दैलेखमा महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड

 कात्तिक २२, २०७९ मंगलबार १९:९:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – कार्यस्थलमा महिनावारी हुँदा सरसफाइमा सजिलोका लागि महिला म्यादी प्रहरीलाई दैलेख प्रहरीले स्यानिटरी प्याड वितरण गरिएको छ । 

गएको वैशाखमा भएकाे पालिका चुनावमा महिला म्यादी प्रहरीले असजिलो भोगेको भन्ने गुनासोका आधारमा यस पटक स्यानिटरी प्याडकाे प्रबन्ध गरिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताउनुभयो ।  

दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरीसमेत तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशीला भूसालले जानकारी दिनुभयो ।  

‘अघिल्लो चुनावमा महिला म्यादी प्रहरीहरूले फिल्डमा गएको बेला महिनावारी हुँदा कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गर्‍याैँ’, असई भूसालले सुनाउनुभयो । 

कार्यस्थलमा खटिएका महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको याे सहयोग भावनात्मक हिसाबले ठूलो भएकाे महिला सशक्तिकरण मञ्च दैलेखका पूर्वअध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिनुभयो । चुनावका बेला विकट गाउँमा पुगेका महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड वितरणले दत्तचित्तका साथ काममा खट्न सहयोग पुग्ने उहाँकाे भनाइ छ । 

महिला म्यादी प्रहरीलाई कार्यस्थलमा खटिएको बेला स्यानिटरी प्याड वितरण गरिएकाे नेपालमै यो पहिलो हो । दैलेख प्रहरीले उच्चतम मानवीयता देखाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले बनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया