उम्मेदवारका चुनावी प्रतिबद्धतामा शिक्षा

 कात्तिक २७, २०७९ आइतबार १६:५६:३२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि अहिले राजनीतिक दल र उम्मेदवा विभिन्न आश्वासन बाँडेर भोट माग्न व्यस्त छन् । उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्र लिएर घरदैलो र आमसभा गरिरहेका हुन् । जनमत आफ्नो पक्षमा पार्न उनीहरूले महत्त्वकाङ्क्षी आश्वासन बाँडिरहेका छन् । 

चुनावी प्रतिबद्धता पत्रमा सबैजसो उम्मेदवारले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिँदा केहीले भने शिक्षा क्षेत्रलाई पनि समेटेका छन् । उनीहरूले शिक्षाको नीति, कानुनभन्दा पनि पूर्वाधार, संरचना, जनशक्तिलगायतका व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । प्रतिबद्धता पत्र हेर्दा शिक्षा क्षेत्रको महत्त्वकाङ्क्षी योजना अघि सारेर मतदाता रिझाउन खोजेको देखिन्छ । 

सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (क) का लागि एमालेका उम्मेदवार उमालेका यामलाल कँडेलले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा बहुप्राविधिक शिक्षालय स्थापना गरी शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारीकरण गरिने उल्लेख छ । उहाँले मध्य–पश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पसलाई गुणस्तरीय, प्रतिस्पर्धी र उच्च तहको अध्ययन, अनुसन्धान र शाेध केन्द्रको रूपमा विकास गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभएको छ । सामुदायिक विद्यालयका लागि बजेट बढाएर सुरक्षित भवन, आवश्यक जनशक्ति, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक समग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुद, र सरसफाइको उचित प्रबन्ध गर्दै निजी शैक्षिक संस्थालाई पनि व्यवस्थित गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । 

यही क्षेत्रका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर जिसीले प्रत्येक पालिकामा आवासीय विद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा एक पालिका एक नमुना विद्यालय, विद्यालयमा तल्लो तहको कक्षादेखि नै नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु गर्ने, सबै विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने, माध्यमिक तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी रोजगारी सिर्जना गरी आत्मनिर्भर गराउने उल्लेख छ । एक विद्यालय एक नर्स कार्यक्रम, चिङ्खाड र लेकवेशी नगरपालिकामा क्याम्पस स्थापना गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने, सामुदायिक तथा पुस्तकालय अध्ययन केन्द्र्र स्थापना गर्ने उहाँको प्रतिबद्धता छ । 

सुर्खेत क्षेत्र नं. १ प्रदेश सभा (ख) का लागि एमालेका उम्मेदवार डण्डीप्रसाद शर्माले सामुदायिक विद्यालयलाई स्तरोन्नति गर्न पहल गरिनुका साथै सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने, एक पालिका एक नमुना आवासीय विद्यालय सञ्चालन गर्न उल्लेख गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा शिशु स्याहार तथा बाल शिक्षा केन्द्रलाई स्तरोन्नति गरी केन्द्रमा कार्यरत शिक्षक तथा कर्मचारीको सरकारी सेवा सरह हुने गरी सेवा सुरक्षा सुनिश्चित गर्ने उल्लेख गर्नुभएको छ ।  

यही क्षेत्रका लागि नेकपा एकीकृत समाजवादीका उम्मेदवार मोहन बडुवालले पाँच वर्षभित्र सबै विद्यालयलाई टिनको छानोमुक्त बनाउने र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आवासीय क्याम्पसको रूपमा स्तरोन्नति गर्ने, चौकुनेमा वन तथा कृषि विज्ञान क्याम्पस, सालकोटमा पशु विज्ञान क्याम्पस र बराहताल गाउँपालिकामा कृषि क्याम्पस स्थापना गर्ने, माध्यमिक तहमा प्राविधिक शिक्षालाई जोड दिएर पढ्दै कमाउँदै कार्यक्रम गर्ने, शिक्षक दरबन्दी समायोजन तथा पुनर्वितरणका लागि आवश्यक नीति बनाइने पनि उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ । एक पालिका, एक आवसीय विद्यालय स्थापना र जेहेनदार तथा गरिब विद्यार्थीलाई एमबीबीएस (डाक्टर) अध्ययन गर्ने व्यवस्था मिलाउने उहाँको प्रतिबद्धता छ ।  

सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका अमृत बिसीले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्य–पश्चिम विश्वविद्यालय, सुर्खेत बहुमुखी क्याम्पस र विद्यापुर बहुमुखी क्याम्पसलाई गुणस्तरीय शिक्षा, उच्च शिक्षाको अध्ययन अनुसन्धान तथा सोध केन्द्रको रूपमा विकास गरिने, सुर्खेत कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि पहल गर्ने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ । सामुदायिक विद्यालयको बजेट बढाउने, विद्यालयमा पक्की भवन निर्माण गर्ने, आवश्यक शिक्षक दरबन्दी थप गर्ने, शैक्षिक समाग्री, प्रयोगशाला छात्रावास, खेल मैदानको उचित प्रबन्ध गर्ने उहाँको प्रतिबद्धता छ । 

सुर्खेत क्षेत्र नं २ का गठबन्धनका उम्मेदवारहरूले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षाको मुद्दालाई समेटिएको छैन । प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका हृदयरा थानी, प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका कालिप्रसाद शाक्य र प्रदेश सभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका विन्दमान विष्टले सार्वजनिक गर्नुभएको १६ बुँदे प्रतिबद्धता पत्रमा शिक्षाका मुद्दा अटाएको छैन । प्रतिबद्धता पत्रमा सडक, विद्युत्, उद्योग, खानेपानी, पर्यटनलाई प्राथमिकता दिइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया