प्रत्यक्षतर्फका ८० प्रतिशत बढी सिटमा गठबन्धनमा सर्वसहमति देखिन्छ : देव गुरुङ

 असोज १४, २०७९ शुक्रबार २०:२६:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलीय गठबन्धनले निश्चित गरेको बताउनुभएको छ ।

प्रेस सेन्टर लमजुङले शुक्रवार लमजुङ कृषि क्याम्पस सुन्दर बजारमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी जानेबारेमा पाँच दलीय गठबन्धनले निश्चित गरिसकेको बताउनुभएको हो । प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा धेरैजसाे सिटमा सहमति जुटिसकेको उहाँले दाबी गर्नुभयाे ।  

‘शीर्ष नेताहरूले माइन्युट गरी हस्ताक्षर गरिसकेको अवस्था त छैन’, उहाँले भन्नुभयो, ‘तर कार्यदलको एक सदस्यको हैसियतले कार्यदलमा चलेको गृहकार्यका आधारमा एउटा मापदण्डका आधारमा प्रत्यक्षतर्फका ८० प्रतिशतभन्दा बढी सिटमा सर्वसहमति देखिन्छ । खासै विमति देखिदैँन । केही १०/१५ प्रतिशत सिटमा नेताहरूबीचमा गृहकार्य गर्नुपर्ने, छलफल गर्नुपर्ने, 'गिभ एन्ड टेक' गर्नुपर्ने खालका कुरा बाँकी छन् ।’ त्यसका लागि पाँच दलका नेताहरू आपसी सल्लाह गरी, अनुकूल समयमा बैठक बसेर टिकट वितरण हुनुअघि नै टुङ्ग्याउनुपर्ने कुरा भएको उहाँले जानकारी गराउनुभएको छ ।

लमजुङको हकमा अबको चुनावमा प्रतिनिधि सभातर्फ आफूलाई अघि बढ्न प्रस्ताव भएको र दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदरवालाई अघि बढाउने पाँच दलको कार्यदलस्तरमा सहमति भएको महासचिव गुरुङले उल्लेख गर्नुभयो । जन्मथलो मनाङ भए पनि आफ्नो कर्मथलो लमजुङ भएको र लमजुङले एउटा पार्टीका महासचिवको जिम्मेवारी पाएको उल्लेख गर्दै यो जिम्मेवार, अवसर समग्र जिल्लाको विकास र समृद्धिका लागि उपयोगी हुन सक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया