चुनावका कारण अदालतकाे सेवा प्रभावित, सेवाग्राहीलाई समस्या

 कात्तिक २१, २०७९ सोमबार १९:५८:३० | सन्तोष थापा
unn.prixa.net

पर्वत जिल्ला अदालत

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाकी लक्ष्मी घर्ती कात्तिक २० गते आइतवार पर्वत जिल्ला अदालत आउनुभयो । उहाँ २०७६ सालमा दर्ता गरेको जालसाजी मुद्दाकाे पेसी सुनुवाइ हुने गरी तारेख तोकिएपछि अदालतमा आउनुभएको थियो तर अदालतले त्यस दिन पेसी स्थगित भएको सूचना दिएर घर फर्कायो । घर्तीले २०७६ फागुनमा दर्ता गरेको जालसाजी मुद्दा अहिलेसम्म ११ पटक अदालतमा पेसी चढेको छ तर अदालतले तीन पटकमात्रै आदेश जारी गरेको छ भने अन्य आठ पटक स्थगित नै भएको छ । लक्ष्मी घर्तीमात्रै होइन पछिल्लो एक हप्ता अदालतमा पेसी तोकिएका दुई दर्जनभन्दा बढी मुद्दा सुनुवाइ नै हुन नपाइ स्थगति भएका छन् ।  

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका कारण पर्वत जिल्ला अदालतकाे काम कारबाही प्रभावित बनेकाे हाे । नियमित काम रोकिँदा समस्या भोग्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । निर्वाचन आयोगले निर्वाचन ऐनअनुसार जिल्ला न्यायाधीशले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्ने जिम्मा दिएपछि अदालतकाे काम नियमितरूपमा सञ्चालन हुन सकेकाे छैन ।

जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ निर्वाचन व्यवस्थापनकै सिलसिलामा अनुगमन तथा निरीक्षण सँगसँगै कर्मचारी खटाउनमा व्यस्त रहेपछि अदालतका सबैजसाे मुद्दा स्थगित हुने गरेका छन् । कात्तिक महिनाको १४ गतेदेखिका अदालतमा पेसी चढेका मुद्दामध्ये एक/दुईबाहेक सबैजसो स्थगित गरिएको पर्वत जिल्ला अदालतका स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयाे । ‘एक जनामात्रै जिल्ला न्यायाधीश रहेको ठाउँमा धेरै समय निर्वाचन व्यवस्थापनमा खट्नुपर्दा असहज भएको छ’, उहाँले भन्नुभयो ‘श्रीमानले समय मिलेसम्म मुद्दा हेर्ने र सुनुवाइ गर्ने गर्नुभएको छ’, उहाँले भन्नुभयाे । स्रेस्तेदार ढुंगानाले सेवाग्राहीलाई सकेसम्म मर्का नपर्ने गरी कार्यसम्पादन गर्ने गरिएकाे बताउनुभयो । 

जिल्ला न्यायाधीश श्रेष्ठले चुनावकै कारण मुद्दा छिटो छरितो गरी नियमितरूपमा हेर्न नसकिएको बताउँदै समय व्यवस्थापन गरेर मुद्दाकाे सुनुवाइ गर्दै आएको बताउनुभयो । सर्वोच्च अदालतबाट परिपत्र तथा सूचना जारी नभएसम्म आफूहरूले पूर्णरूपमा काम स्थगित गर्न नसकिने उहाँले बताउनुभयो । बन्दी प्रत्यक्षीकरणलगायतका थुनछेक आदेश गर्नुपर्ने प्रकृतिका मुद्दाहरू भने नियमित प्रक्रियामा नै रहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया