खादाको प्रयोगमा रोक, स्थानीय स्तरमै उत्पादित फूल, मालाको प्रयोगलाई उच्च प्राथमिकता

 असोज ११, २०७९ मंगलबार १२:३३:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

स्थानीय उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन, विविधिकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । ‘तर अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइने छ’, उहाँले भन्नुभयो । 

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै याे निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेको छ । स्थानीय फूल र माला प्रयोग गरि खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीको सञ्चिति हुनुको साथै आय–आर्जनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरी यसको बिक्री–वितरण तथा बजारीकरण गरि आय–आर्जन वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाको यस निर्णयले स्थानीय फूल उत्पादक किसानहरु खुशी भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–९ मा रहेकाे भालमचौर ‘मृचे नमूना कृषि फार्म’मा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुईँकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेती गरिएको बताउनुभयो ।

‘गत वर्षबाट सुरु गरिएको फूल खेति राम्रो बजार लिएको छ । माग पनि बढेको छ । फार्मबाट यसवर्ष फूल तथा माला बिक्री सुरु भैसकेको छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया