लगातारकाे वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँकाे बिजुली आपूर्तिमा अवराेध

 असोज २१, २०७९ शुक्रबार १८:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातारकाे वर्षा, हावाहुरी, बाढी–पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको बिजुली आपूर्ति बन्द भएको छ ।

मुख्यरूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने ठाउँमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण त्याे ठाउँमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताउनुभयो । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको बिजुली आपूर्तिमा अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई बिजुली दिइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले हापुरे सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई बिजुली आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी बिजुली आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गर्नुभयो ।

‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएकाे छ, चाडपर्वको बेला पनि हाम्रा कर्मचारीलाई काममा खटाएर तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई बिजुली आपूर्ति दिइरहेका छौँ’, घिसिङले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया