सत्यमोहनको लेखनीमा 'स्वप्नवासवदत्ता' र 'मजिपाः लाखे' ले रङ्गमञ्चमा जीवन्तता पायो

 कात्तिक १, २०७९ मंगलबार १०:५८:५५ | कुमार रञ्जित
unn.prixa.net

फाइल फाेटाे

कला, साहित्य र संस्कृतिका विभिन्न विधामा थुप्रै कृति प्रकाशित गर्नुभएका सत्यमोहन जोशीका नाटक विधामा पनि नेपालभाषामा र नेपालीभाषामा गरी दर्जनभन्दा बढी पूर्णाङ्की नाटकहरु प्रकाशित, प्रसारित र मञ्चित भएका छन् । नाटकलाई पूर्णता दिएर मञ्चन गर्नेमा उहाँको मोह नयाँ पुस्ताका नाट्यकर्मीहरुका लागि अत्यन्तै प्रेरणादायी थियो । 

काठमाण्डाै उपत्यका र यस वरपर विकसित नेवाः सभ्यताको कला विधाहरुमध्ये यहाँको 'दबू प्याखं' (डबलीहरुमा देखाइने नाटक) पनि एक उच्चकोटीको विधा थियो । साहित्य र कला अर्थात् लेखन र प्रस्तुतिको अनुपम सङ्गमसहित 'दबू' हरुमा प्रस्तुत गरिने प्याखं नाट्य प्रस्तुतिहरु आधुनिक प्रविधि र जीवनशैलीसँगै प्रयोगविहीन र लोप हुँदे गएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । 

यसै सेरोफेरोमा नाटक विधालाई पुनर्जागरण गर्ने उद्देश्यकासाथ २४ वर्षअघि काठमाण्डाैको ॐबहालमा भएको नाट्यकर्मी र नाट्यप्रेमीहरुको भेलाले 'नासःदबू' नामक एक संस्था जन्मायो, जसको प्रमुख सल्लाहकारका रुपमा सत्यमोहन जोशी हुनुहुन्थ्यो । त्यस दबूले आफ्नो प्रथम प्रस्तुति सत्यमोहन जोशीद्वारा नै लिखित नेपालभाषाको पूर्णाङ्की नाटक नेपालभाषामा 'म्हगसय् नापलाःम्ह' प्रस्तुत गर्यो, त्यसले त्यसताका अत्यन्तै प्रशंसा बटुल्यो । त्यस नाटक संस्कृत भाषाका भारतीय महाकवि भासको नाटक 'स्वप्नवासवदत्ता' मा आधारित थियो ।

प्राचीन भारतीय राजकीय साजसज्जा, भाषा र भावभङ्गीसहित प्रस्तुत गरिएको नाटकका लागि 'नासःदबू' का अध्यक्ष नाट्यकर्मी शुभ 'शान्ति' बज्राचार्य लगायत कृष्णभक्त महर्जन, अन्नपूर्णेश्वरी श्रेष्ठ, सुरेन्द्र तुलाधर, सुधीर 'ख्वबि', मीना श्रेष्ठ, अमिता ताम्राकार, अजय श्रेष्ठ, पुष्प रजक र सौरभ शाक्य लगायतले धेरै मेहनत गर्नुभयो । उहाँहरुमध्ये प्रायजसाे अहिले पनि नेपालका अभिनय कला र साहित्यका क्षेत्रमा स्थापित हुनुहुन्छ । त्यसैगरी नृत्य निर्देशकका रुपमा हरिकृष्ण दर्शनधारी, सङ्गीततर्फ बालकृष्ण वंशी र वीरप्रसाद भंसारीहरुले पनि आ–आफ्ना क्षेत्रमा स्थापित भएर प्रसिद्धि प्राप्त भर्नुभएको छ । 

त्यस पूर्णाङ्की नाटक काठमाण्डाैको प्रज्ञा प्रतिष्ठानको मञ्चमा प्रस्तुत गर्न 'नासःदबू' ले चार महिनासम्म रिहर्सल गर्यो । १६ जना कलाकारहरुले आफ्ना अभिनय क्षमता प्रदर्शन गरेको त्यस नाटकको निर्देशन प्रसिद्ध नाट्य निर्देशन प्रचण्ड मल्लले गर्नुभएको थियो । काठमाण्डाैकै श्रीघःमा रहेकाे प्रभात मा.वि. को एक कक्षा कोठामा रिहर्सल गरिरहेको ठाउँमा सत्यमोहन जोशी आफैँ कैयौँ पटक पुगेर नाट्यकर्मीहरुलाई हौसला प्रदान गर्नुभयो । 

नाटक प्रस्तुतिका लागि मञ्च र कलाकार मात्रै तयार भएर पर्याप्त थिएन । त्यसका लागि आर्थिक व्यवस्थापनमा सहयोग गर्न पनि सत्यमोहन जोशीले आफैँ नेपालका प्रसिद्ध उद्योगपति र व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष इन्द्र भक्त श्रेष्ठ साथै गोपाल राजभण्डारी, ओमकार श्रेष्ठ र गणेश भक्त साखः लगायतका व्यवसायीहरुलाई उहाँले अनुरोध गरेर आर्थिक स्रोत जुटाउन मद्दत गर्नुभयो । यसरी २०५६ को असार २० गतेका दिन प्रज्ञा प्रतिष्ठानको मञ्चमा प्रस्तुत गरिएको 'म्हगसय् नापलाःम्ह' अत्यन्तै प्रभावकारी भएपछि दर्शकमध्येका एक 'सहयोगी नेपाल' का अध्यक्ष किरण डङ्गोलको अनुरोध आएपछि दुई महिनापछि पुनः प्रस्तुत गरियो । त्यसपछि पनि नेपालभाषा परिषदद्वारा विभिन्न पुरस्कार प्रदान गरिएको कार्यक्रमका क्रममा तेस्रो पटक पुनः 'म्हगसय् नापलाःम्ह' प्रदर्शन गरियो । 

त्यसको एक दशकपछि सत्यमोहन जोशीले काठमाण्डाैको इन्द्रजात्राका क्रममा हप्ताव्यापी प्रदर्शनमा ल्याइने शान्त भैरवरुपी 'मजिपाः लाखे' को किंवदन्तीको प्रेम प्रसङ्गमा आधारित नाटक लेख्नुभयो । मजिपाः लाखेको काठमाण्डाै २०, लाखेननिमा रहेकाे लाखेघरको पुनर्निर्माणका क्रममा सल्लाहकार बनेर पुग्नुभएका सत्यमोहन जोशीले त्यहाँबाटै लाखेको प्रेम प्रसङ्गलाई नाटकका रुपमा प्रस्तुत गर्न लाखे गुथि र त्यसको सञ्चालक पक्षका विभिन्न व्यक्तित्वहरु सित सल्लाह थाल्नुभएको थियो । त्यसै क्रममा मजिपाः लाखेका सञ्चालन विधि र प्रक्रियाबारे काठमाण्डाैका रञ्जितकार समाजका अध्यक्ष प्राध्यापक भाइराजा रञ्जितकारले सत्यमोहन जोशीलाई 'मजिपाः लाखे' को प्रसिद्ध लोककथा किंवदन्तीलाई नाटकका रुपमा लेख्नका लागि महत्त्वपूर्ण सहयोग प्रदान गर्नुभयो । यसरी मञ्चमा प्रस्तुतिका लागि तयार भएको 'मजिपाः लाखे' पनि कैयौँ पटक काठमाण्डाैका विभिन्न रङ्गमञ्चहरुमा प्रस्तुत गरेर चर्चित भयो । 

पछि ती दुवै नाटकहरु 'म्हगसय् नापलाःम्ह' र 'मजिपाः लाखे' छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा रहेकाे 'नेशनल स्कूलअफ ड्रामा' को थिएटरमा पनि प्रस्तुत गरिएको समाचार खुशी भएर सत्यमोहन जोशीले यस पङ्क्तिकारलाई सुनाउनु भयो । यसरी प्राचीन कथाहरुलाई नाटकीय प्रस्तुतीकरणमा सत्यमोहन जोशीको विशेष रुचि थियो । यसै क्रममा उहाँले नेपालभाषा र नेपालीभाषामा सिद्धार्थ गौतम, सिद्धिदास, न्हय्दँ लिपा, वैद्यबा, बाघ भैरव, सुनकेशरी मैयाँ, चारुमती, सिपाहीँ र रैती, फर्केर हेर्दा, जब घाम लाग्छ, दैलाको बत्ती, मृत्यु एक प्रश्न लगायतका नाटकहरु लेखन गरेर रङ्गमञ्चमा प्रस्तुत गर्नुभएको थियो । 

त्यसैले नेपाली नाट्य विधा र रङ्गमञ्चको क्षेत्रमा पनि सत्यमोहन जोशीले उल्लेख्य योगदान गर्नुभएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिवका रुपमा समेत जिम्मेवारी निभाउनुभएका जोशीले कीर्तिपुरमा आफ्नै अगुवाइमा बनाउनुभएको नेपालभाषा एकेडेमी र आफ्नै निवासमा राख्नुभएको लोक साहित्य परिषदमार्फत् पनि नाट्य विधा र रङ्गमञ्चप्रति योगदान दिनुभएको छ। नाटक, नाट्य परम्परा, कलाकार र अभिनयका लागि उपयोगी पुस्तक पनि प्रकाशित गराउनु भएको छ । 

यसरी सत्यमोहन जोशीलाई 'वाङ्मय शताब्दी पुरुष'का रुपमा राष्ट्रले सम्मान प्रदान गर्नुमा नाटक विधाको पनि महत्त्वपूर्ण योगदान रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया