‘चुनाव बिथाेल्न दिँदैनाैँ, मतपेटिका सुरक्षितरूपमा गणनास्थलसम्म पुग्छ’

 मंसिर २, २०७९ शुक्रबार १८:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यति बेला मङ्सिर ४ गते हुने चुनावकाे स्थिर समय (मौन अवधि) सुरु भएको छ । निर्वाचन आयोग र सरकारले चुनावका लागि सबै तयारी पूरा भएको बताइसकेको छ । चुनावका कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनावका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । 

चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । चुनावकाे सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । 

चुनावमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा न्युज एजेन्सी नेपालले सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।

प्रश्न : चुनावमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बलले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?

उत्तर : चुनावको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा सरकार र निर्वाचन आयाेगले एकीकृत सुरक्षा योजना बनाएकाे छ । एकीकृत सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारी निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा लगायत पर्दछ । समग्रमा भन्ने हो भने चुनावअघि, चुनावकाे दिन र चुनावपछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँगकाे समन्वय र सहकार्यमा सबै जना फिल्डमा खटिसकेको अवस्था छ ।

प्रश्न : चुनावका लागि कस्ता खालका चुनौती आँकलन गरिएकाे ? कसरी विश्लेषण गरिएकाे छ ?

उत्तर : सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै पालिका चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजनाअनुसार शान्तिपूर्णरूपमा, भयरहितरूपमा सम्पन्न गर्‍याैँ । त्यसको अनुभवकाे आधारमा यसपालिको सुरक्षा योजना त्यहीअनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौती आँकलन गरिएकाे छ । आन्तरिक र बाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारण सबै सीमा नाकाहरू चुनावकाे दिनको ७२ घण्टा अगाडिदेखि बन्द गर्नुपर्ने कुरा हिजो रातिदेखि कार्यान्वयनमा आइसकेको छ । हतियार लिएर आपराधिक मनोवृत्तिका मान्छेहरू छिर्न नसकुन र चुनावलाई प्रभाव पार्न नसकुन् भनेर सीमा नाकाहरू बन्द गरेका छाैँ । आवतजावत पूर्णरूपमा बन्द गरी चुनावमा बाह्य प्रभाव नपर्ने व्यवस्था मिलाएका छौँ । अब आन्तरिकरूपमा भन्नुपर्दा, मतदान स्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्याेभन्दा बाहिर हामी हुन्छौँ, नेपाली सेना हुन्छ । मतदाता घरदेखि मतदान स्थलसम्म पुग्ने बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । मतदातालाई ढुक्कसाथ मतदान गर्ने वातावरण बनाउनका लागि सुरक्षा तैनाथी भइसकेको छ ।

प्रश्न : आन्तरिक चुनौतीको कुरा गर्दा चुनाव नै बिथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?

उत्तर : चुनाव कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्न हामीले छुट्टै टिम पनि राखेका छौँ । सूचनाको विश्लेषणअनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरू हुनसक्छ ? भनेर हामीले विश्लेषण गर्छाैँ । मतदान स्थलमा चुनाव बहिष्कार गर्ने समूह आउन सक्छन् र राजनीतिक दलहरूबीच झडपको घटनाहरू पनि हुनसक्छन् । यी घटना सकेसम्म हुन नदिने र भइहाले पनि चुनाव बिथोल्न नदिने, चुनाव स्थगित हुन नदिने गरी हामीले योजना बनाएका छौँ ।

प्रश्न : मतदान स्थलमा मत खसेपछि मतगणना स्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरूको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ?

उत्तर : मतदान सकिएपछि मतपेटिकाहरुलाई सुरक्षितसाथ मत गणनास्थलसम्म पुर्‍याउनका लागि निर्वाचन क्षेत्र–क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले टाेली परिचालन छ । मतपेटिकालाई सुरक्षितसाथ मत गणनास्थलसम्म लैजान्छाैँ । त्यसका लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही अपुग भयो भने पनि पालिका सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसका लागि कुनै समस्या नहुने गरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

प्रश्न : सशस्त्र प्रहरी बलको प्रमुखको रूपमा तपाईंले मतदातालाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?

उत्तर : हाम्रो मुख्य लक्ष्य भनेको यो चुनावलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाे । यसलाई सरकारले महाअभियानको रूपमा लिएको छ । यो अभियानलाई पूरा गर्नका लागि सुरक्षाको तर्फबाट कुनै पनि किसिमको कमजोरी हुन्न । मतदाताले कुनै पनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनु हुने छैन । ढुक्क भएर मतदान गर्ने वातावरण हुन्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया