मैतीदेवीकाे प्रहरी बिटमा काठमाण्डाै महानगरकाे डोजर
माघ २४, २०७९ मंगलबार
पर्वत - पर्वतमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेश सभा १ मा भक्त कुँवर र प्रदेश सभा २ मा मित्रलाल बस्याल विजयी हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्नु भएको हाे। गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार ६ सय ९ मत ल्याउनुभयो ।
प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गर्नुभयो । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गर्नुभयो । उहाँहरुको बीचमा २ हजार ३ सय ३९ मतको अन्तर रहेको छ ।
प्रदेश सभा-२ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मतल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गर्नु भएको छ । तिवारी र बस्यालका बीचमा १ हजार ९ सय २२ मतको अन्तर भएको छ । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।