आफ्नाे पराजय भुलेर प्रतिस्पर्धीकाे जितमा खुसी साट्नेहरू

 मंसिर ९, २०७९ शुक्रबार १९:४०:२९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मत परिणाम आउने क्रम चलिरहेको छ । जित्नेहरू फूलमालासहित विजयी उत्सव मनाउन र बधाई थाप्न व्यस्त छन् । हार्नेहरू निराश छन् र हारको समीक्षामा लागेका छन् । कतिपय उम्मेदवार हार्ने पक्का भइसकेपछि मतगणना स्थलबाट बाहिरिए र जितेकालाई बधाईसमेत नदिइकन आफ्नो बाटो लागे ।

तर चुनावमा कतिपय उम्मेदवार यस्ता पनि भेटिए जसले आफू नै जितेजस्तै गरी खुसी भावमा जित्नेलाई बधाई दिएका छन् । अनि कतै कतै त जित्ने उम्मेदवारको विजयी र्‍यालीमा पुगेर फराकिलो मन देखाएका छन् । अहिले यस्तै भिडियो र फोटो सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । हार्ने र जित्नेबीच भएका केही रोचक गतिविधि यस्ता छन्–

रामकुमारी झाँकीले गोकर्णलाई दिएको बधाईको चर्चा

गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई हराउनुभयो । दुई वर्ष अघिसम्म दुवै जना नेकपा एमालेमा भए पनि अहिले फरक पार्टीबाट चुनावमा प्रतिस्पर्धी बन्नुभयो । चुनावको नतिजा सार्वजनिक भएसँगै रामकुमारी झाँक्री बधाई दिन पुग्नुभयो । चउरमा उभिएका विष्टलाई बधाई दिन पुग्नुभएकी झाँक्रीले फूलमाला र खादा लैजानै पाउनुभएको थिएन । उहाँले हँसिलो अनुहारमा भन्नुभयो, ‘भित्र आइसकियो केही ल्याएकै छैन, यहाँ त माला पनि पाउँदो रहेनछ, यहाँलाई बधाई छ एकैछिनमा खादा आउँछ र लगाइदिनुपर्ला ।’

जवाफमा गोकर्ण विष्टले भन्नुभयो, ‘कसले जित्यो भन्दा दाइले जित्यो । चुनाव यस्तै हो हार/जित चलिरहन्छ ।’

झाँक्रीले फेरि भन्नुभयो, ‘मलाई त खुसी नै लागिरहेको छ, खासै केही भएको छैन ।’ 

त्यसपछि दुवै जनाले हात मिलाए । वरपर रहेका सबै जना हाँसिरहेका थिए । 

गुल्मी १ मा पनि उस्तै रमाइलो : भण्डारीलाई बधाई दिँदै ज्ञवालीले भन्नुभयो, ‘फुटबल चलिरहेको छ, २/२ गोल भयो’

नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ २०६४ सालदेखि एमाले नेता प्रदीपकुमार ज्ञवालीसँग चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएका भण्डारी २०७० र २०७९ गरी दुई पटक विजयी बन्नुभएको हो । ज्ञवालीले मतगणना स्थलमै पुगेर भण्डारीलाई खादा ओढाएर बधाई दिनुभयो । भण्डारीलाई बधाईको अवसरमा हार्दिकता साट्दै उहाँले ‘फुटबल चलिरहेको छ, दुई/दुई गोल भयो’ भन्दै ठट्यौली पारामा कुराकानी गर्नुभएको थियो । 

यस क्षेत्रमा ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो । ज्ञवाली भण्डारीसँगको प्रतिस्पर्धामा २०६४ र २०७४ मा विजयी हुनुभएको थियो । 

शान्ता चौधरीले आफ्नै निधारको टीका मेटमणिलाई लगाइदिँदा‍... 

गुल्मीमा जस्तै रमाइलो दाङ क्षेत्र नम्बर १ मा पनि भयो । एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले चुनाव जितेपछि शान्ता चौधरी बधाई दिनु पुग्नुभयो । तर अबिर थिएन । शान्ताले आफ्नै निधारको अबिर मेटमणिलाई लगाइदिनुभयो । अबिर लगाइदिँदा शान्ताले भन्नुभयो, ‘मेरै अबिर लगाइदिन्छु तर मेरै भाग्य पनि यतै जाला गाँठे ।’ वरपर हाँसो गुञ्जियो । 

त्यसपछि शान्ता चौधरीले खादा लगाएर बधाई दिनुभयो । नागरिकसँग गरेका वाचा पूरा गर्न, आफ्नो निर्वाचन क्षेत्रमा बेला बेला पुगिरहन र लुम्बिनी प्रदेशको राजधानी दाङमा पूर्वाधार बनाउन उहाँले आग्रह गर्नुभयो । शान्ताले हँसाउन सुरु गर्नुभयो । ‘धेरै जनताले नेताहरू चुनाव जितेपछि आउँदैनन् भन्ने गुनासो गर्छन्, गुनासोबाट मुक्त हुनु, सके मन्त्री बन्नु... त्यसपछि हाँसो फैलियो । 

छेउबाट एक जनाले उपप्रधानमन्त्री या प्रधानमन्त्री बन्ने शुभकामना पनि दिनुहोस् दिदी भने । तर शान्ताले भन्नुभयो, ‘प्रधानमन्त्री त भन्दिन मैले, यिनी प्रधानमन्त्री बन्दैनन्, मैले नहुने कुरा गर्दिन ।’ 
चुनावमा भएको हार/जितलाई शान्ताले मेटमणिलाई दिएको रोचक बधाईले बिर्साइदियो । 

विशाल भट्टराई हारेर पनि विजयी जुलुसमा

खोटाङमा नेकपा माओवादीका रामकुमार राईले नेकपा एमालेका विशाल भट्टराईलाई हराउनुभयो । तर हारेर पनि विशाल भट्टराईले रामकुमार राईलाई बधाई दिनुभयो । उहाँ त विजयी भएका रामकुमार राईको विजयी यात्रामा पनि सहभागी बन्नुभयो । उहाँको धेरैले तारिफ गरेका छन् । 

महेश बस्नेतको धन्यवाद र्‍याली

यो चुनावमा धेरैले चासोको साथ हेरेको निर्वाचन क्षेत्रमध्ये भक्तपुर २ पनि थियो । जहाँ एमालेका नेता महेश बस्नेत र कांग्रेसका नेता दुलर्भ थापाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा कांग्रेसका दुर्लभ थापाले जित्नुभयो । तर विजयी भएका दुर्लभ थापाले विजय र्‍याली गर्न नपाउँदै महेश बस्नेतले धन्यवाद र्‍याली गर्नुभयो । उहाँले आफूलाई मत दिएका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिनुभयो । हारेका उम्मेदवारले चुनावी प्रचारको बेलाजस्तो घरदैलोमै पुगेर बधाई दिएको दृश्य नौलो देखियो । 

सोमप्रसाद पाण्डेय र ठाकुर गैरेबीचको सद्भाव

पाल्पामा चार पटकसम्म जितेका सोमप्रसाद पाण्डेयले यो पटक चुनाव हार्नुभयो । दुई वर्ष अघिसम्म एउटै पार्टीमा रहेका दुई नेता अहिले फरक पार्टीबाट चुनावमा जानुभयो । गैरेले सोमप्रसाद पाण्डेको विरासत भत्काउनुभयो र चुनाव जित्नुभयो । चुनाव जितेपछि सोमप्रसाद पाण्डेयले गैरेलाई खादा लगाएर अँगालो मार्नुभयो । दुवै नेताले धेरैबेरसम्म हात मिलाए र छुट्टिए । यो दृश्यले धेरै जना खुसी भए, कतिपय भावुक पनि देखिन्थे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Denice Pariyar

    Nov. 25, 2022, 8:29 p.m.

    चुनाबमा हारजित सामान्य कुरा हो, जो जसले जिते - हारे पनि बिकास र सामाजिक न्यायको अभियानमा सङ्गै सहभागी हुनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया