प्रतिगमनकारी प्रचण्डजीहरू नै हो : मोहन वैद्य

 कात्तिक २३, २०७९ बुधबार १९:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मङ्सिर ४ गतेको चुनाव बहिस्कार गरेको जिकिर गर्नुभएकाे छ । 

आज बुधवार काठमाण्डाैकाे शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट नेपालको संयुक्त आयोजनामा गरिएको चुनाव बहिस्कार सभामा बोल्दै महासचिव वैद्यले नयाँ क्रान्तिको तयारीका लागि चुनाव बहिष्कार गरिएको बताउनुभएको हो । उहाँले विद्यमान राज्य व्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन आवश्यक रहेकाे बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो सत्ताका विरुद्ध, संसदीय व्यवस्थाका विरुद्ध र यी दलहरूकाे विचारधारका विरुद्ध सङ्घर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । नयाँ क्रान्तिको तयारी गर्नका निम्ति सत्ता क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर जान जरुरी छ । हाम्रो यो चुनाव बहिस्कार आन्दोलन, हाम्रो यो अवज्ञा आन्दोलन त्यही दिशामा एउटा महत्त्वपूर्ण कदम हो ।’

महासचिव वैद्यले राज्यका तीन वटै अङ्ग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको दाबी गर्नुभयाे । शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भए पनि तीन अङ्गबीच शक्ति सङ्घर्ष चलिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा बाेल्दै उहाँले निर्वाचन आयोगले आफूहरूलाई दमन गरिरहेको बताउनुभयो । आफूहरू चुनाव बहिष्कारको पक्षमा रहेको भन्दै आफूहरूलाई आचारसंहिता नलाग्ने उहाँले जिकिर गर्नुभयो । उहाँले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारूढ गठबन्धनका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' माथि आक्रोश पोख्नुभयो । प्रचण्डले प्रतिगमनको विरुद्धमा लडेको भने पनि आफूहरूमाथि प्रतिगमन गरेको महासचिव वैद्यले बताउनु भयो । नागरिककाे मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका विरुद्ध लड्ने हो भनी उहाँले प्रचण्डलाई प्रश्नसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘ठाउँ–ठाउँमा पूरै दमन गरिराखेको छ । यो कारण के हो ? निर्वाचन आयोग के हो ? आचारसंहिता हामीलाई किन लाग्ने ? शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा माइक भाँचिदिने । पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, के हाे याे ? यही हो लोकतन्त्र । प्रचण्डजीहरू भन्नुहुन्छ– प्रतिगमनको विरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने अनि कुन प्रतिगमनका विरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरूले नै गरिरहनुभएको छ ।’

कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मङ्सिर ४ गतेको चुनाव खारेज गरेर स्वाधीन स्वयुक्त सरकार बनाउनुपर्ने जिकिर गर्नुभयाे । उहाँले स्वाधीन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभयो । देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै चुनाव गर्न सकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया