लमजुङको गहते गाउँमा नयाँ मुखिया चयन

 कात्तिक ९, २०७९ बुधबार ९:१२:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको गहते गाउँमा नयाँ मुखियाका रुपमा मा ५५ वर्षका पालबहादुर गुरुङ चयन हुनु भएको छ ।

लमजुङको गहते गाउँमा परम्परागत रुपमा नै मुखिया रहने प्रचलन छ । सुन्दरबजार नगरपालिका वडा नम्बर ५ गहते गाउँमा हालसम्म मुखिया विहीन भएको छैन । गाउँलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विशेष भूमिका हुन्छ, मुखियाको ।

गाउँलाई सभ्य, सुन्दर र व्यवस्थित रुपमा सञ्चालन गर्न मुखिया राख्ने प्रचलन रही आएको बुढापाकाहरु बताउँछन् । गाउँका मुखियाको नेतृत्वमा परम्परागत कला, संस्कार, संस्कृति, रीतिथितिका काम अघि बढाइने परम्परा रहेको मूलकोट पर्यटन विकास समितिका अध्यक्ष हस्तबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा हुने पूजालगायतका शुभकार्य मुखियाकै उपस्थिति, नेतृत्वमा हुन्छ । गाउँसभामा सबैको विचार सुन्नुका साथै सबैको राय, सल्लाह, सुझावअनुसार त्यसलाई पारित गर्ने जिम्मा पनि मुखियाकै हुन्छ । वर्षभरीका कामका समीक्षा पनि हुने गर्दछ ।

एउटै परिवारका छोरा मुखिया हुने प्रचलन अनुसार मुखियाको जिम्मेवारी दिने गरिएको गाउँलेहरु बताउँछन् । तर विषम परिस्थितिमा मुखियाको सिफारिसका साथै सबै गाउँलेको साथ, समर्थन रहेमा अर्को कुनै व्यक्तिले पनि मुखियाको जिम्मेवारी पाउन सक्ने स्थानीय हस्तबहादुर गुरुङले बताउनुभयो ।

‘विशेषगरी एउटै खलक (परिवार)का छोरा मुखिया हुने प्रचलन अनुसार नै मुखियाको जिम्मेवारी दिइन्छ,’ उहाँले भन्नुभयो ।

अहिले गहते गाउँका स्थानीयले नयाँ मुखिया पाएका छन् । सोमवार बसेको गहते गाउँसभाले ५५ वर्षीय पालबहादुर गुरुङलाई मुखियामा चुनेको छ । गुरुङको इच्छा र गाउँलेको समर्थनअनुसार मुखियामा गुरुङलाई चुनिएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार पालबहादुरको बुवा बागवीर गुरुङको मृत्युपछि उहाँको माइला दाइ ७२ वर्षीय बुद्धबहादुर गुरुङ मुखिया हुनुहुन्थ्यो । बुद्धबहादुरको स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिनुभएको थियो ।

नयाँ मुखियामा बागवीरका कान्छा छोरा पालबहादुरलाई स्वागत गरिएको गाउँलेले बताएका छन् । ‘बुद्धबहादुरले पनि २४ वर्षसम्म मुखियाको जिम्मेवारी सम्हाल्नुभएको थियो,’ गुरुङले भन्नुभयो ।

मुखिया गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ । सदस्यहरूमा निरबहादुर गुरुङ, डिलबहादुर गुरुङ, एकप्रसाद गुरुङ र सदस्य सचिवमा कालिका युवा क्लबका अध्यक्ष बुद्धिलाल आले रहनुभएको छ ।

समितिले बनाएको नियम भन्दा बाहिरको काम गरेमा, झै–झगडा भएमा मुखियासामु उजुरी पर्छ । मुखियाले गाउँलेसँग सल्लाह गरी मेलमिलाप वा जरिवाना तोक्ने गरिन्छ ।

कसैलाई दुःख आपत् पर्दा पनि मुखियाको नेतृत्वमा सहयोग गरिन्छ । गाउँलाई व्यवस्थित गर्न मुखियाको ठूलाे भूमिका रहन्छ । मुखियालाई सबैले आदर मान, सम्मान गर्नछन्,’ स्थानीय गुरुङले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया