दशैँ मनाउन गएका मन्त्री र कर्मचारी फर्किएनन्, सिंहदरबार सुनसान

 असोज २५, २०७९ मंगलबार १४:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ मनाउन जिल्ला गएका मन्त्री, कर्मचारी नफर्किँदा देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।

नेता र मन्त्रीहरू चुनाव प्रयाेजनका लागि जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरू चुनावका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता/कार्यकर्ता र सर्वसाधारणको भिड कम छ ।

आज मङ्गलवार पनि सिंहदरबारमा मानिसको आवतजावत निकै कम देखिएको छ । गएकाे आइतवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिकरूपमा सकिए पनि सरकारी कामकाज सुरु भइसक्दा समेत दशैँ बिदामा जिल्ला गएका कर्मचारी फर्किसकेको अवस्था छैन भने मन्त्रीहरू पनि चुनावका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भिड घटेको हो । अहिले मन्त्रालयमा सीमित कर्मचारीलाई मात्रै देख्न तथा भेट्न सकिन्छ ।

यता पछिल्लो केही दिनयता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि  नेता तथा मन्त्रीहरू विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरू भत्किँदा काठमाण्डाै फर्किनेहरू सहजै, समयमै आउन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरूको सङ्ख्या घटेको छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले निकै कम सङ्ख्यामा मात्रै देख्न सकिन्छ । 

मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, अर्थ, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, गृह, शिक्षा विज्ञान तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलगायतकाे अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीको सङ्ख्या कम देखियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया