अबको संसद् अस्थिर हुने आकलन

 मंसिर ७, २०७९ बुधबार १४:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा चुनावकाे प्रारम्भिक मत परिणाम हेर्दा आउँदाे संसद् अस्थिर हुने आकलन हुन थालेकाे छ । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै ठाउँमा मतगणना भइरहेकाे छ । घोषणा भइसकेका र गणना भइरहेका मत परिणाम हेर्दा ठूला दलका स्थापित नेता पराजित भइरहेका छन् । नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारले अग्रता कायम राखिराखेको अवस्था छ । प्रारम्भिक परिणाम हेर्दा ठूला तथा पुराना दलका नेतालाई पाखा लगाउँदै संसदमा थुप्रै सङ्ख्यामा नयाँ पार्टी र उम्मेदवार आउने अवस्था देखिएको छ । यसले राजनीतिक स्थायित्वमाथि नै प्रश्न चिह्न खडा गर्नसक्ने विश्लेषण हुन थालेको छ । 

आज बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल संसदमा १० वटाभन्दा बढी राजनीतिक दलको प्रतिनिधित्व हुने बताउनुहुन्छ । संसदमा धेरै राजनीतिक दलको प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद् अस्थिर हुनसक्ने उहाँको भनाइ छ । उहाँले संसदमा विं. सं. २०५१ सालपछिको भद्दा राजनीतिक खेल हुनसक्ने टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलो पार्टी त नेपाली कांग्रेस नै हुन्छ । तर समानुपातिकले नेपाली कांग्रेसलाई यो पटक भयानक पछाडि पार्‍याे । राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै लगिदियो कांग्रेसको भोट जति । कांग्रेसलाई तह लगाउन पनि समानुपातिकमा घण्टीमा भोट हाले । समानुपातिकमा निकै माथि आउँछ घण्टी । संसदमा दश वटा पार्टी त निश्चित आउने भए । बहुमत कसैको हुँदैन । ५१ सालकाे चुनावपछिको राजनीतिक संस्कारको त्यही खेल फेरि दोहोरिने खतरा बढेको छ । यो सत्य हो ।’

प्रा. दाहालले सत्तारूढ गठबन्धनले अझै पनि बहुमत ल्याउनसक्ने सम्भावना भने कायम रहेको उल्लेख गर्नुभयो । अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्नसक्ने उहाँको भनाइ छ । यद्यपि याे चुनावमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको भन्दै उहाँले गठबन्धन टुट्न सक्ने पनि बताउनुभयो । गठबन्धन टुटेको अवस्थामा कांग्रेस र एमालेको सरकार बन्नसक्ने उहाँले उल्लेख गर्नुभयो । कांग्रेसबाहेकका शक्तिको सरकार बन्नसक्ने सम्भावनालाई पनि नकार्न नसकिने उहाँकाे भनाइ छ । 

संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चले पनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिने प्रा. दाहालले बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले नयाँ राजनीतिक दलले पुरानो शैलीका कुरालाई दोहोर्‍याउन नहुने बताउनुभयो । वैचारिकरूपमा पनि नयाँ हुनुपर्ने र कर्म, व्यवहार र आचरणले नयाँपन दिन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘वैचारिकरूपमा सशक्त हो कि, वैचारिकरूपमा नयाँ हो कि, कर्मले, व्यवहारले नयाँ हो कि, आचरणले नयाँ हो कि ? योग्यता र सामर्थ्यले नयाँ हो कि ? पुरानै शैलीका जम्मै कुरा दाेहोर्‍याउने अनि भन्ने नयाँ पुस्ता ? यसबाट काम लाग्दैन । नयाँ व्यक्ति र पार्टीलाई मेरो आग्रह छ, चुनाव खर्च र आम्दानी सार्वजनिकरूपमा घोषणा गर्नुपर्छ । स्राेत खोल्नुपर्छ । पारदर्शी हुनुपर्छ ।’

वरिष्ठ पत्रकार दाहालले नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । देशका लागि आवश्यक प्रवृत्तिहरूको विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया