सिस्नुपानी देउसी : कोही बाँडीचुँडी खान गठबन्धन बनाउँछन्, कोही एक्लै खान आफ्नै खाडल खनाउँछन् !

 कात्तिक ६, २०७९ आइतबार ११:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशको राजनीति र सामाजिक क्षेत्रको विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै आएको सिस्नुपानी नेपालले दुई वर्षपछि देउसीभैलो कार्यक्रम गरेको छ ।

शनिवार बेलुका प्रज्ञा भवनमा भएको कार्यक्रममा सरकारका प्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता लगायतलाई अगाडि राखेर सिस्नुपानीका कलाकारहरुले अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरे ।

प्रस्तुत छ, सिस्नुपानी नेपालको देउसीभैलाेको केही महत्त्वपूर्ण अंश :

वीर शहीद हाम्रा – देउसिरे
अमर रहून – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
सत्ता चलाउने – केसैमा
दुई तिहाइ सरकार – आको थ्यो
केही होला जस्तो – भाको थ्यो
सुँगुर स्वर्ग – के जान्थ्यो
ऊ नखा भन्दा – के मान्थ्यो
दुई चार थान भाले – भिडेर
जनादेशको टाउको – गिँडेर
दुई तिहाइ हुँदै – फुइँ तिहाइ
फुइँ तिहाइ हुँदै – भुइँ तिहाइ
फेरि नि बहुमत – भन्दैछन्
दिउँसै तारा – गन्दैछन्
गर्धन र खुकुरी – एकै ठाम
गठबन्धन अरे – त्यसको नाम
रुख र हँसिया – छाता र घाम
सबैले गर्ने – एउटै काम
समृद्ध नेपाल – ठण्डाराम
शहीदका सपना – परमधाम ।
००
देउसी हाम्रो दुई वर्ष लकडाउनले तोड्दियो
कोरोनाले लान खोज्यो बीचमै छोड्दियो ।

यात्रा सिस्नुपानीको, पच्चीस वर्ष धानेको
जनताको बोली टिपी गोली हानेको ।

आगो पेवा मुढाको, पार्टी पेवा बुढाको
मोटर हाँक्न नसक्नेले पिलेन उडाको π

यो सरकारलाई पनि हाम्ले व्यङ्ग्य गर्नु पर्ला कि
डर लाग्छ व्यङ्ग्य गर्दा व्यङ्ग्यै मर्ला कि ।

देशमा सरकार छ कि छैन छाम छाम जनता
नेपालको प्रधानमन्त्री को छ भन त ।

के गर्दैछन् देउवाजी यो पाँचौँ कार्यकालैमा
घरमै बस्छन् कि उता ससुरालैमा ।

तेइस सिटे झोलीतुम्बी थाप्दै थिए देउ वा
को खाइ'को खाइ'को खाइ हाम्म पिएम खाउ बा ।

कोहीले सरकार पड्काउँछन् कोहीले पार्टी फर्काउँछन्
पर्मादेशले पर्मादेशलाई लास्टै थर्काउँछन् ।

यसले उसलाई गलाउने, उसले यसलाई गलाउने
गठबन्धनको एउटै लक्ष्य ओली ढलाउने

कोही बाँडीचुँडी खान गठबन्धन बनाउँछन्
कोही एक्लै खान आफ्नै खाडल खनाउँछन् ।
००
नेपाली कांग्रेस – जिन्दावाद
भोट केमा – हथौडामा
माओवादी केन्द्र – जिन्दावाद
भोट केमा – रुखमा
यो जीत कस्को – था छैन
आफ्नालाई भोट हाल्न – पा छैन
कलमलाई पनि – गाउँ दे
साइकललाई पनि – ठाउँ ले
नेकपा एमाले – जिन्दावाद
भोट के मा – हलोमा
यो जीत कसको – छाताको
सूर्य चिह्न कमल – थापाको
गठबन्धन पिरती – गाँसी दे
अर्कैको पोस्टर – टाँसी दे
मन रोए पनि – हाँसी दे
सिद्धान्तलाई – फाँसी दे ।
००
कम्निस्ट नामको हाम्निस्ट-पार्टी सिद्धान्त नै छाँटी छाँटी नि लैलै
दुई पार्टी जुट्दछन्, दर्जन भइ फुट्दछन्
ठूलो मै हुँ भन्दै उफ्रन्छन्
साँढे π
बाली खान नपाए डुक्रन्छन् ।

कांग्रेस नामको हांग्रेस पार्टी ।रुखका हाँगा काटी काटी नि लैलै
केही गर्न नपर्ने, हेर्दा हेर्दै झर्ने
के अचम्म ज्याकल जिल पर्ने
ए दाइ π
रामचन्द्रले भन के गर्ने π
००

चुनावको मुखैमा दल फेर्नेको लर्को छ
त्यागी नेता सेन्टिफ्ल्याँट चैते चर्को छ ।

बासी हड्डी सुँघाएर जुन पार्टीले बोलाउँछन्
तिनकै चप्पल चाटेर पुच्छर डोलाउँछन् ।

टिकट नपाइ भड्केका आत्माहरू बढे झन्
अझै केही तह थपौँ तीनटा मात्रै छन् ।

प्रदेश एकमा पचास मन्त्री मुख्यमन्त्री तीनजना
नामै राख्न नसकेर चले पाइखाना ।

बाटो छैन खोलो छैन करोडौँको बन्यो पुल
हो एसरी फुटाउने हो विकासको मूल ।

कणरलीमा मान्छे बग्छ तुइनबाट झरेर
दूरबीनबाट हेर्छन् नेता टावर चढेर ।

काँ छौ नेपाल काँ छौ खनाल कुन फिलिमको रोलमा
चोक्टा खान पाउने हौ कि डुब्छौ झोलमा π

अपमान भयो भन्थ्यौ, भन्थ्यौ बाले पेलेका
आखिरमा साथीभाइले भिरमा ठेलेका

सोध्नुहोला बामदेवलाई यहाँ किन ल्याइएन
बृहत् कम्निष्ट एकताको एड्रेस पाइएन ।

कहिले मधेस लर्किने कहिले पहाड फर्किने
बाबुरामका डेरा गन्दा पानी सर्किने ।
००
हाम्रा दलका ठूला साहू, । छेपाराका पनि बाउ नि लैलै
सत्ता बाहिर राता, सत्ताभित्र काला
एमसीसीमा टल्क्यो छाला ।
छ्याङ्ङै
एसपीपीमा देख्यो चाला ।

कोइले भने पार्टी छाड्छु, कोइले भने कानै काट्छु नि लैलै
जनतालाई उचाले, तुरुप एउटा फाले
व्याख्या भन्दै लुगै फुकाले
नाङ्गै π
आखिरीमा सुराल फुकाले ।
००

jony jony ! – no papa

gagan thapa ! – yes papa

passing MCC ? – yes papa

cutting thankot ? – no papa

telling lies ? – no papa

open your MASK – ha ha ha.

००

बालेन्द्रले काठमाण्डूमा म्याराथुन थालेन्द्र
ए बालेन्द्र भुइँमा हेरी पाइला चालेन्द्र ।

घर त हैन डेरै छ मूल सडकको नेरै छ
घरबेटीलाई बुल्डोजरले हेर्‍याहेर्‍यै छ ।

ढुंगा बोक्छ गिटी फोर्छ दलमा अझै गएन
हर्क भयो हर्कको मुख भएन ।

मध्यरातमा सुब्बासाबले करको दर फेरेछन्
सचिवज्यूले रातैभरि फिलिम हेरेछन् ।

जुँगा भाको मुसाले सीसीटीभी काटेको
भूपू मूसाहरूले कुट्न आँटेको ।

सीसीटीभी फुटेज र एम अधिकारी सर
साटासाट गरेपछि हिसाब बराबर ।
००
छयालिसमा पन्चायत ढाल्दा हामी थियौँ तन्नेरी
अहिले पो बूढो भइयो हा‘

६३ मा राजा फाल्न हामी सबै जुटेका
अहिले सिसा जस्तै फुटेका‘।।

क्रान्तिकारी थियौँ पहिला भाटा हान्थ्यौँ धामीलाई
अहिले त आफेँं धामी भइयो हा‘।।

टाउकाको मोल तोकेर आमने सामने भिडेथ्यौँ
अहिले एउटै टाउके भइयो हा‘

उहिले उहिले जन्ता थियौँ बिरोध गथ्यौँ राजाका
अहिले त आफैँ राजा भइयो हा‘।।
००
चुनावपछि सडकमा जान्छु भन्छन् प्रचण्ड
प्रधानमन्त्री पनि खान्छु भन्छन् प्रचण्ड

भोट नदिउँ प्रधानमन्त्री खान यिनले नपाउने
भोट दिउँ त सडकमा जान नपाउने ।

काठमाण्डूलाई भ्याएपछि सिराहातिर झरेका
चितौन खाएपछि गोर्खा डेरा सरेका ।

भोट दिनोस् बाआमा पाँच वर्ष खान्छु म
फेरि माग्न आउँदिन अन्तै जान्छु म ।

भिडमा बस्छौ भिडमा हिँड्छौ भन्छौ एक्लो भएँ म
कहाँ गए त्यत्रा साथी के भो त्यस्तो हँ ?
००
बादल छैनन् – वर्षालाई
वैद्य छैनन् – विमारलाई
रायमाझी छैनन् – रायलाई
लेखराज छैनन् – लेख्नलाई
विप्लब छैनन् – बोल्नलाई
त्यै भर एक्लो – हुनु भो
एक्लिएँ भन्दै – रुनु भो
नारायणकाजी – अडेकै छन्
जनार्दन अघि – बढेकै छन
झलनाथ माधव – साथी छन्
देउवा र आरजू – माथि छन्
बाबुराम आउँदैछन् - बाँझ्नलाई
हिसिला आउँदैछिन् – हाँस्नलाई
नातागोता वरिपरि – झुम्दै छन्
ठेकेदार व्यापारी – घुम्दै छन्
गठबन्धन सिङ्गो – हातमै छ
नटुटुन्जेललाई – साथमै छ ।
००
आफ्ना जागिर पेसा छाडी, राजनीतिमा दलको बाढी नि लैलै
चोरले पनि दल खोल्ने, पाकेटमारले सघाउने
भेडा बाख्रा पछि लगाउने
हामी π
छँदैछौं नि भ्या भ्या कराउने ।

एत्रा धेरै हाम्रा दलमा यति धेरै नेतै नेता नि लै लै
आफ्नासँग बाङ्गे, सबै नेता नाङ्गे,
सर्वसम्मत दीपक मनाङ्गे
नाङ्गे π
सबै दलको नेता मनाङ्गे ।
००
हाम्रो देशको दुई तिहाइ एउटै दाइले खसाउँछन्
फेरि दुई तिहाइ भन्दै दाइले हँसाउँछन् ।

कोरोनामा के के खाको हाम्ले पनि सुन्या हम्
हाच्छ्यूँ साच्छयूँ गरेर कान थुन्या हम्

ओलीसँग मधेशी, हैन रैछन् ठुस्केका
दुई क्विन्टलको माला लाउँदा झण्डै खुस्केका ।

राम्रा पाखा हाम्रा काखा गर्न कसले सिकायो
प्रभुलाई काँधमा बोक्दा काँधै भिजायो ।

कमल थापा कमरेडलाई बार्दलीमा बसाको
भीम रावल र घनश्यामलाई डाँडा कटाको ।
०००
देउराली उकाली चढेर
विजयपुर खोला तरेर
सानीलाई बोलाउँदा बोल्दिन
पर्नु पीर पर्‍यो ज्यानलाई पर्नु पिर पर्‍यो ।

साथीलाई खसाएँ भनेर
आफैँले खाल्टो खनेर
बाटोमा ढुकेर बसेको
आफैँ खसेको, खाल्टोमा आफैँ खसेको ।

दुई तिहाइ जिम्मा पाएँथेँ,
संसदमा आगो लाएथेँ
अदालतले थाहा पाइहाल्यो,
ठेगान लाइहाल्यो, ज्यानलाई ठेगान लाइहाल्यो ।
००
नाम मेरो चोलेन्द्र काम मेरो पोलेन्द्र
पोलेन्द्रले बोलेन्द्र कि पोल खोलेन्द्र ।

