नेताहरुको भैली : देउवासँग ढेउवा, ओलीसँग बोली !

 कात्तिक ६, २०७९ आइतबार ८:४६:२० | मिलन तिमिल्सिना
unn.prixa.net

यसपालि कुकुर तिहार सुरु नहुँदै गाउँगाउँ र टोलटोलमा देउसीभैलो भट्याउनेहरुको ताँती लागेको छ । छाती र चिउँडो बीच बोसोले बाक्लो बनाएको नाम मात्रको घाँटी वा गलामा मालाको भारी भिरेर असिनपसिन र स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै बल्लतल्ल गाउँमा पाइला राखेका उनीहरुले पालैसँग एकोहोरो फलाकिरहेका छन् ।

 भनभन भाइ हो : के भन्ने ?

चुनावमा भोट : दे भन्ने ।

हातै जोडेर : भोट माग

खुट्टै ढोगेर : भोट माग

नमस्कार गरेर : भोट माग

लम्पसार परेर : भोट माग

भकारो सोरेर : भोट माग

भकारी फोरेर : भोट माग

धानै काटेर : भोट माग

धनै साटेर : भोट माग

फकाएर जनता : भोट माग

धम्क्याएर जनता : भोट माग
...............................

हामी यसै आएनौँ, सिंहदरबारले पठाएको 

फेरि पनि सिंहजस्तै बन्न खटाएको  ।

हात जोड्छौँ, भोट दिनुस् के के गर्छौँ हेरौँला

तपाईँको जुनी त यस्तै हो हाम्रो फेरौँला ।
..............................

सामूहिक भैलो भट्याएपछि अब कांग्रेस र एमाले समूहको छुट्टाछुट्टै पालो आयो । सबैभन्दा पहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका पाँच भाइ अघि सरे । देउवा, प्रचण्ड र नेपाल पालैपालो भट्याउन थाले । चित्रबहादुर र महन्थले पछ्याए ।

आहै सिंहदरबारको थम्बा.....। 

सिंहदरबारको हैन क्या, केराको थम्बा भन्ने हो । 

केराको थम्बा के काम ? सिंहदरबारकै भन्ने हो । सिंहदरबारको थम्बा बलियो भए पो त्यहाँ हामी पाँच भाइ जम्मा हुन पाइन्छ । केराको थम्बा भए नि नभए नि हामीले केरा खान पाए भैहाल्यो नि ।

ए हो त नि । ल ल सिंहदरबारकै भनौँ ।

ए सिंहदरबारको थम्बा : देउसिरे ।

देउसिरे भनेको कि देउशेरे भनेको हो ? उस्तै उस्तै सुनियो त । 

जे सुनियो, त्यही हो । ल ल भनाैँ भनाैँ । 

भनभन नेपालजी : गठबन्धन

भनभन देउवाजी : गठबन्धन

सुनसुन दाहालजी : गठबन्धन

कुनातिर केसीजी : गठबन्धन

स्वागत छ महन्थजी : गठबन्धन

कांग्रेस जस्तो माओवादी : गठबन्धन

माओवादी जस्तो कांग्रेस : गठबन्धन

को कसको हो : गठबन्धन

न यसको, न उसको : गठबन्धन

पालैपालो खान : गठबन्धन

सत्तामै जान : गठबन्धन

शेरपछि आरजु : गठबन्धन

हैन हैन, प्रचण्ड : गठबन्धन

नेपाललाई अपमान : गठबन्धन

महन्थलाई मौका : गठबन्धन

चित्रबहादुरलाई चिट्ठा : गठबन्धन
.....................

भोट दिनुस् जिताउनुस्, देशमा बस्नै पर्दैन

खाडीतिर पठाइहाल्छौँ, पैसै पर्दैन

फ्रि भिसा, फ्रि टिकट जिम्मा आरजु देउवाको

माधव नेपाल तालिम दिन्छन् बिना ढेउवाको ।
...................

चुनावपछि सबैलाई विदेश पठाउने वचन दिएर सत्ता गठबन्धनले भैलो सकायो । त्यसपछि पालो आयो एमाले गठबन्धनको । ओली भट्याउन अघि सरे । उपेन्द्र, कमल थापा र अरुहरु पछि लागे ।

खै त रावलजी र घनश्यामजी त देखिएनन् नि ?

तिनीहरुले हाम्रो तालमा सुर मिलाउन जान्दैनन् क्या । उपेन्द्रजी र थापाजीले मिलाइहाल्नु हुन्छ नि । 

ल ल सुरु गरौँ ।

कसले भन्यो गठबन्धन : ओलीबा

घनश्यामलाई बन्धन : ओलीबा

रावलको टाउको टनटन  ः ओलीबा

दाहिनेतिर राजपा : ओलीबा

दायाँबायाँ दुई राप्रपा : ओलीबा

पछिपछि परिवार दल : ओलीबा

वरपर दलबल : ओलीबा

ओली नै ओली : ओलीबा

ओली मात्रै ओली : ओलीबा

ओलीकै बोली : ओलीबा

ओलीकै थैली : ओलीबा ।
...............

के-के भयो पाँच वर्षमा रेलै कुद्याे सररर ।

पानीजहाज खोलै पस्यो : झण्डा फररर ।

भोट दिनुस् हामीलाई, किन खेर फाल्नु हो 

दुई तिहाइले के के गर्यो देखिहाल्नु'भो ।
..................
ओली बाको भैलो पनि सकियो । त्यसपछि देउसीभैलोलाई आशिष दिने पालो आयो मतदाताको ।

दिन्छौँ आशिष : गनेर

सबैले जितून् : भनेर

फ्रि भिसा : चाहिएन

उखान र किस्सा : चाहिएन 

नेता नै जाउन् : विदेश

हामीलाई प्यारो : स्वदेश

दुई तिहाइको जस्तो : हाल नहोस्

दुई पाइलटको जस्तो : चाल नहोस्
...............
पाँच वर्षमै आए पुग्छ, मध्यावधि नगर्नू

कांग्रेस–कम्युनिष्ट चिन्न पाइयोस्, डेरा नसर्नू

भोट दिन्छौँ जिताउँछौँ पालैपालो रमाओ 

जितेपछि हाम्रो के काम, तिमेरले कमाओ ।
..................

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया