दैलेखमा ५१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

 मंसिर ४, २०७९ आइतबार १९:५८:१२ | अमर सुनार
unn.prixa.net

दैलेख – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा दैलेखमा ५१ दशमलव ४४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार कुल ८१ हजार ७ सय ८१ मत खसेको छ ।

प्राप्त विवरण अनुसार खसेको मतमध्ये महिलाको सहभागिता ५३ प्रतिशतभन्दा बढी छ । खसेको मतमा महिलाहरुको संख्या ४३ हजार चार सय ५४ र पुरुषतर्फ ३८ हजार ३ सय २७ रहेको छ ।

खसेको मतमध्ये कर्मचारीतर्फ र कारागारका कैदीबन्दी समेत १ सय ७६ जनाले मतदान गरेका छन् । निमामती कर्मचारी, सेना, प्रहरीका १८ महिला र ९६ पुरुष गरी एक सय १४ जनाले मतदान गरेको छन् । त्यसैगरी कारागारका ८ महिला र ५४ पुरुषसमेत ६२ जनाले मतदान गरेका छन् ।

म्यादी प्रहरीका ३ सय ३६, नेपाली प्रहरीका १ सय ५, सेनाका ६७ र सशस्त्र प्रहरीका १ सय १४ र कारागारका ६३ जना कैदीसमेत ६ सय ८६ अस्थायी मतदाताहरु मध्ये १ सय ७६ जनाले मतदान गरेका बताइएको छ ।

सेना–प्रहरीका हकमा अस्थायी मतदाता नामावली यहाँ रहेको भए पनि खटिएको ठाउँबाट मतदान गरेका कारण अस्थायी मतदान केन्द्रमा कम सहभागिता देखिएको हो ।

अस्थायी मतदान केन्द्रमा मतदानमा सहभागी कर्मचारीतर्फ र कारागारका कैदीबन्दीले संघीय संसद प्रतिनिधिसभा सदस्य पदको लागि दलको चुनाव चिन्हमा मत संकेत गर्ने समानुपातिक प्रणाली तर्फ मतदान गरेका थिए । अस्थायी मतदाताहरुले प्रत्यक्षतर्फका उम्मेदवार र समानुपातिकको प्रदेशसभामा मत हाल्न पाइँदैन ।  

प्रतिनिधि सभा सदस्य पदका लागि दुई र प्रदेश सभाका चार पदका लागि यहाँ ३३ जना प्रतिस्पर्धामा छन् । दैलेखमा १ लाख ५८ हजार ९ सय ५८ जना मतदाता छन् । 

स–साना विवाद बाहेक समग्रमा सबै स्थानमा शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्सालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया