दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

 कात्तिक २७, २०७९ आइतबार १८:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेकाे एमालेका कायर्कर्ताबीच झडप भएको हो । 

झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । ठगुन्नालाई सामान्य चोट लागेको र धामीलाई धनगढी रिफर गरिएको उहाँले बताउनुभयाे ।

पार्टीकाे चुनावी सभालाई अवरोध गर्ने गरी आम सभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाकाे भनाइ छ । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन् ।

गएकाे २४ गते पनि अपि हिमाल गाउँपालिका ५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । एमाले प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो । त्यस झडपमा दुवै पक्षका चार जना घाइते भएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया