गोरखाको फूलपाती गाडीमा राखेर हनुमानढोका दशैँघरमा पठाइयो

 असोज १६, २०७९ आइतबार ९:४५:२९ | किरण लोहनी
unn.prixa.net

गोर्खा – गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गोरखामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो ।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा हनुमानढोका पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

उहाँका अनुसार दरवार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापाको साथमा फूलपाती काठमाण्डौ पठाइएको छ । फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नु भएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै यो परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने गाडीमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन फेरि सुरु भएको उहाँको भनाइ छ । ६ वर्ष यता फूलपाती काठमाण्डौ पठाउने परम्परालाई उत्सवका रुपमा मनाउन गाडीमार्फत नै पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया