ठूला किसानलाई 'कृषि अनुदान' आवश्यक छैन : विज्ञ

 कात्तिक २, २०७९ बुधबार १६:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन् । आज बुधवार काठमाण्डौमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् । 

कृषि विज्ञहरूले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । उनीहरूले नेपालको कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई ठूलो योगदान गर्नसक्ने उल्लेख गरे ।   

कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले ठूला किसानलाई सरकारले अनुदान दिन आवश्यक नभएको बताउनुभयो । उहाँले साना किसानलाई व्यवस्थापन, मझौला किसानलाई उत्थान र ठूला किसानलाई नयाँ कृषि प्रणालीको विकासमा सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । 

डा. तिमिल्सिनाले नेपालमा व्यावसायिक कृषि प्रणालीको विकास गर्न नसके निर्वाहमुखी कृषि प्रणालीबाट माथि उठ्न नसक्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘ठूला किसानलाई हतोत्साह नगरौंँ । ठूला किसानलाई नयाँ कृषि योजना बनाउन दिऔँ । साना किसानलाई व्यवस्थापन गरौँ । मझौला किसानलाई उत्थान गरौँ । ठूला किसानलाई सहुलियत दरमा ऋण दिए हुन्छ । नेपालमा व्यावसायिक कृषि प्रणालीको विकास गर्न सकेनौँ भने हामी निर्वाहमुखी कृषिबाट माथि जान सक्दैनौँ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर सोच्नुपर्ने अवस्था आएको छ । उत्पादनमा आधारित अनुदान दिनुपर्छ भने पनि अहिले वास्तविक किसानले अनुदान नपाएको गुनासो आएकाले यसबाट बचाउनुपर्छ । नेपाल सरकारको कृषि ज्ञान केन्द्र विफल भइसकेको छ । यसलाई नयाँ ढङ्गको संरचना बनाउनुपर्ने अवस्था छ । किसान बस्ने ठाउँमा कृषि प्राविधिक छैनन् । अहिले ७७ जिल्लाको कृषि गर्ने क्षेत्रमा कृषि विज्ञ पाइँदैन ।’

कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैंक नार्कका प्रमुख तथा वैज्ञानिक डा. बालकृष्ण जोशीले रैथाने बालीको उत्पादन बढाउनका लागि नेपालको ठाउँ विशेष प्रमुख खाद्य बाली लगाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले अहिले ठाउँअनुसारको प्रमुख खाद्य बाली लगाउने प्रचलन कम रहेको बताउनुभयो । जोशीले विसं १९८० भन्दा अगाडि नेपालका विभिन्न क्षेत्रमा फरक–फरक जातका खाद्य उत्पादन हुने गरेको बताउनुभयो ।  

कार्यक्रममा किसान माधव ढुङ्गेलले सरकारले विषादीयुक्त खेतीलाई प्रोत्साहन गर्ने तथा अर्कोतर्फ मल र बिउ किनेर सस्तोमा बाँड्न खोजेको बताउनुभयो । उहाँले सरकारले विष पनि सँगै बाँड्ने र सरकारले नै विषमुक्त उत्पादन बाँड्ने दोहोराे नीति हुन नहुने बताउनुभयो । उहाँले सरकार अरू कसैबाट अनुबन्धित रहेको आराेप लगाउनुभयाे ।  

ढुङ्गेलले सरकारकाे घोषित नीति नै किसानको सङ्ख्या घटाउने रहेको दाबी गर्दै सरकारले किसानका लागि अहिलेसम्म केही नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागी अन्य किसानहरूले भने सरकारले वास्तविक किसानका लागि कुनै पनि काम नगरेको गुनासो गरे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया