कालीकोटमा पहिलो पटक शान्तिपूर्ण चुनाव, फर्किए सुरक्षाकर्मी

 मंसिर ११, २०७९ आइतबार ७:३८:३७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – हरेक चुनावमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको छ । सुरक्षाकर्मीको उच्च सुझबुझ र सतर्कताले जिल्लाभर कुनै घटना नभएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

शर्माले चुनावमा खटिएका नेपाली सेना, सशस्त्र र जनपदसहित म्यादी प्रहरीलाई सदरमुकाम मान्मबाट बिदाइ गर्दै शान्तिपूर्ण चुनाव हुनुमा सुरक्षाकर्मीको उच्च सतर्कता नै प्रमुख कारण भएको बताउनुभयो । भौगोलिक रुपमा विकटता छ । यहाँका नागरिकमा कुनै छलछाम छैन ।

२०४८, ०५१ र ०५६ सालको चुनावमा कांग्रेस, एमाले, मालेका कार्यकर्ताबीच कुटाकुट भएको कालीकोटमा ०६४ सालमा विभिन्न ९ ठाउँमा माओवादीले बुथ कब्जा गरेको आरोप लागेको थियो । ०७० सालमा सेवा सुविधाको बारेमा सदरमुकाममा आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीले ज्यान गुमाउनु भएको थियो ।  

०७४ सालको पालिका चुनावमा नरहरिनाथ ६ माल्कोटमा रहेको नन्दादेवि मावि मतदान केन्द्रमा मतपेटिका जलाउन लाग्दा प्रहरीको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गयो । अन्य ३ जना घाइते भए । 

वैशाखको पालिका चुनावमा चन्द समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरेको कालीकोटमा रास्कोट, पचालझरना लगायतका केही मतदान केन्द्रमा धाँधली भएपछि पुनः चुनाव  गर्नु परेको थियो । 
यस पटक जिल्लाभर चुनाव शान्तिपूर्ण भएको निर्वाचन पर्यवेक्षण संस्था नियोकका जिल्ला अध्यक्ष तथा पत्रकार तुलाराम पाण्डेले बताउनुभयो ।  चुनावको समयमा यस पटक भने जिल्लाभर कुनै पनि हिंसात्मक गतिविधि भएनन् ।

चुनावको  सुरक्षा संवेदनशीलता हेरेर जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति बनाएको थियो । प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालका अनुसार सुरक्षा समितिले चन्द समूह र जाँडरक्सी प्रमुख सुरक्षा चुनौतीको रुपमा लिएको थियो । सुरक्षा समितिले तय गरेको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र, जनपद र म्यादी प्रहरी परिचालन गरिएको थियोे ।

कठिन भूगोल र चन्द समूहको प्रभाव क्षेत्र मानिएकोमा सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्दा कुनै हिंसात्मक गतिविधि हुन नपाएको डीएसपी रिमालले बताउनुभयो । 

सुरुमा जिल्लामा उम्मेदवार र मतदातामा एक खालको त्रास देखिन्थ्यो । डीएसपी रिमालले भन्नुभयो : ‘सबै पक्षसँग समन्वय गरेर निष्पक्ष रुपमा प्रस्तुत हुँदा कुनै घटना हुन पाएन ।  उहाँले पालिकाका प्रमुख सुरक्षा संवेदनशील क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरीसहितको सुरक्षा घेराले मतदाताले सुरक्षित महसुस गरेर मतदान गरेको सुनाए ।’

सुरक्षा चुनौतीको रुपमा रहेको जाँड रक्सीलाई चुनाव अवधिभर प्रतिबन्ध लगाइएको थियो । चन्द समूहसँग जिल्लाका सुरक्षा अधिकारी निरन्तर सम्पर्कमा रहेर समन्वय गर्नाले विस्फाेट लगायतका गतिविधि नभएका हुन् ।  

कालीकोट जिल्लामा सत्ता गठबन्धनका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चा एकातिर र अन्य पार्टी एकातिर भएपछि गठबन्धनसँग मुकाविला गर्ने भौतिक शक्ति नभएकाले चुनाव शान्तिपूर्ण भएकाे हो।

भौगोलिक विकटता र सुरक्षा चुनौतीका कारण मतपेटिका ल्याउन ढिलाइ हुँदा दुई दिनपछि मात्र मतगणना सुरु गरिएको थियो । चुनाव शान्तिपूर्ण भए पनि मतपेटिका आउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत भरत लम्साल बताउनुभयो । पहिलो पटक चुनावको प्रचार प्रसार, मतदान र मतगणना सबै काम शान्तिपूर्ण रुपमा भएको भन्दै त्यसका लागि लम्सालले कालीकोटवासीलाई धन्यवाद दिनुभयो । 

८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा १ सय २४ मतदान केन्द्र थिए । जिल्ला सुरक्षा समितिले यहाँका ७४ मतदान केन्द्रलाई अति संवेदनशील, ३६ मतदान केन्द्रलाई संवेदनशील र १४ वटा मतदान केन्द्रलाई सामान्य भनेर वर्गीकरण गरेको थियो । अतिसंवेदनशील मतदान केन्द्रमा कुनै खालको हर्कत भए गोली चलाउने आदेशसमेत दिइएको थियो ।

मतदान केन्द्र र मतपेटिकाको सुरक्षाको लागि काठमाण्डौ, नेपालगञ्ज, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट आएका नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी सम्बन्धित ठाउँमा फर्किएका छन् । कालीकोट जिल्लाबाट भर्ना गरिएका एक हजार म्यादी प्रहरीको पनि शुक्रवार बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया