धनकुटामा एमालेका राई र कांग्रेसका थापा नै मुख्य प्रतिस्पर्धी

 कात्तिक २१, २०७९ सोमबार १७:४८:४९ | सन्ताेष रुचाल
unn.prixa.net

मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा धनकुटामा एमाले र सत्तागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद राजेन्द्र कुमार राई, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, स्वतन्त्रतर्फ माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा रहेका छन् ।

गठबन्धनकातर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता थापा र नेकपा एमालेबाट उम्मेदवार बनेका राईबीच यो तेस्रो प्रतिस्पर्धा हो । अघिल्लो दुई पटकको प्रतिस्पर्धामा दुवै जनाले एक/एक पटक विजय हासिल गरेका छन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका सुनिलबहादुर थापा विजयी हुनु भएको थियो । उहाँ चार सय भन्दा कम झिनो मतान्तरले विजयी हुनु भएको थिए । त्यस बेला धनकुटामा दुई वटा निर्वाचन क्षेत्र थियो । र, धनकुटा क्षेत्र नम्बर २ मा निकटतम प्रतिद्वन्द्वी राजेन्द्रकुमार राईलाई पराजित गर्दै थापा विजयी हुनु भएको थियो ।

२०७४ सालको संसदीय चुनावमा भने राजेन्द्र कुमार राई विजयी हुनुभयो । एउटा मात्र क्षेत्र रहेको धनकुटामा त्यस बेला राजेन्द्र कुमार राईले सुनिलबहादुर थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गर्नु भएको थियो । विजयी राजेन्द्र कुमार राईले ३७ हजार ३ सय ३३ र उनका निकटम प्रतिद्वन्द्वी सुनिलले २६ हजार ८ सय ७४ मत प्राप्त गर्नु भएको थियो । तेस्रो पटक हुन लागेको अहिलेको प्रतिस्पर्धामा को विजयी हुन्छ त्यो भने मंसिर ४ पछि नै थाहा होला । तर, पहिलेदेखि प्रतिस्पर्धीका रुपमा देखिएका नेताहरु यस पटक पनि मैदानमा देखिएकोले प्रतिस्पर्धा पक्कै रोमाञ्चक हुने देखिन्छ । 

२०७४ सालको संसदीय चुनावका बेला धनकुटा एमालेको प्रभाव क्षेत्रको रुपमा थियो । तर गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा  सातमध्ये चार स्थानीय तहमा सत्तारुढ गठबन्धन विजयी बनेको थियो । जसका कारण एमालेको प्रभाव क्षेत्र केही हदसम्म घटेको मान्न सकिन्छ । तर माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका हेमराज भण्डारीका कारण कस्को पल्ला भारी हुन्छ भन्ने आंकलन गर्न सकिँदैन । त्रिपक्षीय प्रतिस्पर्धा नभए पनि भण्डारीले थापा र राईमध्ये कसको बढी भोट काट्छन् भन्ने कुराले नतिजा कसको पक्षमा जान्छ भन्ने निर्धारण गर्नेछ । धनकुटामा माओवादी पार्टी तेस्रो स्थानमा छ ।

थापालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने राई एमालेका तर्फबाट मात्रै उमेदवार बन्नु भएको छ । २०७४ को  प्रतिनिधि सभाको चुनावमा पनि थापा र राई प्रतिस्पर्धामा थिए । त्यस बेला माओवादीले एमाले उम्मेदवार राईलाई सघाएको थियो ।

गएको पालिका चुनावमा गठबन्धनले ३७ हजार ६ सय ८२ र एमालेले ३६ हजार ३५ मत ल्याउँदा गठबन्धनको पल्ला भारी देखिए पनि अहिले गठबन्धनमा जनता समाजवादी पार्टी नहुँदा गठबन्धनको मत घट्न सक्ने देखिन्छ भने नेकपा माओवादीमा पनि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन कमजोर देखिन्छ । यता एमालेलाई भने धनकुटामा नेकपा एकीकृत समाजवादीका कारण खासै असर परेको देखिँदैन । धनकुटामा अहिले मुख्य रुपमा राजेन्द्र कुमार राई, सुनिलबहादुर थापा र स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो कार्यकालमा एमालेको नेतृत्व गरेको सरकारले धेरै विकास निर्माणका कार्य गरेको र एमालेको स्थानीय स्तरसम्म संगठन बलियो भएकाले यस पटक पनि नागरिकले एमालेलाई जिताउने एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका राजेन्द्र कुमार राईले दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘अघिल्लो पाँच वर्षमा धनकुटाको गरिबी ५ प्रतिशतले घटाउन आफू सफल भएको र धनकुटाको विकासमा आफूले धेरै काम गरेकाले जित सुनिश्चित छ ।’

यता सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका सुनिलबहादुर थापाले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । गएको पाँच वर्षमा धनकुटाले राष्ट्रिय नेतृत्व नपाएको र धनकुटाको विकास र समृद्धिको लागि आफू एकमात्र योग्य उम्मेदवार रहेको उहाँको भनाइ छ । 

त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले आफू धनकुटेली नागरिकको प्रिय र युवा उम्मेदवार भएकाले आफूले यस पटकको प्रतिनिधिसभाको चुनावमा विजय हासिल गर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘म युवा उम्मेदवार हुँ । मसँग पाँच वर्षे मास्टर योजना छ । मैले पहिलो संविधानसभाको सदस्य हुँदा थुप्रै राष्ट्रिय योजनाहरु ल्याएको छु । काम गरेको छु । ती योजनाहरु पूरा गर्नको लागि पनि मैले पार्टी भन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारी दिएको छु । मेरो जित निश्चित छ ।’

धनकुटाको राजनीतिलाई नजिकबाट हेरी रहेका बुद्धिजीवी एवम् धनकुटा बहुमुखी क्याम्पस धनकुटाका उपप्राध्यापक इच्छापूर्ण राईले धनकुटामा विशेष गरेर एमाले र सत्तागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताउनु भयाे। एमालेको जनाधार र संगठन टोल–टोलसम्म बलियो भएको र पार्टीको एजेण्डा पनि स्पष्ट रहेको छ । तर सत्तागठबन्धनमा एकअर्काबीचको खिचातानीले गर्दा आफैँमा कमजोर बन्दै गएकाले समग्रमा धनकुटाको राजनीतिलाई हर्दा एमालेको पल्लाभारी भएको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया