविश्वासी भएको देखिन्छ । शाकाहारीहरु विज्ञानका पक्षपोषक भएको देखिन्छ, उनीहरुलाई अन्धविश्वासमा बाँचेको भन्न सकिएन । 

अर्को प्रसंगमा कुरा गरौँ । पशुबलि प्रथाको विरोध अन्धविश्वासको प्रमाण हो त ? पशुबलि दिनेहरुले बलि दिएको पशुको मासु सेवन गर्दछन् भन्ने कुरा निर्विवाद जस्तै छ । जो मासु खाँदैन, उसले बलि प्रथा अपनाएको देखिँदैन । पशुबलि प्रथा अपनाउनुको पछाडि मासु खाने बहानामा पनि यो प्रथा विकसित हुन मलजल गरेको छ । देवीदेवता खुसी पार्ने नाममा पशु चढाउने अनि आफू र परिवारको क्षुधा तुष्टिको लागि मासु खाने । पशुबलि प्रथाको विरोधीहरुले पशुबलि नदिँदा मासु खाने प्रवृतिमा पनि कमी आइरहेको हुन्छ । जसको कारणले उसको मात्र नभएर परिवार र समाजको मासु खाने दरमा कमी आउँछ, जब मासुजन्य पदार्थको सेवन कम हुन्छ, तब शरीरको स्वास्थ्य पनि बिग्रन पाउँदैन । यसरी हेर्दा जुन गतिविधिले स्वास्थ्यलाई बढावा दिन्छ, त्यस्तो गतिविधि कसरी विज्ञान विरोधी हुन सक्ला ? जो विज्ञान अनुकूल चल्छ, ऊ अन्धविश्वासी कसरी हुनसक्छ । जो विज्ञान विरोधीहरुलाई चाहिँ अन्धविश्वासी भन्नुपर्ने हुन्छ । 

अब, पशुबलिको परम्परा अवलम्बन गरी रहेका हामीहरुले सोचौँ कि यो परम्परालाई निरन्तरता दिनु पर्ला कि नपर्ला । यो परम्परालाई निरन्तरता दिँदा लाभ के के छन् र हानी के के छन् र यस प्रथालाई बन्द गर्दा लाभ के र हानी के के रहेछन् । पशुबलि प्रथा बन्द गर्दा धेरै नै क्षति बेहोर्नु पर्ने देखिन्छ भने यसलाई निरन्तरता दिनु नै राम्रो होला । होइन, पशुबलि प्रथाको निरन्तरतामा भन्दा अन्त्यमा राम्रा पक्षहरु बढी देखिएमा, अब उप्रान्त सात्विक पूजा आराधनाको संस्कृतिको आरम्भ गरौँ ।

अब पूजाको सन्दर्भमा हामीहरु पनि विज्ञानसम्मत किसिमले चल्नु पर्दछ । विज्ञान सत्य खोजी गर्ने साधन हो । यसको प्रायोग जसले पनि गर्न सक्छ । यसले हामी, हाम्रो परिवार तथा समाजलाई लाभ दिन्छ, पशुबलि प्रथा शास्त्रसम्मत, विज्ञानसम्मत छ भने नछोडौँ, छाड्नै हुँदैन, तर न शास्त्र सम्मत न विज्ञान सम्मत छ भने किन र कुन आधारमा यसलाई अपनाउने ? पूजाको नाममा पशुबलिको चलन चलेको छ वा चलाएका छन् भने त्यो नत्यागी हुँदै हुँदैन भन्ने मेरो दलिल हो । यसलाई परिवार तथा समाजका मानिस जम्मा भएर सत्य, न्याय, माया, प्रेम, करुणा, शारीरिक स्वास्थ्य र विज्ञानको तराजुमा तौलेर हेरौँ, जे उचित हुन्छ त्यही गरौँ ।  

अन्तिम अपडेट: मंसिर ११, २०७९

तपाईको प्रतिक्रिया