ठाउँठाउँमा न्यायाधीशका मुद्दा बेच्ने पसल छन्
होम डेलिभरी दिने वकील असल झन्

कालाकोटे कुस्तीले भाँडभैलो भो न्यायालय
अदालतमै आत्महत्या गर्‍यो न्यायले ।

संविधानको धाराबाट राति पानी झार्दिन्छन्
संसदलाई दिउँसै हेर्‍याहेर्‍यै पार्दिन्छन् ।
दिल्ली बेइजिङ किला ठोक्न नेपालको छाती नाप्दैछन्
वासिङ्टन र ईयू मिली धराप थाप्दैछन् ।

कुनै जासुुस आयो भने हजूरबा झैं मानेर
लाइन बसी ढोग्छौँ उसको खुट्टै तानेर ।

कर्मचारी काम गर्दैन मन्त्रीलाई लाउँछ दोष्
मन्त्री भन्छ कर्मचारी तँ नै उस्तो होस् ।

न विद्यार्थी पढ्न मान्छन् न प्रोफेसर पढाउँछन्
भोलि नेता बन्न आज किताव डढाउँछन्

प्राध्यापकको ढाड भाँचेर ताला लाउँछन् कलेजमा
के छिराए नेताले यिनका नलेजमा ।

संविधानमा चिप्लिएर समानुपातिक भाको हो
खसोखासमा हुनुपर्ने श्रीमतीपातिक हो ।

श्रीमतीपातिक छनोटमा श्रीमती आउँछन् पहिला
श्रीमती बाहेक देशमा कोही छैनन् महिला ।
०००
नामूद नामूद अपराधी जेलभित्रै बसीबसी नि लै लै
कानूनलाई चड्काउँछन्, दलको टिकट पड्काउँछन्
राजनीतिको हलो अड्काउँछन्
हत्तेरी ‘
क्विन्टल क्विन्टल माला लर्काउँछन् ।

मधेशवादी हाम्रा पार्टी भ्यागुताकै धार्नी जस्ता नि लै लै
कहिले यता टाँसिन्छन्, कहिले उता गाँसिन्छन्
जति उफ्रयो उति भासिन्छन्
सत्ते ‘
हेर्दा हेर्दै कुन दिन मासिन्छन् ।

००
जय मधेशके मन्तर हेरा गेलै दिया गे
बीचे बाट पार्टिए फेरा गेलै दैया गे

साइकिलसऽ छाता ल’क’ गाछीपर जे चढ़लै
सूर्यदिस बढैलै आ सेरा गेलै दैया गे

कोनो गेलै सम्धीमे तऽ कोनो दाजु-भौजीमे
कोनो एके जातीमे घेरा गेलै दैया गे

अपनामे बंटलै आ दोसरा से सटलै
तेसरा से पटलै घिना गेलै दैया गे
००
आशिषः
यो रुख कस्को – आलेको
कार्बनडाइअक्साइड – फालेको
त्यै रुखमुनि – बसेर
आशिष दिन – थालेको
व्याख्यात्मक घोषणा – आइरहून्
दिल्ली र बेइजिङ – धाइरहून
हाम्रा सुगाले – खाइरहून्
गोपिकृष्ण – गाइरहून्
जनताभन्दा नेता – धेरै हुन्
सत्तामा सधैंँ – मेरै हुन्
स्वतन्त्र छुँदा – दलको होस्
श्री ५ को जस्तो – झल्को होस्
नेताका सन्तान – राडीमा हुन्
जनताका सन्तान - खाडीमा हुन्
देवरहरू नाचून – पाउजूले
टिकट पस्कून – भाउजूले
खुल जा सिमसिम – खुली रहोस्
वीपीको आत्मा – डुली रहोस्
डाँडाकाँडा ढाकून – टावरले
फैसला किनून् – पावरले
रामचन्द्रको झैँ – आशा होस्
वीरबलको खिचडी – खासा होस्
देउवाको जस्तो – कुण्डली होस्
ओलीको जस्तो – मण्डली होस्
प्रचण्डको जस्तो – पासा होस्
बाबुरामको जस्तो – तमासा होस्
निष्ठाको राजनीति – मार्दै जाउन्
सन्तानमा सत्ता – सार्दै जाउन् ।।
००

(बिदाइ गीत, शिशिर योगी, बीबी अनुरागी)

बरु लेख्नै छोडौँला…. कलमले मकै गोडौँला धारेहात कसैलाई नि लाउनु नपरोस्

यस्तो देउसी फेरिफेरि गाउनु नपरोस् ००

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया