टिकट नपाएपछि डोटीमा कांग्रेसकाे असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिने

 असोज २२, २०७९ शनिबार २०:०:४६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - चुनावी तालमेलप्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।

सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधि सभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी प्रदेश सभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा रहनुभएको थियो । उहाँ दोस्राे चरणमा थोरै मत अन्तरले सभापति पदमा पराजित हुनुभएको थियो ।

सत्ता गठबन्धनको भागबण्डामा डोटीको प्रतिनिधि सभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेश सभा 'क' मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

आफूले बाध्यतावश सङ्घका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेको कांग्रेस नेता पदमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारी हाम्रो आफ्नो रहर होइन, कांग्रेस सक्ने गरी चुनावी तालमेल भयो, कांग्रेस नेता कार्यकर्ताको सल्लाहअनुसार स्वतन्त्र उम्मेदवारी दिन लागेका छौँ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया