हामी 'मिशिन गन' बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनुस् : प्रमुख निर्वाचन आयुक्त थपलिया

 कात्तिक २३, २०७९ बुधबार १८:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आयोग तयार रहेको बताउनुभएको छ । 

आज बुधवार आयोगको कार्यालयमा युवासँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले चुनावलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाको साथ आवश्यक रहेको बताउनुभएको हो । उहाँले आयोग चुनाव स्वतन्त्र, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरूपी 'मिशिन गन' बोकेर मैदानमा खटेको बताउनुभयो । आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न उहाँकाे आग्रह छ । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका दलहरूप्रति इङ्गित गर्दै उहाँले चुनाव बिथोल्नका लागि कुनाबाट अनावश्यकरूपमा गुलेली नचलाउन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नका निम्ति हामी एक किसिमले मिशिन गन बोकेर फिल्डमा उत्रिएका छौँ । कहीँ कतै कुनाबाट गुलेली ताक्नेहरू पनि हुनसक्छन्, त्यसलाई हेर्दिने काम युवाको हो । तपाईँहरूले पत्ता लगाइदिनुपर्‍याे । अनावश्यकरूपमा गुलेली चलाएर मट्याङ्ग्राको सत्यनाश नगरिदिनुस् भनेर तपाईँहरूले भनिदिनुपर्‍याे । केही असन्तुष्टि होलान्, चित्त नबुझेका कुरा होलान्, त्यसलाई हामीले मिलाउँदै जाने हो । तर चुनावकाे यो महाअभियानमा अब हामी सरिक भएर जाने हो । महासागरमा खहरेहरूलाई मिसाएर जाने हो, खहरेहरू अलिकति धमिला हुन्छन्, एकछिन मिसिएपछि फेरि सफा भइहाल्छन्, ४ गतेभित्र सबैलाई सफा पार्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक चुनावमा निर्वाचित हुनेको सङ्ख्याभन्दा पराजित हुने धेरै हुने भन्दै युवाले पराजित भएका उम्मेदवारलाई पनि अङ्कमाल गरेर अघि बढ्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । चुनावपछिको सामाजिक र राजनीतिक वातावरणलाई धमिलो हुन नदिन युवाले भूमिका खेल्नुपर्ने उहाँकाे भनाइ छ । 

कार्यक्रममा युवाले निरक्षर मतादातालाई मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै उनीहरूले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरूका लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए । विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि उनीहरूकाे भनाइ थियाे । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया