मलामी गएका दाजु र आफन्तलाई हेर्दाहेर्दै पहिरोले लग्यो

 असोज ३०, २०७९ आइतबार ७:९:२७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - असोज २३ गते दिनभर पानी परिरहेको थियो । ११ बजेतिर हामी मलामी जान निस्क्यौँ । तिलानदी पुग्दा ठूलो पानी परिरहेको थियो । वडा नं. ३ का वडा अध्यक्ष मेरो दाजु परबहादुर शाहीसहित एक सयभन्दा बढी मलामी थियौँ । 

गाउँको तल खोल्सो परेको ठाउँ र ओत लाग्न मिल्ने ठाउँ थियो । हामी सबैको सल्लाहअनुसार नदी किनारमै रहेको दाड (ओत लाग्ने ठाउँ) नजिकै शव जलाउने कुरा भयो । खोल्सो र साँघुरो ठाउँ भएकाले त्यहाँ हामी सबै अटेनौँ । केही अलि माथि डाँडामा बसेका थियौँ । केहीले तल आगो जलाउने काम गर्दै थिए । ठूलो पानी परेकाले मलामीमध्ये केहीले शवमाथि प्लाष्टिक ओढाएर शव जलाउन सहयोग गर्दै थिए । 

त्यहीँ नजिकै धानखेतमा सिँचाइको लागि गाउँको बीचबाटै कुलो लगिएको छ । गाउँभन्दा अझ माथि पानीको मुहान छ । गाउँकै पूर्वतिर सानो खहरे खोला छ । यी दुवै खोला गाउँबाट अलि तल कर्णाली राजमार्ग नजिकै गएर मिसिन्छ । 

तल शवको अन्त्येष्टि भइरहँदा मुहान माथिबाट र खहरे खोलाबाट पहिरो आयो । हामी अलि डाँडामा भएकाले माथि कर्णाली राजमार्गबाट ‘पहिरो आयो भाग भाग...’ भनेको सुनेर भाग्यौँ । हामीले शव जलाउँदै गरेको आफन्तलाई पनि ‘पहिरो आयो भाग’ भनेर करायौँ । उनीहरुमध्ये कोही ओत लाग्ने ठाउँमा थिए, कसैले पानी छेक्न प्लाष्टिक ओढेर बसेका थिए । त्यसैले उनीहरुले सुनेनन् । हेर्दाहेदै वडाध्यक्षसमेत रहेका मेरा दाजुसहित १३ जना पहिरोमा बेपत्ता भए ।

 

जो जति पहिरोमा बेपत्ता भए, सबै सामाजिक सेवामा सक्रिय व्यक्ति हुन् ।  उहाँहरुलाई पहिरोले लगेपछि हामी गाउँ आयौँ । गाउँमा रुवाबासी चल्यो । खहरे खोलामाथि ठूलो चट्टानी भिर छ  । त्यही भिर भत्किएर सडकमा मिसिएछ । अनि सडकको पानी खहरे खोलामा मिसिएर ठूलो भएछ र पहिरो खसेको रहेछ । 

यसरी खसेको पहिरोमा बेपत्ता भएकामध्ये प्रशान्त शाही एकल आमाका छोरा हुन् । उनी सामाजिक काममा सधैँ अग्रपङ्क्तिमा खटिन्थे । उनी, मेरा काका र अरु आफन्त गरेर १३ जना अझै बेपत्ता छन् । गाउँ शोकमा छ ।

(पहिरोमा बेपत्ता तिलागुफा नगरपालिका-३ का वडा अध्यक्ष परबहादुर शाहीका भाइ शिवराजसँग गरिएको कुराकानीमा आधारित) 

तस्बिर : सुशील देवकोटा 

अन्तिम अपडेट: पुस १२, २०७९

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया