च्याम्पियन्स लिग : रियल मड्रिड पराजित, युभेन्टसको जितमा डिबलाको ह्याट्रिक

 असोज १७, २०७५ बुधबार ७:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित हुँदा इटालियन क्लब युभेन्टसले जित हात पारेको छ । इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ ।

रियल मड्रिड रसियाको सीएसकेए मस्कोभासँग १–० ले पराजित भयो । रसियाको मस्कोमा भएको समूह चरणको खेलमा रियल मड्रिडले ७५ बल पोसेसन आफ्नो पक्षमा राखे पनि जित भने हात पार्न सकेन । निकोला भ्लासिचको दोस्रो मिनेटको गोल निर्णायक बन्दा साविक विजेता रियल मड्रिडले दोस्रो खेलमा पहिलो हार ब्यहोरेको हो ।

खराब फर्मबाट गुज्रिरहेको म्यान्चेष्टर युनाइटेड भने स्पेनिस क्लब भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएको छ । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिमले गोल गर्न सकेन ।

अर्को इंग्लिस क्लब म्यान्चेष्टर सिटीले भने जित हात पारेको छ । सिटीले होफेनहेमलाई २–१ ले पराजित गर्‍यो । होफेनहेमले लिएको पहिलो मिनेटको अग्रता उल्टाउँदै सिटीले दुई गोल गरेको थियो । पहिलो मिनेटमा इशाक बेल्फोडिलले गोल गर्दै होफेनहेमलाई अग्रता दिलाएका थिए ।

तर सातौं मिनेटमा सर्जियो एग्युरोले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ बराबरी भएको खेलको ८७औं मिनेटमा डेविड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । सोही गोल सिटीको जितमा निर्णायक बन्यो ।

इटालियन क्लब युभेन्टसले स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले हराउँदा पाउलो डिबालाले ह्याट्रिक गरे । टोरिनोस्थित युभेन्टसको मैदान एलिनाज स्टेडियममा भएको खेलमा डिबालाले पाँचौं, ३३औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया