काठमाण्डौ बस्ने मनाङी भोट हाल्न गाउँ फर्किँदै

 मंसिर २, २०७९ शुक्रबार १६:५७:४५ | महेश ज्ञवाली
unn.prixa.net

स्वयम्भूको मनाङ गुम्बाभित्रको एउटा कुनामा मनाङवासीको समूह घाममा माला जप्दै बसिरहेका छन् । केही गुम्बालाई दाहिने पारेर घुम्दैछन् । केही भने बुद्धको मूर्ति अघि घुँडा टेकेर प्रार्थना गर्दैछन् । बाहिर घाम ताप्दै बसेकाहरु चुनावी गफ गर्दैछन् । चुनाव आएसँगै केहीले भोट हाल्न गाउँ जाने योजना बनाउँदै छन् । कोही भने यसपालि गाउँ नजाने अडानमा छन् ।

काठमाण्डौको गैरीगाउँ बस्ने मनाङ नासोँ गाउँपालिकाका अभिप्रसाद पुनेलले गाउँ छोडेको २५ वर्ष पुग्यो । परिवार सबै यतै छन् । यसपालि चुनावमा भोट हाल्न गाउँ जाने तयारी गर्दै हुनुहुन्छ । यहाँबाट गाउँ पुग्न १२ घण्टा लाग्छ । बिहान ६ बजे काठमाण्डौबाट गाडी चढेपछि बेलुका ६ बजे बल्ल तिल्चे पुगिन्छ । लमजुङको बेसीसहरसम्म माइक्रो बस चल्छ ।

बेसीसहरबाट चामेसम्म जीप लाग्छ । घरमा अरुको मतदाता नामावलीमा नाम छैन । आफू र गाउँ वरपरका थप ४० साथीभाइसँगै भोट हाल्न जाने योजना छ पुनेलको । उमेरले ७२ छोयो । गोडाले पनि भर पाउन छाडे ।

तर, पनि उहाँ हरेक चुनावमा भोट हाल्न गाउँ जानु हुन्छ । यसपालि पनि चुनावमा गाउँ जाने तयारी गरिसक्नुभएको छ । ‘गाउँका नेता कार्यकर्ताले भोट हाल्न आउ है भनेका छन् । आफ्नो मताधिकार प्रयोग गर्न अरुले नभने त जानुपर्छ, झन् उनीहरुले निम्तो नै गरेका छन्,’ पुनेल भन्नुहुन्छ ।

हरेक वर्षको जाडोयाममा बेसी झर्ने मनाङका कतिपय बासिन्दा अहिले गाउँमै छन् । चिसो बढी हुने भएकाले स्थानीयवासी बेसी झर्ने गर्छन् । न्यानो खोज्दै बेसी झरेका धेरैले स्थानीय उत्पादनको व्यापारसमेत गर्छन् ।

बेसी झरेकामध्ये धेरै त काठमाण्डौ, पोखरा र चितवन जान्छन् । अरु बाँकी बेनी, बाग्लुङलगायत अरु छिमेकी जिल्ला जान्छन् । केही भारतसम्म पनि पुग्छन् । 

अघिल्ला वर्षहरुमा कात्तिकको पहिलो हप्तादेखि नै मनाङीहरु चिसो छल्न बेसी झर्थे । तर यसपालि चुनावले गर्दा उतै रोकिए । भोट हालेपछि मात्रै बेसी झर्ने धेरैको योजना छ । सहरमै बसाइँसराइ गरेका र यसअघि नै बेसी झरेकाहरु पनि गाउँ फर्कने तयारीमा छन् ।

तर, कस्लाई भोट हालेर के भयो र भन्नेहरु पनि छन् । मतदान नै नगरे उम्मेदवारलाई पनि घच्घच्याउन पाइँदैन । त्यसैले भोट हाल्न मात्रै भए पनि गाउँ जान लागेको बताउनु हुन्छ २५ वर्षदेखि काठमाण्डौ बस्दै आउनु भएका नासोँ गाउँपलिकाका दोर्जे बिष्ट ।

मनाङका ८० प्रतिशतभन्दा धेरै बासिन्दा त सहरमा बसाइँसराइ गरिसके । त्यसैले त्यहाँका उम्मेदवारले पहिले मनाङीको बाक्लो बस्ती रहेको काठमाण्डौ, पोखरा अनि चितवनमा पहिले भोट माग्छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न उम्मेदवारले हेलिकोप्टर नै चार्टर गरेर मतदाता ओसार्ने पनि गरेका छन् ।

भोट हाल्न पनि सजिलै छ । गाउँ गाउँमै मतदान केन्द्र छन् । मतगणना चाहिँ चामे सहरमा हुन्छ । थोरै मतदाता भएकाले हार जित पनि एकै दिनमा थाहा हुन्छ । बेलुका मतगणना सुरु भयो भने अर्को दिन बिहानै हार जित थाहा हुन्छ ।

यसपालि मनाङमा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छेपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सबै उम्मेदवारको एउटै एजेन्डा छ । त्यो हो वर्षको ६ महिना पनि नखुल्ने कोरोला नाका वर्षभरी सञ्चालन गर्ने । त्यसपाछिको प्राथमिकता भनेको मनाङलाई पर्यटकीय केन्द्रका रुपमा चिनाउने । तर यहाँको मुख्य समस्या भनेको बाटो नै हो । 

३० वर्ष पहिलेसम्म मनाङमा बाटो पुगेको थिएन । खाद्यान्न पनि लमजुङबाटै ल्याउनु पर्थ्याे । स्थानीयहरु हिउँदभरी लम्जुङको बेसीसहरबाट खाद्यान्न बोकेर तल्लो मनाङमा थुपार्थे । एकजनाले झण्डै सय किलो भारी बोकेर चार दिनसम्म हिँडनु पर्थ्याे । चैत लागेपछि फेरि तल्लो मनाङको खाद्यान्न उपल्लो मनाङ पुर्याउँथे । त्यसपछि खच्चडमा खाद्यान्न ओसार्ने चलन आयो ।

९ वर्ष पहिले पहिलो चोटी मनाङको चामेसम्म कच्ची बाटो पुग्यो । त्यसको दुई वर्षपछि बल्ल माथिल्लो मनाङमा मोटर बाटो पुग्यो । कच्ची बाटो भए पनि गाउँसम्मै बाटो पुगेकोमा स्थानीयवासी खुसी नै छन् । गाउँमा अहिले खाद्यान्न पनि गाडीले नै लैजान्छ ।

मनाङमा बाटो पुग्यो भन्दा अझै धेरैलाई सपना जस्तै लाग्छ । तर बर्खामा पानी पर्दा पहिरोले बाटो लाने हो कि भन्ने डर छ । तल मर्स्याङ्दी, माथि बाटो । गाडीमा हिँड्न पनि डरलाग्ने । हिँडेरै जान सजिलो हुन्छ । हिँउदभरी बनाएको बाटो बर्खा लागेपछि पहिरोले लाने । चामेका दिलबहादुर घले बताउनुहुन्छ ।

‘बाटो ग्राबेल गरे मात्रै पुग्छ पिच गर्नु पर्दैन । बरु खोलामा वाल उठाइदिए भने पहिरोले लाने सम्भावना पनि कम हुन्छ कि,’ घले भन्नुहुन्छ, ‘बाटो अप्ठ्यारो भयो भनेर एअरपोर्ट पनि बन्यो । तर उड्ने जहाज छैन ।’

गाउँमा बसेकाहरु खेती किसानी गरेरै गुजारा चलाउँछन् । तर धेरै जग्गा बाँझै छन् । बाली लगाए पनि राम्रो उत्पादन हुँदैन । स्याउ, आलु, उवा, गहुँ चाहिँ राम्रै फल्छ । खनीखोस्री गर्ने पनि जिल्ला बाहिरबाट आएकाहरु नै धेरै छन् । त्यसैमाथि वर्षभरिमा एकथरी मात्रै अन्न बाली उत्पादन हुन्छ । जति उत्पादन हुन्छ त्यसले ६ महिना पनि खान पुग्दैन । खेती गर्ने बाहेक अरु भने होटल व्यवसायमा लागेका छन् ।

अलि पहिलेसम्म त केटाकेटी पढाउन पनि लमजुङबाटै शिक्षक खोजेर लैजानु पर्थ्याे । अहिले भने त्यहाँकै स्थानीयले पढाउँछन् । स्वास्थ्य क्षेत्रको अवस्था पनि उस्तै छ । धेरैले त अझै पनि आधारभूत स्वास्थ्य सेवा पाएका छैनन् । सामान्य स्वास्थ्य सेवा पाउन पनि मुश्किल छ । केही समस्या परे काठमाण्डौ ल्याइहाल्नु पर्छ । सेवा उपलब्ध भएका ठाउँमा पनि गुणस्तरीय सेवा हुँदैन । यस्तै कारणले पनि चामेका दिलबहादुर घलेलाई यसपालि भोट खसाल्नकै लागि गाउँ जाने जाँगर छैन ।

नासोँबाट झण्डै एक घण्टा हिडेपछि माथिल्लो मनाङको चामे बजार पुगिन्छ । त्यहाँ चुनावको खासै चासो हुँदैन । सबै जना आफ्नाे रोजीरोटीकै लागि काममै व्यस्त हुन्छन् । गाउँको अवस्था यस्तै भएकाले राम्रो भविष्य खोज्दै बेसी झर्नेको सङ्ख्या धेरै छ । ‘गाउँमा विकास नभएर सहरमात्रै विकास हुन्छ भने सबै सहरमै आउँछन्,’ घले भन्नुहुन्छ ।

दलहरुले चुनावी घोषणापत्रमा गाउँ गाउँमा सहज स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, युवालाई रोजगारी जस्ता आकर्षक नारा समेटेका छन् । दुर्गम क्षेत्रका बासिन्दालाई त यस्ता नारा आकाशको फल जस्तै भएको छ । चुनावको बेला नेता कार्यकर्ता र उम्मेदवारका कुरा सुन्दा देशमा विकासको मूल नै फुट्ने हो कि जस्तो लाग्छ । उनीहरु सुख र समृद्धिको सपना बाँड्छन् । दुःख, कष्ट र हैरानी अन्त्य गर्ने प्रतिबद्धता जनाउँछन् । तर चुनाव सकिसेपछि त्यस्ता आश्वासन, सपना र प्रतिबद्धता व्यवहारमा देखिँंदैन ।

तल्लो मनाङ वरपरको भेगमा ठूलाठूला रमणीय ताल तलाउ छन् । बाटो र यातायात सहज गराउन सके पर्यटकीय ‘हब’ हुने सम्भावना धेरै छ । होटल र गेष्ट हाउस सञ्चालन गर्नसके स्थानीयवासीले पनि रोजगार पाउँथे ।

मनाङ मन नपरेर नगएको होइन । बस्न पनि मन लाग्छ । जस्तो भए पनि सबैलाई आफू जन्मेकै गाउँ ठाउँको माया लाग्छ । त्यसैले राम्रो भविष्य खोज्दै सहर छिरेकाहरु पनि भोट हाल्न मात्रै भए पनि गाउँ जानै परेको छ भन्नुहुन्छ काठमाण्डौ बस्ने तल्लो मनाङका तेन्जिङ गुरुङ ।

तर, गाउँमा कुनै व्यवस्था छैन । शिक्षा स्वस्थ्य रोजगार कृषिमा सरकारको ध्यानकर्षण हुनु पर्छ । सबै खाले सेवा सुविधा पुग्नु पर्छ । उम्मेदवारले जितेपछि गफभन्दा धेरै काम गर्ने हुनुपर्छ ।

‘असल र योग्य प्रतिनिधि छान्ने अवसर हतपति आउँदैन । यो अवसर गुम्न नदिनु सबै मतदाताको पनि कर्तव्य र अधिकार हो । त्यसैले योग्य उम्मेदवार छान्न जसरी पनि गाउँ जानुपर्छ,’ तेन्जिङ गुरुङ भन्नुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया