मतगणना भइरहेका १५ वटा क्षेत्रको नतिजा आउन बाँकी : ३ वटा क्षेत्रको गणना अन्योल

 मंसिर १०, २०७९ शनिबार १२:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ वटा क्षेत्रमध्ये अब १५ वटाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । प्रदेश एकका इलाम, मोरङ, सुनसरी गरी ७ वटा क्षेत्र तथा मधेस प्रदेशमा ४ वटा क्षेत्रको नतिजा आउन बाँकी छ । बाग्मतीको रामेछाप, लुम्बिनीको रुपन्देही–३ र कर्णालीको मुगु जिल्लाको गणना भइरहेकाे छ ।

इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालबीच प्रतिस्पर्धा छ । एमालेका बस्नेत १७ हजार ५ सय ५ मतसहित अगाडि हुनुहुन्छ । खनालले १४ हजार ८ सय ६४ मत ल्याउनुभएको छ ।

इलाम–२ मा एमालेका सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा छ । नेम्वाङले २७ हजार ८१९ र खड्काले २७ हजार ६८५ मत ल्याउनुभएको छ । सुनसरीको ४ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेकाे छ । सुनसरीका ४ मध्ये ३ वटामा नेकपा एमाले र क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ अगाडि हुनुहुन्छ । क्षेत्र नम्बर २, ३ र ४ मा एमाले अघि छ । सुनसरी २ मा एमालेका भीम आचार्य र सीताराम महतो, सुनसरी–३ मा एमालेका भगवती चौधरी र कांग्रेसका विजय गच्छदार र सुनसरी–४ मा एमालेका जगदीश प्रसाद कुसियत र कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै, मोरङ–१ मा एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बुबीच प्रतिस्पर्धा भइरहेकाे छ । मधेस प्रदेशमा अन्तिम नतिजा आउन बाँकी ४ मध्ये एक वटामा नेपाली कांग्रेस, दुई वटामा माओवादी केन्द्र र एकमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।  धनुषा–४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ ।     

धनुषा–१ मा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्कीले अग्रता कायम गर्नुभएको छ । सर्लाही–२ मा महेन्द्रराय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं–१ मा गिरिराजमणि पोखरेल अगाडि हुनुहुन्छ । बाग्मतीको रामेछाप जिल्लाको नतिजा बाँकी छ । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ र एमालेका कैलाशप्रसाद ढुङ्गेलबीच प्रतिस्पर्धा भइरहेको छ । धादिङ–२ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा छ ।

कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ६५७ मतसहित अगाडि हुनुहुन्छ । एमालेका खेमप्रसाद लोहनीले २४ हजार १४२ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै, लुम्बिनीको रुपन्देहीको क्षेत्र नम्बर–३ मा गणना भइरहँदा गृहमन्त्री बालकृष्ण खाण पछाडि पर्नुभएको छ । त्यहाँ राप्रपाका दीपक बोहराको अग्रता छ । 

कर्णालीको मुगुमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ । मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित भएको छ । उहाँ १२ हजार ८९३ मत प्राप्त गरी अगाडि हुनुहुन्छ । शाहीका प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले ९ हजार ८५४ मत ल्याएर पछ्याइरहनुभएको छ । शाही र कार्कीको मतान्तर ३ हजार ३९ छ । खसेको मतमध्ये गणना हुन बाँकी २ हजार ६५७  मत मात्रै छ ।

बाजुरा, दोलखा र स्याङ्जामा विवादले गणना सुरु भएको छैन । एक/एक क्षेत्र रहेको बाजुरा र दोलखा तथा स्याङ्जाको क्षेत्र नम्बर–२ मा गणना सुरु हुन नसकेको हो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया