जुम्ला ‘क’ : कांग्रेस कर्णालीका सभापति शाहीसँग कांग्रेसकै बागी र एमालेको प्रतिस्पर्धा

 मंसिर १, २०७९ बिहिबार १४:२:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – देशभर चुनावको चर्चा छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिएसँगै नेता कार्यकर्तालाई मतदाता भेट्न भ्याइनभ्याइ छ ।

कर्णाली प्रदेशको जुम्लालाई पनि आउँदै गरेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावी सरगर्मीले छोएको छ । जुम्ला प्रदेशसभा ‘क’मा चुनावी प्रतिस्पर्धा रोचक देखिन्छ ।

नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाही यतिबेला प्रदेश सभाको लागि सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशको मुख्यमन्त्री समेतको आकांक्षी रहनुभएका सभापति शाहीको उम्मेदवारीले बलियो अर्थ त राख्दछ तर कांग्रेसकै बागी उम्मेदवारले शाहीलाई केही चुनौती भएको स्थानीय बताउँछन् ।

ललितजंग शाही नेपाली कांग्रेसको संसदीय इतिहासमा यसभन्दा अघि जुम्लाबाट संघमा चुनाव जित्ने एक मात्र व्यक्ति हुनुहुन्छ । वि.स.२०७० सालको दोस्रो संविधानसभाको चुनावमा शाहीले जुम्लाबाट जित् हासिल गरेर संविधानमा हस्ताक्षर गर्ने मौका पनि पाउनुभएको थियो । यस पटक सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’मा उहाँको उम्मेदवारी परेको हो ।

शाहीको उम्मेदवारी परेको क्षेत्र ‘क’मा नेपाली कांग्रेसकै बागी उम्मेदवारी परेपछि चुनाव कसिलो हुँदै गएको छ  । नेपाली कांग्रेसका अर्का नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएर प्रचारप्रसार तीव्र बनाउनुभएको छ । देवेन्द्रबहादुर शाही २०७४ सालको प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्थ्यो । तर उहाँ नेकपा माओवादीका गजेन्द्रबहादुर महतसँग पराजित हुनुपर्यो । अहिले कांग्रेसकै कतिपय जिम्मेवार व्यक्तिहरु खुलेरै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीलाई मत मागिरहेका देखिन्छन् । त्यसैले पनि ललितजंगलाई देवेन्द्र भारी पर्ने देखिन्छन् ।

सत्ता गठबन्धनका उम्मेदवार ललितजंग शाहीसँग नेकपा एमालेका धिरेन्द्र गिरी पनि प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका पुराना नेता गिरी पार्टीभित्र प्रष्ट विचार र आदर्श भएका व्यक्तिको रुपमा चिनिनुहुन्छ । विभिन्न परिवर्तन र जनआन्दोलनमा समेत मुख्य भूमिका खेल्नुभएका गिरीलाई यसपटक एमाले कमजोर अवस्थामा हुँदा टिकट दिएर मैदानमा हुनुहुन्छ । 

प्रदेश ‘क’ गठबन्धनका उम्मेदवार ललितजंग शाहीका अनु्सार आफ्नो उम्मेदवारी विगत संविधानसभाको सदस्य हुँदा रहेका अधुरा कामदेखि जनताका आधारभूत विषय शिक्षा, स्वास्थ्य, सड्क, खानेपानी, रोजगारीको प्रथामिकतामा जोड दिइने बताउनुभयो । आफ्नो उम्मेदवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सशक्त बनाउने, कृषि प्रणालीलाई थप व्यवस्थापन तथा बजारीकरण गर्ने, जुम्लालाई केन्द्र हुनेगरी डोल्पा, जाजरकोट सडक निर्माण गर्ने सहितका विभिन्न काममा जोड दिनुभयो । 

‘म जुम्लाबाट सांसद भएर गएपछि मुख्यमन्त्री हुन्छु त भन्दैन तर आकांक्षी हो, तर पार्टीले जिम्मा दियो भने सरकारको महत्वपूर्ण पदमा रहने छु’, उहाँले भन्नुभयो ।

यस्तै, पार्टीभित्रको लगानी, त्याग, तपस्या र बलिदानीको बेवास्ता गर्दै भनसुन र चाप्लुसीका भरमा नेतालाई टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीको भनाइ छ । जुम्लाको जल, जमिन, जडिबुटी, खानेपानीलगायत जनताका आधारभूत विकासका एजेण्डा बोकेर घरदैलामा गइरहनुभएका शाही दलभन्दा पनि व्यक्ति हेर्ने पक्षमा धेरै मतदाता भएकाले आफ्नो जितमा कुनै दुईमत नरहेको दाबी गर्नुहुन्छ ।

यस्तै, एमालेका तर्फबाट प्रदेश ‘क’ का उम्मेदवार धिरेन्द्रराज गिरी जुम्लाको आर्थिक समृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन, सडक विस्तार र किसानको जीवनसुधार हुने खालको नीति निर्माणमा जोड दिने बताउनुहुन्छ । 

‘नीतिबिना विकास र समद्धि सम्भव छैन । अहिलेसम्म कर्णालीमा यातायातको भाडादर निर्धारण गर्ने, विभिन्न राजस्व उठाउने, स्रोत परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने, निर्यात प्रवद्र्धनजस्ता अत्यावश्यक कानुन बनाउनेछु’, उहाँले भन्नुभयो ।

यस्तो छ अंकगणित

पालिका तह २०७९ मा अध्यक्षको मतको आधारमा नेकपा एमालेको तीन हजार ९ सय ९३ मत रहेको छ । नेकपा माओवादीको सात हजार ३ सय ४६, नेपाली कांग्रेसको नौ हजार ३७५ र एक हजार आठसय १० मतको तथ्यांक छ । यो तथ्यांकमा चन्दननाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीले स्वतन्त्र उम्मेदवारलाई करिब एक हजार मत सहयोग गरेको अनुमान छ । यो मत अहिले नेकपा एमालेलाई सहयोग हुने देखिन्छ । यसका साथै एमाले पातारासी र गुठिचौरमा आफ्नो केही मत बढाउने अनुमान गर्न सकिन्छ । यो तथ्यांक अनुसार सत्ता गठबन्धनको १८ हजार ५ सय ३१ मतमध्ये कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाहीले कति मत काट्छन् त्यसमा भर पर्ने छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया