प्रचण्ड, बाबुराम, केपी र माधवहरू सच्चा कम्युनिस्ट हाेइनन् : नारायणमान बिजुक्क्षे

 कात्तिक ८, २०७९ मंगलबार १७:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिस्ट नभएकाे टिप्पणी गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । 

अध्यक्ष बिजुक्क्षेले उहाँहरू सरकारमा जाँदा कम्युनिस्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उहाँहरूलाई कम्युनिस्टकाे दर्जा दिन नहुने जिकिर गर्नुभयाे । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरूले सरकारमा गएपछि उत्पादनलाई सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा सबै जनतालाई समान अवसर दिने, योग्यताअनुसारको काम दिने, जमिन जोत्नेको बनाउनका लागि काम गर्थे तर तिनीहरूले केही पनि गरेनन् । नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो र उहाँले त कम्युनिस्ट अब खत्तम, समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिस्ट हुन्छ ? म कम्युनिस्ट होइन पनि भन्नु भो । त्यस कारण त्यस्ता कम्युनिस्टलाई हामीले कम्युनिस्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरूले पनि कम्युनिस्टले गर्ने कामहरू गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष बिजुक्क्षेले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताउनुभयाे । उहाँले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेहरी आउने सङ्केत भएजस्तै चुनावमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने जिकिर पनि गर्नुभयो । राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् तथा अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरूको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने उहाँकाे भनाइ छ । 

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै चुनावमा आएकाे बताउनुभयाे । उहाँले गठबन्धनमा मिसिने कुरालाई फोहर पानीमा नुहाएर सफा हुन नसकिने भनी टिप्पणी गर्नुभयो । उहाँले गठबन्धनका दलहरूले झुटा कुरा गरेर, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भए पनि मत लिनेमात्रै भएको जिकिर गर्नुभयाे । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरू गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरूको रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी दुई, चार मत ल्याउने उद्देश्य भन्दा पनि चुनावलाई जनताको बीचमा, देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनका निम्ति प्रयोग गर्दैछौँ । यदि हामीहरू उनीहरूसँगै भएको भएदेखि फोहर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ ।’

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया