राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ : ईश्वर पाेखरेल

 असोज १२, २०७९ बुधबार १९:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि आफ्नाे पार्टीले समर्थन गर्ने बताउनुभएको छ ।

काठमाण्डाै वडा नम्बर ३ मा रहेकाे रानीदेवी समूहले आज बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताउनुभयो । ‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो’, उहाँले भन्नुभयो, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ । तर दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरि अर्को दल आउँछ ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको पाेखेरेलकाे भनाइ छ । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो’, उहाँले भन्नुभयो, ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न जरुरी छैन । तर छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’

जनताको भावनाअनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

आउँदाे चुनावमा एमालेले विजय हासिल गर्ने वरिष्ठ उपाध्यक्ष पाेखरेलकाे दाबी छ । ‘मङ्सिर ४ गते एमाले आउँछ । सूर्य चिह्न आउँछ–आउँछ’, उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया