थरुहट आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टी

 मंसिर ८, २०७९ बिहिबार ८:२०:५४ | सीताराम ओझा
unn.prixa.net

कैलाली - स्थापना भएको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा उदाएको छ । गएको वैशाखमा भएको पालिका चुनावमा जिल्लाकै सबैभन्दा ठूलो पार्टी बनेको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा पनि पहिलो सहभागितामै जिल्लाकै पहिलो पार्टी बन्न उन्मुख छ । 

कैलालीको पूर्वी क्षेत्रमा बढी प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको एक निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ भने दुई निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि र प्रदेश सभामा अग्रता कायम गरेको छ। 

कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा 'क्लिन स्वीप' गरेको छ ।  पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी यसअघि नै निर्वाचित भइसक्नु भएकाे छ । 

यसरी उदय भयो उन्मुक्ति पार्टी

निर्वाचन आयोगमा गएको पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता भयो । जसको अध्यक्ष हुनुहुन्थ्यो रञ्जिता श्रेष्ठ । उहाँ निलम्बित सांसद रेशम चौधरीकी श्रीमती हुनुहुन्छ । श्रेष्ठ दल दर्ता गरेसँगै टीकापुर आउजाउ गर्न थाल्नुभयो । उहाँले एकपछि अर्को गर्दै थारु अगुवालाई भेट्न थाल्नुभयो । उहाँले गाउँघरमा भेटघाट बढाउनुभयो । श्रेष्ठको सकृयतासँगै धेरै व्यक्ति पार्टीमा आबद्ध हुँदै गए ।

उहाँले पालिका चुनावलाई मध्यनजर गरेर आफ्ना क्रियाकलाप सुरु गर्नुभयो । उहाँले ग्रामीण बस्तीमा आफ्नो पकड मजबुत बनाउँदै लैजानुभयो । उहाँलाई थारु समुदायलाई टार्गेट गर्नुभयो । हरेक थारु बस्तीमा पुग्नुभयो । श्रीमानलाई न्याय दिनका लागि भन्दै हरेक थारु बस्तीमा अनुनय गर्न थाल्नुभयो । ‘न्यायका लागि एक मत’ भन्ने नारा व्यापक बन्यो । रेशम चौधरीको न्यायका लागि भन्दै गाउँगाउँमा गीत गुञ्जिन थाले । सडक नाटक प्रर्दशन हुन थाले । सभा समारोह आयोजना हुन थाले । 

सुरुमा टीकापुर क्षेत्रमा सक्रिय श्रेष्ठ टीकापुर नगरपालिकामा पार्टीप्रति देखिएको जनलहरले उत्साहित हुनुभयो । उहाँले टीकापुर आसपासका पालिकाहरुमा समेत चासो दिन थाल्नुभयो । भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकामा समेत पालिकाको निर्वाचन लक्षित कार्यक्रम सुरु भए । त्यहाँ पनि त्यस्तै खालको उत्साह देखिन थाल्यो ।

उहाँले चारवटै पालिकालाई लक्षित गरेर चुनावी गतिविधि थाल्नुभयो । सके सबै पालिका नत्र टीकापुर नगरपालिकामा जसरी पनि जित हात पार्ने लक्ष्यका साथ पार्टीले अभियान थाल्यो । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष रहेका रामलाल डगौरा थारु नागरिक उन्मुक्तिका तर्फबाट मेयरका उम्मेदवारका रुपमा अघि सारिनुभयो ।

अध्यक्ष श्रेष्ठले नागरिक उन्मुक्तिको अभियानमा दलित समुदायलाई समेत जोड्नुभयो । उपमेयरमा शिक्षिका उल्कादेवी विकलाई अघि सारियो । विकले मनोनयन दर्ता हुनुभन्दा केही दिनअघि मात्रै शिक्षण पेसाबाट राजीनामा गर्नुभयो । टीकापुर नगरपालिकामा ४२ प्रतिशत थारु मत छ । त्यसमाथि १३ प्रतिशत दलित मत पनि थपियो । दलित मतको जिम्मेवारी सम्हाल्नुभयो पार्टीका केन्द्रिय सदस्य रमेश विकले । उहाँ यसअघि कांग्रेसबाट टीकापुर नगरपालिकाको कार्यपालिका सदस्य रहेका थिए ।

यता भजनी नगरपालिकामा समेत दलित समुदायलाई समेटियो । मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवालाई अघि सारियो । जोशीपुर र जानकी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै थारु समुदायबाटै रहे । जोशीपुरमा अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरियालाई उम्मेदवार बनाइयो । जानकीमा गणेश चौधरी अध्यक्षका रुपमा अघि सर्नुभयाे भने उपाध्यक्षमा लालमतीदेवी कठरियालाई अघि सारियो । यी सबै पालिकामा थारु बाहुल्य मत छ ।  

नागरिक उन्मुक्तिले पालिकामा टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकामा जित्यो । तीन तहमा मेयर उपमेयर जित्दा पार्टीले टीकापुरका हकमा भने उपमेयर गुमाएको थियो । 

पालिकाको पडकले बढ्दो जनलहर 

पालिकाको चुनावमा अप्रत्यासित नतिजाले पार्टीप्रतिको आकर्षण बढ्यो । पालिकामा तहल्का मच्चाएपछि पार्टीमा आउने जनलहर बढ्यो । नेपाली कांग्रेस र नेकपा एमालेका विभिन्न पदहरुमा रहेका नेताहरु पार्टी प्रवेश गर्न थाले । त्यससँगै प्रतिनिधि र प्रदेश सभाको चुनावको मिति तोकिएपछि उन्मुक्तिका चुनावी गतिविधिहरु अघि बढे । प्रतिनिधि र प्रदेश सभामा पहिलो जितको रुपमा कैलाली ३ मा गंगाराम चौधरीले सफलता पाउनुभयो । निर्वाचित भएपछि गंगारामले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासका लागि लड्ने प्रतिबद्धता जनाउनुभयो । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौँ । टीकापुर राजबन्दी रिहाइका लागि हो । दोस्रो एजेण्डा विकास र समृद्धि हो ।’ 

राज्यले न्याय नगरे पनि आमनागरिकले आफूहरुलाई न्याय गरेको उहाँले बताउनुभयो । ‘आमनागरिकप्रति हामी आभारी छौँ । अब सिङ्गो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकारलाई दबाब दिनु प्रमुख एजेण्डा हो । यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौँ’ उहाँले भन्नुभयो ।

२०७४ को चुनावताका राजपामा आबद्ध भइ रेशम चौधरीलाई जिताउन उहाँले अहम भूमिका खेल्नुभयो ।  २०७४ को चुनावभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आबद्ध हुनुहुन्थ्यो । २०७४ को चुनावताका राजपामा आबद्ध भइ रेशम चौधरीलाई जिताउनमा अहम् भूमिका खेल्दै अहिले उहाँ नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी टिकट नदिएपछि राजपामा लाग्नुभएको थियो ।

२०७४ को चुनावी अभियान सम्झिँदै चौधरीले भन्नुभयो, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को चुनावमा रेशम जिताउ अभियान चलायौंँ । प्रवासमा रहेका रेशम दाइको भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत् प्रचार प्रसार गरियो । यहाँसम्मकी मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भर्याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’

के थियो टीकापुर घटना?

२०७२ साल भदौ ७ गते टीकापुर घटना भएको थियो । त्यो  घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । रेशम चौधरीलाई त्यही घटनाको मुख्य योजनाकारको आरोप लागेको छ । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।

उनी घटना लगत्तै भूमिगत भएका थिए । उनले भूमिगत अवस्थामै २०७४ मंसिर २१ गते सम्पन्न निर्वाचनमा कैलालीको क्षेत्र नम्बर १ बाट अत्यधिक बहुमतले जितेका थिए । उनी तत्कालीन अवस्थामा राजपाबाट चुनाव लडेका थिए । उनले चुनाव जितेपछि २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । 

के थिए स्थानीय र प्रतिनिधि तथा प्रदेश सभाको चुनावी मुद्दा ?

टीकापुर घटनापछि कैलालीको पूर्वी क्षेत्रमा थारू र पहाडी समुदायबीचको सामाजिक सद्भाव खलबलियो । थरुहट पक्षले अधिकारको आन्दोलनका क्रममा भएको घटना निर्दोषलाई जेल हालिएको भन्दै विरोध गर्दै आएको छ । टीकापुर घटना राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्ने उसको तर्क छ । ३० वैशाखमा भएको पालिका चुनावमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई प्रमुख चुनावी मुद्दा बनाएको थियो । अहिले पनि त्यही मुद्दालाई प्राथमिकतामा साथ राखेर काम गरिएको थियो ।

रेशमकी पत्नी रञ्जिताले आफ्ना श्रीमान् र टीकापुर घटनामा जेलमा रहेका थारू समुदायका व्यक्तिको न्यायका लागि अनुनय गर्नुभयो । टीकापुर घटनाको ‘न्यायका लागि एक मत’ भन्ने नाराले व्यापकता पायो । यही मुद्दाले नागरिक उन्मुक्ति पार्टीलाई पछिल्ला पटक भएका दुवै चुनावमा ठूलो सफलता मिलेको धेरैको बुझाइ छ । टीकापुरका नागरिक अगुवा भीमराम चपाईँ नागरिक उन्मुक्तिको जितमा रेशमसँग जोडिएको मुद्दाले थारू, पछि परेका जानजातिका मतदातालाई भावनात्मक रूपमा आकर्षित गरेको ठान्छन् ।

‘बाटो, बिजुली, शिक्षा, स्वास्थ्यजस्ता विकासभन्दा पहिचानको आन्दोलनमा हामीमाथि अन्याय भयो भन्ने प्रमुख मुद्दा थियो । रेशमजीसँग जोडिएको भावनाको विषय पनि भयो’ चपाईँँले भन्नुभयो ‘पहिचानको मुद्दाले पछि परेको वर्गलाई पनि जोड्यो ।’ नागरिक उन्मुक्तिले थारू समुदायका मत मात्रै पायो भन्न नमिल्ने उहाँको भनाइ छ । पार्टीका कमिटीहरूमा दलित, पहाडी मूलका व्यक्तिलाई पनि जिम्मेवारी दिइनुले पहाडी समुदायको मत पनि नागरिक उन्मुक्तिलाई तान्न सजिलो भएको चपाईँँको बुझाइ छ ।

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर पनि टीकापुर घटनाको मुद्दाले बहुसङ्ख्यक थारू समुदायलाई आकर्षित गरेको हुन सक्ने बताउनुहुन्छ । पार्टी गठन भएको छोटो समयमै ठूलो उपलब्धि हासिल गर्नुमा पार्टीको नीति, सिद्धान्त, चुनावमा उठाएका विकासका मुद्दाभन्दा भावनात्मक विषयले प्रधानता पाएको देखिएको उहाँकाे बुझाइ छ । ‘टीकापुर घटनामा रेशम चौधरीसहित थारू समुदायका केही व्यक्ति जेलमा छन् । उनीहरूको मुक्तिका कुरा उहाँहरूले उठाउनुभयो । यसले बहुसङ्ख्यक थारू समुदायलाई भावनात्मक रूपमा आकर्षित गरेको देखिन्छ’ कुँवरले भन्नुभयो, ‘टीकापुर घटनाको सहानुभूतिले मतदातालाई आकर्षित गर्यो ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले ०७४ र स्थानीय र अहिलेको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा व्यक्त जनमतले रेशम दोषी होइनन् भन्ने देखाएको बताउनुभयो । चुनावमा आफ्नो पार्टीले टीकापुर घटनालाई प्रमुखताका साथ उठाएको, तर जातीयताका आधारमा चुनाव जित्यो भन्नु गलत भएको उहाँको भनाइ छ । टीकापुर घटनामा थारू समुदायमाथि अन्याय भएको र निर्दोषलाई जेल हालिएको विषय नागरिकलाई बुझाउन खोजेको उहाँले बताउनुभयो । ‘हामीले मूलतः टीकापुर घटनाको विषयलाई उठायौँ । योसँगसँगै विकासका मुद्दा पनि थिए’ उहाँले भन्नुभयो, ‘रेशमजीकै पहलमा यो पार्टी गठन भएको हो । उहाँलाई साथसमर्थन गर्नेहरूले हामीलाई सहयोग गरे ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया