पिकनिक जानेको रोजाइमा डोटीको मिनी खप्तड ‘बगलेक’

 कात्तिक १४, २०७९ सोमबार १९:२०:३५ | विमल बिष्ट
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

डोटी – डोटीको बगलेक अर्थात् मिनी खप्तड वनभोज (पिकनिक) जानेहरूको रोजाइमा परेको छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा देउसीभैलो खेल्दा सङ्कलन भएको रकमले वनभोज जानेहरूले हिजोआज बगलेक रोज्न थालेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका २ मा रहेको बगलेक जिल्ला सदरमुकाम सिलगढीबाट झन्डै ९/१० किलोमिटर टाढा रहेको छ । 

खप्तडको प्रवेशद्वारमा रहेको बगलेकमा खप्तडको झल्को दिने सुन्दर फाँट रहेकाले अहिले पिकनिक जानेहरूको भिड बढ्न थालेको स्थानीयवासी गणेश ठकुल्लाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बगलेक एकान्त अनि रमणीय ठाउँ भएकाले पिकनिक गर्नेको भिड बढेको हो, खप्तडकको जस्तै झल्को दिने भएकाले पनि यहाँ मान्छे आउने गरेका छन् ।’ बगलेक क्षेत्रको छेउमा वाराही मन्दिर रहेकाले यहाँ पिकनिकसहित मन्दिरमा पूजाआजाका लागि आउनेहरूको भिड बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड पुग्न नसक्ने धेरैजसो बगलेक गएर चित्त बुझाउने गरेका अर्का स्थानीयवासी दिनेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बगलेक अग्लो डाँडामा रहेको रमणीय पर्यटकीय स्थल हो । खप्तड जान नसक्नेहरू हिजोआज यहाँ आएर रमाइलो गर्ने गर्छन् ।’ विशेषगरी दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका नजिकका नागरिक यहाँ पुग्ने गरेका छन् ।

प्रदेश सरकारले झिग्रानासम्मको सडक कालोपत्रे गरिदिएपछि बगलेक पुग्न सजिलो भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक पक्की भएको छ, यात्रुले सहजै गाडी पाउने भएकाले पनि अहिले बगलेक आउने बढेका हुन् ।’ 

बगलेक पर्यटकको रोजाइमा परेको भए पनि सरसफाइ प्रमुख चुनौती बनेको स्थानीयवासी शंकर बोहराले गुनासो गर्नुभयो । उहाँका अनुसार बगलेकमा पर्यटकको चहलपहल बढेसँगै फोहर व्यवस्थापन नहुँदा यो क्षेत्र कुरुप बन्दै गएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको बगलेकको विकासका लागि सरोकारवालाले पर्याप्त काम नगरेको पूर्वीचौकी २ का स्थानीयवासी दिलबहादुर साउदको आरोप छ । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया