तिहारअघि कर्णाली राजमार्ग खुलाउने तयारी, कालीकोटको तिलागुफामा सडक खुलाउन सकस

 कात्तिक २, २०७९ बुधबार १५:०:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – पहिरोका कारण बन्द भएकाे कर्णाली राजमार्गकाे सुर्खेत–जुम्ला सडक खण्ड तिहारअघि नै खुलाउने गरी काम भइरहेकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभएकाे छ । 

गएकाे असोज १९ गतेदेखि २५ गतेसम्म भएकाे अविरल वर्षाका कारण कालीकाेट खण्डमा सबैभन्दा धेरै ९७ ठाउँमा पहिरो गएको थियो । अहिले सुर्खेतदेखि कालीकोटको सेरावाडासम्म सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । 

यसैबीच हिजाे मङ्गलवार कालीकोटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पत्रकारसहित राजमार्ग अनुगमका लागि तिलागुफा पुगेको टोलीले राजमार्गको तिलागुफा सडक खण्ड खुलाउन भने निकै सकस हुने बताएको छ । त्यस क्षेत्रमा कडा चट्टानी भिर फोरेर राजर्माग सञ्चालन गर्नुपर्ने भएको छ । सेराबाडादेखि नाग्मसम्मको झन्डै २६ किलोमिटर सडकको धेरै ठाउँमा अवरोध छ । कर्णाली राजमार्गको तिलागुफा नगरपालिका क्षेत्रभित्र पर्ने सडक कतै नदीले बगाएको, कतै ठूलो पहिरो आएको त कतै सडकको अस्तित्व नै मेटाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो ।

यस्तै कर्णाली राजमार्गको कालेखोलाबाट छुट्टिएर गएको कर्णाली काेरिडोर पहिरोका कारण बन्द छ । काेरिडोर बन्द भएपछि त्यहाँको सडक हुँदै कालीकोटको सान्नी त्रिविणी, पचाल झरना, पलाँता गाउँपालिका, रास्कोट नगरपालिका, बाजुरा र हुम्लाका नागरिकलाई सास्ती भएको छ ।

कर्णाली काेरिडोर सञ्चालनका लागि आज काेरिडोर आयोजना कार्यालय हुम्लाका कार्यालय प्रमुख वीरेन्द्र यादवसहित सम्बन्धित पालिका प्रमुखसँग छलफल भएको प्रजिअ शर्माले बताउनुभयो । शर्माका अनुसार आयोजना कार्यालय हुम्लामा प्राप्त स्राेत, साधन नभएकाले स्थानीय निर्माण व्यवसायीकाे सहयाेगमा सडक खुलाउने काम सुरु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया