संसद बैठकको पहिलो दृश्य - रवि र ज्ञानेन्द्र छक्क, अरु अक्क न बक्क !

 मंसिर ११, २०७९ आइतबार १३:३४:८ | मिलन तिमिल्सिना
unn.prixa.net

केटाकेटी पहिलो दिन स्कुल पुगेझैं घण्टीवाला सांसदहरु संसदको घण्टी बज्न एक घण्टा अघि नै संसद भवन छिरे । आफूहरुको लागि छुट्याएर बसेको कुर्सीमा फूर्तिका साथ बसे । जुम्लाबाट गलाभरि माला भिरेर आइपुगेका ज्ञानेन्द्र शाही हस्याफस्याङ गर्दै भित्र छिरे । अनि शालिनताका साथ सप्तरीबाट आइपुगे सिके राउत । कैलालीबाट चुनाव जितेका रेशम चौधरीको पार्टीका नयाँ अनुहारहरु यताउता पल्याकपुलक हेर्दै भित्र छिरे । अनलाईन र फेसबुकमा देखेका अनुहार आँखै अघि देखेपछि एक–अर्कातिर फर्किएर मुस्कुराए । 

त्यसपछि आइपुगे माधव नेपाल र प्रचण्ड । जता फर्के पनि अर्कै पार्टीका मान्छे । आफ्नातिरका मान्छे निकै कम । अलि धेरै ल्याउन पाइन्छ कि भनेर देउवाको रुख समाएको, तर रुखले आफूहरुलाई छहारी मात्र दियो, हरियाली अरुलाई नै दियो । आफ्नाहरु कम भएपछि नेपाल र दाहालको अनुहार उदास भयो । दुवै उदास अनुहार कुनातिरको कुर्सीमा गएर बसे ।

अनि टोपी मिलाउँदै, हात जोड्दै, जुंगा नभएको मुखमा ताउ लगाउँदै भित्र छिरे शेरबहादुर देउवा । नयाँ अनुहारलाई पल्याकफुलुक हेरे, अनि सिधै प्रचण्ड र नेपाल बसेको कुनातिर पुगेर हात जोडे । प्रचण्ड र नेपालले पनि हात जोडे तर मुख अर्कैतिर फर्काए । देउवा मुस्कुराउँदै आफ्नो कुर्सीमा पुगे ।

सबैजना आ-आफ्ना सीटमा बसेपछि दाहिने हात तथास्तु मुद्रामा उचालेर अन्तिममा संसद छिरे केपी ओली । अनुहार प्रचण्ड र नेपालको जस्तै फिक्का उदास भए पनि बनावटी चमकसहित नयाँ अनुहार भएकाहरुतिर गए । उनलाई आँखै अगाडि देखेपछि नयाँ र युवा सांसदले बाउ र हजुरबाउलाई गर्ने मान सम्झेर नमस्ते गरे । नमस्ते खाएर ओली गमक्क परे ।

अनि मुखमा गम्भीरता धारण गरेर उही उखाने शैली निकालेर मसिनो स्वरमा भने ‘लौ यो संसदमा पनि केटाकेटी र लैनापाडा देख्छु त । अस्तिसम्म हामीले फुटबल खेल्दा मैदानबाहिर मोजाको भकुण्डो गुडाउँदै गरेका तपाईंहरु अहिले हामीसँगै मैदानभित्र आउनु भएछ । हैन तपाईंहरु आ-आफ्नो काम छाडेर किन आएको हँ ? अचम्म लाग्छ बा ।’

ओलीको बोली सुन्नेबित्तिके उताबाट देउवाले थपे, ‘हामीले के के न खाए भनेर डाह लागेर आएका होलान् नि । हेरौंला नि के के खाँदा हुन् ।’ 

‘जाँच दिन आएको । लाज पचेका नकचराहरूलाई टुंडिखेलमा राखेर एक एक किक हान्न मन छ, त्यो पनि उडी उडी नाकको डाँडी भाँचिने गरी’ रवि लामिछाने कड्किए ।

‘अनि उतै टुंडिखेल पो जानुपर्छ त, के खान संसद छिरेको ?’ ओलीले जवाफ फर्काए ।

‘टुंडिखेलमा तपाईंहरु भेटिनु पनि पर्यो नि । त्यसैले खोज्दै यहाँ आएको नि’ रविको छेउतिर बसेकी डाक्टर बोलिन् ।

‘ए तिमी त अलि वर्ष पहिले मलाई साझा सवालमा हायलकायल पार्ने नानी होइनौ ? उसैगरी हायलकायल बनाउने सागर भन्ने ठिटो सुई बोकेर निहुँ खोज्दै डडेलधुरा पुगेको थियो । धन्नै घोचेको थिएन सुईले’ देउवाले पछिल्तिर सुम्सुमाए ।

‘झाँक्री आउने ठाउँमा डाक्टर आइन्, ठिकै त भयो नि’ ओली बोले ।

‘हैन ओलीजी के को डाक्टर र झाँक्रीको कुरा गर्नुहुन्छ ? एमालेको कति सीट आउँछ भन्नुभएको थियो रे ? मिल्यो ? चुनावअघि बोलेको फुटेज सुनाउँ ?’ प्रचण्ड उठेर आए ।

‘ए लामिछाने भाइ, तिम्रो नाम के रे ?’ प्रचण्डको कुरा सुनेर ओली रवितिर फर्किए ।

‘थाहा छँदैछ नि तपाईंलाई रवि भन्ने ।’

‘अनि रवि भनेको के हो ? सूर्य । सूर्य कसको चुनाव चिन्ह ? एमालेको । रवितिरका सबै भाइबहिनी हाम्रै भए । अनि उ त्यहाँ कुनातिर मुख फर्काएर बसेका माधवजीहरु हामी पनि पहिले त सूर्य कै भन्नुहुन्छ, तपाईं पनि सूर्य ! माधवजीले त बिर्सेर सूर्यमै भोट हाले रे भन्ने पनि सुनेको हो । खैर माधवजीहरुलाई पनि सूर्य कै माने भयो । अनि लिङ्देनजीहरुलाई एमालेले नै जिताएको हो । उ सिके राउतलाई मूलधारमा ल्याएको मैले नै हो । मेरै कारण उहाँ यहाँसम्म आइपुग्नुभयो । उहाँहरु पनि हाम्रै मान्छे । अनि सबै जोड्दा पुगेन त हिसाब ?’ ओलीले १० ठाउँमा केरमेट गरेको जोडघटाउको हिसाब भएको कागज देखाए ।

‘हामीलाई अपमान भयो, मान पुगेन । तिम्रो एक्स, अनि हाम्रो एस पार्टीलाई आफ्नो भन्न लाज लाग्दैन ?’ माधव नेपाल कड्किए ।

‘अपमान त कसले गर्यो होला ? देउवाजी भन्दिनुस् त ?’ ओली देउवातिर फर्किए ।

‘क..कसले अपमान गर्यो ? ए बाबा माधवजीहरुलाई कसले जिताएको ? समानुपातिकको मत हेर्नुस् त । यति मान्छे पनि हामीले ल्याइदिएको हो । कुरा गर्नुहुन्छ’ देउवा झोंक्किए ।

देउवाको कुरा सुनेपछि माधव नेपालले प्रचण्डतिर हेरे र कुनातिर फर्केर चुपचाप बसे ।

‘हैन यहाँ काम पनि गर्ने हो कुरा मात्रै हुन्छ हँ ? दलालहरु, चोरहरु, आतंककारीहरु, सबैको गलामा दाम्लो लगाएर झुण्ड्याउन आएको हुँ म’ अघिसम्म चुपचाप बसेका ज्ञानेन्द्र शाही एक्कासि कड्किए ।

‘दलाल, भ्रष्टाचारीहरुलाई त झुण्ड्याउने होइन, उडी उडी नाकको डाँडी भाँचिने गरी हान्ने हो । त्यो पनि मैले, अरुले छुन पाउँदैन’ रविले झनै ठूलो स्वरमा बोले ।

‘तिम्रो मात्रै ठूलो स्वर ? तिम्रा पछिल्तिर मात्रै मान्छे छन् ? हाम्रा देखेनौ ? तिमीले हैन मैले गर्ने हो यी सबै काम ?’ शाहीले औंला ठड्याए ।

‘तिम्रा धेरै कि मेरा धेरै मान्छे ? तिम्रो स्वर राम्रो कि मेरो ? तिमीले टेलिभिजनमा कहिल्यै बोलेका छौ ?’ रविले सातो लिए ।

‘ए भाइ हो तिमीहरु मात्रै छौ यहाँ ? हामीलाई देखेनौं ? नासाको वैज्ञानिक हुँ । बनाउने काम मैले गर्छु ।  टुक्र्याउन परे पनि मै टुक्र्याउँछु । पहिले मधेश टुक्र्याउनुपर्छ भनेर हिँडेको मान्छे हो ? चिनेका होलाउ नि ?’ सीके राउत कड्किए ।

‘सीकेजी धेरै नकड्किउँ । अरु साथीहरु पनि उम्लिन आवश्यक छैन । हामीलाई पनि पहिले यहाँ आएपछि के के न गरौंलाजस्तो लाग्थ्यो । मने २०६४ सालमा हामी कत्रा थियौं, तपैंहरुलाई थाहा छँदैछ । के के न गर्छु भनेर यहाँ आएको, यी अहिले सानो भएर खुम्चिनुपरेको छ । तपैंहरुको हालत पनि हुने त्यही हो । नआउनुपर्ने आइहाल्नुभयो, हामीलाई समेत खुम्च्याउनुभयो । बरु मिलेर सरकार बनाउँ, बाँडीचुँडी खाउँ’ प्रचण्डले भने ।

‘सरकार बनाउने रे कसको नेतृत्वमा ?’ सरकारको कुरा सुन्नेबित्तिकै देउवाले कान ठाडो पारे ।

‘मेरो नेतृत्वमा । सुन्नुभएन चुनावताका मैले भाषण गरेको ?’ गगन आइपुगे ।

‘हैन हैन, प्रधानमन्त्री हुने पालो त मेरो हो’ गगनको पछिपछि आएका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले हानथाप गरे । 

‘नाम सुब्बिनी, कसरी उभ्भिनी भनेजस्तो । चाइनेजो नाम मात्रै कांग्रेस भएर के गर्नु, चार–पाँचवटा ढोंड टेकेर हिँड्नुपर्या छ । त्यहाँमाथि प्रधानमन्त्री बन्न लर्को । खान मात्रै जानेकाहरु । जनताको त डर मानेनौ मानेनौ, यहाँ आइपुगेका यी नयाँ साथीहरुको त लाज मान्नु नि’ चित्रबहादुर केसीले तीतो पोखे ।

‘हो नि चित्रबहादुरजीले त खानै जानुहुन्न । अब सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यको हैसियतले तपाईंले नि अध्यक्षता गर्नुपर्ने होला । कि त्यो पनि खानुहुन्न ?’ ओलीले चित्रबहादुरतिर हेरे ।

‘त्यो त किन नखानु, मुखमै आएको कुरा पनि कसैले खान्न भन्छ ?’ चित्रबहादुरले सभामुखको कुर्सीतिर हेरेर मुख मिठ्याए ।

‘सबैभन्दा जेठोले नै अध्यक्षता गर्नुपर्छ भन्ने के छ ? अलिकति क्रमभंग गरौं न । सबैभन्दा कान्छा सदस्यले गरौं, हाम्रोमा हुनुहुन्छ’ रविले सोवितालाई देखाए ।

‘रविजी मने यस्तो क्रमभंग हामीले धेरै गर्न खोजेको हो, हुँदो रहेनछ । त्यसैले जेजे चल्दै आएको छ, त्यसै गरौं । जनताका कुरा पनि गरौं । मिलेर बाँडीचुँडी पनि खाऔं । यसमै हाम्रो हित हुन्छ’ प्रचण्डले भने ।

‘हैन त्यसरी त हुँदै हुन्न, अब तिमीहरुले गर्दै आएको यहाँ केही पनि चल्दैन । नयाँ तरिकाले हुन्छ’ ज्ञानेन्द्र शाही कड्किए ।

‘त्यस्तो नयाँ शैलीमा काम गर्न सक्ने क्षमता मसँग मात्रै छ’ सीके राउतले नाक फुलाए ।

‘नयाँ ढंगले त हामीले गर्न सक्छौं, जनताले हामीलाई नै धेरै पत्याए । त्यसैले अरु चुप लागेर बस, हामी गर्छौं काम’ रवि जुरुक्क उठे ।

‘तपाईंहरुले सक्नुहुन्न क्या, फेरि हामी ट्राइ गर्छौं’ प्रचण्डले भने ।

‘बोलेर मात्रै हुन्छ ? बोलेर मात्रै हुने भए ओलीजी र प्रचण्डजीले उहिल्यै गरिसक्थे । नबोलेर पनि काम गर्ने भनेको मैले मात्रै हो । तिमीहरु बढ्ता नबोल’ देउवा झोंक्किए ।

सबैको कुरा सुनेपछि ओलीले सूर्य थापातिर फर्किएर भने, ‘ती भ्यालु कि भेलु के नामका बाजे रे..? तिनी पनि संसदमा आए भने त झन् रमाइलो पो हुन्थ्यो क्यारे । दुई हजारमा मान्छन् भन्या होइन ? बोलाउने त एकपटक ?!’

अन्तिम अपडेट: माघ ६, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

3 Comments

  • surya shuvachintak

    Dec. 7, 2022, 3:52 p.m.

    गज्जब । हजुरका व्यङ्ग्यतात्मक लेखको म नियमित पाठक ।

  •  0 Reply
  • श्रीप्रसाद घिमिरे

    Nov. 28, 2022, 2:52 p.m.

    परिकल्पनाकारलाइ सलाम छ! साँच्चै नै यस्तै भयो भने त सरकार गठन गर्न र काम गर्न पनि सजिलो छैन!

  •  0 Reply
  • जेपी बगाले

    Nov. 28, 2022, 12:06 a.m.

    हाहाहाहाहा

  •  1 Reply

तपाईको प्रतिक्रिया