भोट माग्दै गाउँगाउँमा नेता, आफ्ना माग राख्दै मतदाता

 कात्तिक २२, २०७९ मंगलबार ११:५५:७ | विमल बिष्ट
unn.prixa.net

डोटी - आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार र राजनीतिक दलका नेताहरु अहिले स्थानीयसँग भोट माग्न अहिले गाउँगाउँ पुगेका छन् । सहर बजारभन्दा पनि गाउँमा चुनावी चहलपहल निकै बढेको छ । गाउँमा उम्मेदवार तथा नेताहरु आउन थालेपछि यहाँका स्थानीयवासीले पनि आफ्ना मागका नेताहरुसँग राख्न थालेका छन् ।

चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार गाउँगाउँमा चुनावी प्रचारका लागि पुगेपछि स्थानीयले आफ्ना माग नेताहरुसँग राख्न थालेका हुन् । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा पालिका रहेको डोटीमा अहिले नागरिकले चुनाव प्रचारप्रसारका लागि आएका नेताहरुसँग आफ्ना आवश्यकताकाबारे बताउने गरेकाे बडिकेदार गाउँपालिका–१ वीपीनगरकी स्थानीय यसोदा मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव प्रचारप्रसार तथा भोट माग्न उम्मेदवार गाउँमा आउन थालेका छन्, नागरिकले पनि आफ्ना माग राख्दै आएका छन्, जसले पूरा गर्छु भन्ने वचन दिन्छ तिनैले भोट पाउने छन् ।’

नेता तथा उम्मेदवारसँग स्थानीयद्वारा राखिने मागमा खानेपानी, सिँचाइ घोरेटो बाटो, बिजुली, विद्यालय भवन, स्वास्थ्य चौकी, सडक सञ्जाल जोड्नेसम्मका रहेका छन् । अरु बेला कम बोल्ने स्थानीयवासीहरुले आफ्ना आवश्यकताका बारेमा खुलेरै माग राख्ने गरेको जोरायल गाउँपालिका–५ का निरज विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँमा आउने नेताहरुसँग हामीले गुणस्तरीय शिक्षाको माग राखेका छौँ, जसले शिक्षा, स्वास्थ्यमा सहयोग गर्छ त्यही भोट पाउँछ ।’

यसैगरी बोगटान सडकसहित खुटिया, वीपीनगर, गड्सेरा, दिपायल, हुँदै बझाङ सडक जोड्न मतदाताले उम्मेदवार तथा नेताहरुसँग माग गरेको अर्का स्थानीय भरत सार्कीले बताउनुभयो । उहाँका अनुसार विद्युत् विस्तारसहित उम्मेदवारलाई मतदाताले रोजगारी सिर्जना हुने र आयआर्जनका कार्यक्रम पनि माग गरिरहेका छन् ।

मतदाताले आफ्ना मागअघि सारेसँगै उम्मेदवारहरुले मागका विषयमा सम्बाेधन गरिने आश्वासन दिँदै आएका स्थानीयवासीहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया