ललितपुर २ मा एमालेका महर्जन ४८३ मतले अगाडि

 मंसिर ५, २०७९ सोमबार १०:१:२६ | सुजता सुनुवार
unn.prixa.net

काठमाण्डाै  - ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन ४८३ मतले अगाडि हुनुहुन्छ । ताजा मतपरिणाम अनुसार १० हजार ८८ मत गणना हुँदा एमालेका महर्जनले दुई हजार नौ सय ८० मत ल्याउनु भएको छ । निर्वाचन अधिकृत दिपशिखा मुनाकर्मीका अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चार सय ९७ मत ल्याउनु भएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको एक हजार चार सय ९० मत छ भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का कृष्णलाल महर्जनको एक हजार चार सय ७७ मत छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले एक हजार चार सय २६ मत ल्याउनु भएको छ । यस क्षेत्रमा १२ जना स्वतन्त्र सहित ४२ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

यस्तै ललितपुर क्षेत्र नम्बर ३ को मतगणना भने सामान्य विवादका कारण केही ढिलो भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनु भयो। उहाँका अनुसार विभिन्न राजनितिक दलका प्रतिनिधिले कस्ता मतलाई बदर मत मान्ने भन्ने विषयमा सामान्य विवाद झिकेकाले केही ढिला भएको हो ।

अहिले यस क्षेत्रमा ललितपुरको वडानम्बर २०, २१, २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतगणना भईरहेको छ । मतगणना छिटो गर्नलाई चार ठाउँमा मत गणना भईरहेको छ भने तीन हजार मत गणना गरीसकेपछि मत परिणामको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भयो ।

यस क्षेत्रमा १० जना स्वतन्त्रसहित ४० जना प्रतिष्पर्धामा छन् । यसैगरी ललितपुर क्षेत्रनम्बर १ को पनि मतगणना भईरहेको छ । चार वटा मतदान केन्द्रको मतगणना भईरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनु भयो । उहाँका अनुसार अहिलेसम्म १८ सय मतगणना भईसकेको छ । बाँकी पाँच सय मत गणना गरीसकेपछि मतपरिणाम सार्वजनिक गरिने तयारी छ । यस क्षेत्रमा २६ जना स्वतन्त्रसहित ४८ जना प्रतिष्पर्धामा छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया