समानुपातिक उम्मेदवारकाे सूची सबैकाे छलफलमा तयार पारिएकाे हाे : प्रवक्ता महत

 असोज ११, २०७९ मंगलबार १७:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले आउँदो चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गर्नुभएको छ । 

मङ्गलवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको बताउनुभयो । उहाँले समानुपातिकतर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनै पनि सत्यता नरहेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आम सहमतिबाट पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय बोर्डका सदस्य, आमन्त्रित नेता गण, प्रदेशका सभापतिलाई समावेश गरेर, सातै प्रदेश छुट्याएर समानुपातिकतर्फको बन्दसूची पेस गरिएको छ । त्यहाँ कतिपय त्रुटि छन् तर पनि त्यो एउटा पक्षलाई पक्षपोषण गर्न वा अर्कोलाई कमजोर गर्ने हिसाबले भएको छैन ।’

प्रवक्ता महतले केही सदस्यहरूले पार्टीले एउटा पक्षलाई पोस्ने काम गरेको छ भन्दै हिँड्नु वाञ्छनीय नभएको र यसबारेमा पार्टीले नजिकबाट हेरिरहेको बताउनुभयो । उहाँले संस्थापन इतर (डा.शेखर कोइराला) पक्षप्रति इङ्गित गर्दै समानुपातिक पद्धतितर्फ एकलौटी गरेको भए नेताहरूले आफैँ बोल्नुपर्ने तर अहिलेसम्म नबोलेकोबाट पनि सहजै सबै संलग्न भएर सर्वसम्मतरूपमा त्यो सूची बुझाएको दाबी गर्नुभयो । केही नेताहरूले कार्यकर्तालाई अन्योलमा राख्ने काम गरिरहेको उहाँको आरोप थियो । 

कार्यक्रममा बोल्दै महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लङ्घन गरेको आरोप पनि लगाउनुभयो । दुई पटकसम्म संसद्ले पारित गरेर राष्ट्रपतिसम्म पुर्‍याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु दुर्भाग्यपूर्ण रहेको उहाँले जिकिर गर्नुभयो । उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरेर चुनावको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोसिस भएको आरोप लगाउनुभयो ।

प्रवक्ता महतले सरकारमा भएकै कारणले आफूह निर्वाचन प्रक्रियामा निर्वाधरूपमा सहभागी हुने र प्रचार अभियानमा सक्रिय हुने कुरालाई कम गर्न नमिल्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेस निर्वाचन आयोगको त्यस आचारसंहिताप्रति गम्भीर रहेको बताउनुभयो । 

प्रवक्ता महतले आउँदो चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी पनि गर्नुभयो । कांग्रेस उम्मेदवारले गठबन्धनलाई सफल बनाउन लागिपर्ने हो भने आउँदो चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनलाई अन्तिम प दिने काम भइरहेको र दुई दिनभित्र नै सिट बाँडफाँटको टु्ङ्गो लाग्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया