नेपालकाे सबैभन्दा ठूलाे राेग भ्रष्टाचार हाे, नेताहरू बेइमान भए : चन्द्र भण्डारी

 कात्तिक २४, २०७९ बिहिबार १४:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आउँदाे चुनावबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाण्डाैमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आउँदाे चुनावबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई थाहा छ, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, मङ्सिर ४ गते यी तत्त्वलाई पराजित गर्नुपर्छ । लुटेको सम्पत्ति नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवालाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो ठूलाे रोग हो ।’

नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरि युवालाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरूलाई चुनावमा नागरिकले पराजित गर्न आवश्यक भएको बताउनुभयो । 

नेता भण्डारीले नेपालले अहिले सात खर्ब रुपैयाँ विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब रुपैयाँ व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई नागरिकले चुनावमा चुन्नुपर्ने आवश्यक्ता भएको बताउनुभयो । नेपाली राजनीतिमा बेइमान नेताहरू भएको उहाँकाे टिप्पणी छ । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उहाँले बताउनुभयो । 

नेता भण्डारीले देशलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आउँदाे चुनावबाट बिदाइ गर्नुपर्ने बताउनु भयो । आउँदाे चुनाव आफूले जिते गुल्मीलाई नमुना जिल्ला बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया