कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

 असोज २६, २०७९ बुधबार १२:२९:८ | मनिराज पाण्डे
unn.prixa.net

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ ।

दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ । 

कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग अन्तर्गत सुर्खेत–दैलेख खण्ड एकतर्फ साना गाडी चल्ने गरी खुलाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्यर शाहले बताउनु भयो ।

कालिकोटको सदरमुकाम मान्म देखि खिड्कीज्युलासम्म कालिकोट राजमार्ग सुधार गर्ने गरी काम भइरहेको छ । तर कर्णाली राजर्माग पुर्णरुपमा खुलाउन केही दिन लाग्नेछ ।

सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर सडक छ । कर्णाली राजमार्गको हुल्म, सेरीघाट, सुनारखोला, ताडी, खडीखोला, हेर्ने भीर, गल्ली, छेका, मौलाकाटिया, मोल्फा, सिम्लागाड, पिली, सेरावाडा, टाकुल्ला, बाली, भैसेगौडा, टिमुरेभीर, गाल्जे, खल्लागाड, धनाडा, राचुली, भिग्मलगायतका ठाउँमा पहिरो खसेको छ ।

कतिपय ठाउँमा त राजमार्ग थियो भन्ने अनुमान गर्न पनि कठिन छ । वर्षाले कर्णाली करिडोर पनि पूर्ण रुपमा बन्द छ ।

कर्णाली राजमार्गबाट छुटिएर बाजुरा हुँदै हुुम्लाको सिमाना सल्लीसल्लासम्म ट्रयाक खोलिएको करिडोर पूर्ण रुपमा बन्द भएको हो । 

कालिकोटका ५ वटा पालिका जोड्ने करिडोर बन्द भएपछि स्थानीय बासीन्दाले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया