गोरखाका २० मतदान केन्द्रमा फेरि मतदान गराउन ११ उम्मेदवारको माग

 मंसिर ५, २०७९ सोमबार १५:३५:४६ | किरण लोहनी
unn.prixa.net

काठमाण्डौ – गोरखाका २० मतदान केन्द्रमा पुनः मतदान गराउन प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले माग गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दलसहित स्वतन्त्र उम्मेदवारहरुले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेका हुन् । 

सोमबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन क्षेत्र नम्बर १ को ६ वटा र निर्वाचन क्षेत्र नम्बर २ को १४ वटा मतदान केन्द्रमा धाँधली भएको उम्मेदवारहरुले दाबी गरेका छन् ।

क्षेत्र नम्बर १ अन्तर्गतका भिमसेन थापा गाउँपालिका १ को बालकल्याण आधारभूत विद्यालय मतदान केन्द्र, यही वडाको बिन्द्रावती माध्यमिक विद्यालय मसेल मतदान स्थलको ३ वटा केन्द्र, पालिकाको वडा नम्बर ८ मा रहेको भिमसेन आधारभूत विद्यालय मतदान केन्द्र तथा धार्चे गाउँपालिका ३ को पार्वती आधारभूत विद्यालय मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको छ । 

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका १ को स्थानीका आधारभूत विद्यालय मतदान केन्द्र, पालुङटार ७ को जीवनज्योती माध्यमिक विद्यालय अन्तर्गतका ३ वटा मतदान केन्द्र, बारपाक सुलिकोट गाउँपालिका ४ को हिमालय माविका ३ वटा केन्द्र, यही वडाको दुर्गा मावि रञ्चोकका २ वटा केन्द्र तथा वडा नम्बर ६ को सूर्यज्योती मावि मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको हो । 

यस्तै क्षेत्र नम्बर २ कै सिरानचोक गाउँपालिका ८ को परोपकार मावि जौवारी मतदान स्थलका २ वटा केन्द्र र अजिरकोट गाउँपालिका ३ को ज्ञानज्योती माविका २ वटा मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उम्मेदवारहरूको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेबाट क्षेत्र नम्बर १ का उम्मेदवार रामशरण बस्नेतले सत्ता र शक्तिको आडमा धाँधली गरिएको बताउनुभयो । कतिपय केन्द्रमा मतदान गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी मुख दर्शक भएर बसेको पनि उहाँको भनाई छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ का उम्मेदवार कवीन्द्र बुर्लाकोटीले अन्य दलका मतदान प्रतिनिधिहरूलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गर्ने, मतदान केन्द्रको ३ सय मिटर भित्रै आचारसंहिता विपरीत काउन्टर राखेर धम्क्याउने, मुचुल्कामा हस्ताक्षर गर्न बाध्य पार्ने जस्ता क्रियाकलाप गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया