प्रत्यक्षतर्फको उम्मेदवार टुङ्ग्याउन दलहरुलाई सकस, गठबन्धनमा कार्यदलले नसकेपछि शीर्ष नेतालाई जिम्मा

 असोज १४, २०७९ शुक्रबार ६:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट सङ्ख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ । माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा विवाद देखिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन ।

सत्ता गठबन्धनकै दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । गठबन्धनभित्र सिट सङ्ख्या बाँडफाँटकाे  कुरा नमिल्दा पनि सत्तारुढ दलहरुलाई आन्तरिक रुपमा उम्मेदवार टुङ्गो लगाउन समस्या भएको हो ।

गठबन्धनको हिजो निर्णायक भनिएको बैठकमा पनि सिट बाँडफाँटमा कुरा मिल्न सकेन । कार्यदलमा सहमति नभएपछि अब शीर्ष नेताहरुले लेनदेन गरेर मिलाउने तयारी भएको छ । कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमति हुन लागेको भनिए पनि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । 

यस्तै, एमालेले पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । एमालेले पर्सि आइतवारसम्ममा प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आएकोे छ । एमालेको हिजो बसेको सचिवालय बैठकमा उम्मेदवारको विषयमा प्रारम्भिक छलफल भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गरेपछि मात्रै उम्मेदवारको नामावली टुङ्ग्याउने एमालेको तयारी छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया